पढे लेखेकी बुहारी

  • Get News Alerts

सत्ताइस बर्ष पुगिन् उनी। डीभी परेर पाँचवर्ष अघि अमेरिका आएकी उनी अहिले कम्प्युटर ईन्जिनियरिङ्ग गर्दैछिन्। पार्टटाइम काम र ट्युसन फीका लागी नपुग रकम सरकारी कर्जा। पढाइलाई निरन्तरता दिएकै छिन्।  

उता नेपालमा रहेका आमाबाबुलाई भने छोरीको बिहे गर्न पाए हुन्थ्यो भन्ने पिरले सताउन थालेछ। छोरीको बिहेका लागि अमेरिका मै पढेलेखेको, कामकाजी र सेटल भएको केटा खोज्ने उनीहरुको चाहना थियो। उनीहरुको रोजाईमा किन यस्तै केटा त?  अमेरिका पढेकी छोरीले नेपालमा आएर अर्काको घरमा बुहारी हुँदै कामकाज गर्दा दु:ख पाउँछे भनेर पो रहेछ।

उनको चाहना भने फरक छ। आमाबुवा कि एकमात्र सन्तान भएकोले आफ्ना अभिभावकको  हेरचाह गर्ने आफ्नो कर्तब्यबोध छ उनलाई। आफूले सिकेको शिक्षालाई आफ्नै मात्रुभूमिमा खर्चने चाहना पनि छ। त्यसैले बिहेपछि नेपालमै सेटल हुने उनको चाहना छ।  

उनका अभिभावक छोरीले सुख पाओस् भन्ने चाहन्छन् भने उनी अभिभावक र मात्रुभूमिप्रतिको कर्तव्य पुरा गर्न चाहन्छिन्।  

गत हिउँदमा आमा बिरामी हुँदा छोटो बिदामा नेपाल गएकी थिइन् । आमालाई निमोनिया भएको रहेछ।  केहि दिनमा औषधी गरेर बिसेक भयो। त्यसैबेला एक दम्पतीले आफ्नो विदेशमा पढेर आएको इन्जिनियर छोराका लागि कुरा चलाएछन्। केटा र केटी दुवैले मन पराए। 

यति सुनाएर उनले लामो सुस्केरा लिइन्। र, त्यसपछिका घटनामा उनी हराइन्।

***

भेटघाटको दिन र स्थान तोकिए अनुसार म दरबार मार्गस्थित एक रेस्टुरेन्टमा गएँ। केटाको आमा र दिदीले मलाई स्वागत गरे। यसो लुगा, गहना र बोलिचाली हेर्दा केटाकोपरिवार निक्कै ठूलो खानदानको झैं लाग्थ्यो। मैले साधारण ड्रेस लगाएकी थिएँ,गलामा आमाले दिनु भएको सानो सुनको नेक्लेस थियो।

भेटघाटमा केटा भने नदेख्दा आश्चर्य लाग्यो। आमा छोरीको करीब एक घन्टा लामो अन्तरवार्ता र मेरो जवाफ सकिँदा समेत ऊ आएन। उहाँहरुको हरेक प्रश्न गराई र सोधाई सुन्दा मैले कुनै बेला हेरेको हिन्दी सिरियल "कभी सास भी बहु थी" को झ-झल्को आइरह्यो। अन्तरवार्ता चलिरहँदा लाग्थ्यो कि म कुनै जागिरका लागि कम्पनीमा फिट हुन्छु कि हुन्नँ, कम्पनीको नियम कानून थाहा छ कि छैन, हाकिमहरु र को-वोर्करहरुसँग कस्तो व्यवहार गर्छु आदि जाँच भइरहेको छ।

दुई घन्टासम्म पनि केटा नआएपछि मैले केटाकोआमालाई सोधेँ, 'मलाई त तपाईहरुले राम्ररी नै अन्तरवार्ता लिनु भयो तर विवाह गर्न चाहने मुख्य केटा चै आउनु भएन नि?'

'हामीले मात्रै भेट्ने हो आज।  केटाको लागि पछि अर्को भेट गरम्ला,' उनले जवाफ दिइन्। मैले आफूलाई सम्हाल्न सकिनँ। तैपनि मैले उनीहरुको प्रत्येक प्रश्नको उत्तर इमान्दारीपूर्वक दिने अठोट गरेँ।

***

केहिबेरको खामोसीपछि उनले आफूले दिएको जवाफको बृतान्त सुनाइन्:

 हजुरहरुले लगाएको महँगो साडी, सुनले धपक्क ढाकिएको शरिर झैं मेरो परिवार आर्थिक रूपले सम्पन्न छैन। मेरो गलामा साधारण नेक्लेस बाहेक केहि छैन। मेरो बाबा साधारण कर्मचारी हुनुहुन्छ, जागिरबाहेक अरु आम्दानीको स्रोत छैन। तर पनि मेरो परिवारका हरेक सदस्य इमान्दार,मेहनती र खुसीका साथ आ-आफ्नो जीवन बिताइरहेका छन् जसमा म गर्व गर्छु।

 काठमाडौंमा तीनवटा घर, प्रशस्त नोकर-चाकर राख्ने हैसियत भएको हजुरको परिवारसँग मजस्तो साधारण परिवारमा हुर्केकी मान्छे कसरी एड्जस्ट हुन सकौँला? हजुरहरुके बोलीचाली नै हाम्रोभन्दा फरक छ। यस्तोमा बिहेबारी गरी नाता जोडिसकेपछि आपसी व्यवहार पनि त्यही अनुसारको गर्नुपर्ने यहाँहरुको शर्त मैले कसरी पालना गर्न सकौंला?

पढे लेखेकी, घरको मात्र काम गर्ने, पाहुना रिझाउने, घरपरीवारलाई हेरचाह गर्ने,पकाइतुल्याइ गरेर खुवाउने बुहारी चाहिएको रहेछ। तर, बाहिर अफिसमा काम भने गर्न पाइँदैन भन्ने हजुरहरुको शर्त कठोर भएन र? माइती घर जान, आफ्ना नाता-परिवार, साथीभाइसँग भेट्घाट गर्न नपाइनेजस्ता शर्त पालना गर्ने हो भने मेरा लागि आत्महत्या गरे सरह हुने छन्। हजुरलाई घरमाआत्मनिर्भर हुने बुहारीभन्दा पनि आफना इच्छा र उद्देश्य कैद गरी घरको शोभा बढाउने घरबुहारी आवश्यक परेको रहेछजस्तो लाग्यो। मेरा बाबा आमाले खाई नखाई बचत गरेको केहि दामले अमेरिकामा कम्प्युटर इन्जिनियरिङ्ग गर्दैछु, मेरो आफ्नो अभिभावकको हेरचाह गर्ने दाहित्वबाट म विचलित हुन सक्दिनँ। मेरो जीवनका कर्तव्यमध्ये मलाई जन्मदिने आफ्नो आमाबुवाको सेवा नै मेरो प्रमुख कर्तव्य हो भन्ने म ठान्दछु।

धेरै पढेर आमाबुवाको सपना पुरा गरौँला, आफ्नो परिवारको नाम राखौंला र आफ्नै देश नेपाल फर्केर केही गरौंला भन्ने मेरो सोच र उदेश्य छ। हजुरहरुको खानदानमा पिजडामा चिटिक्क परेर थुनिएको सुँगा झैं बनेर मेरा आमा बाबुको सपना साकार हुँदैन। गरगहनाले पुरिएर, महङ्गा लुगा लगाएर, महलको सान बढाउने सोकेशको सामान झैं भएर मात्र के गर्नु, जब त्यो महलभित्र सुख शान्ति छिनिन्छ र आफ्नो रहर र चाहनालाई कैद गरिन्छ भने? म हजुरहरु जस्तै महिला हुँ। एक दिन कसैको सासु बन्ने छु।

आज हजुरहरुले मेरो आँखा खोलिदिनु भयो ताकी पछि सासुको भूमिकामा आफू पहिले बुहारी भएको यकिन गरी आफ्नो बुहारीसँग छोरी सरहको व्यवहार गर्न सकौं।

म एक आत्मनिर्भर छोरी हुँ। कसैको सम्पत्ती र रवाफमा आफू र आफ्नो परिवारलाई बिक्री गर्न कसरी सक्छु? त्यसैले यो कुरालाई यही अन्त्य गरौँ। नाता जोडिएपछि 'ज्याहै गल्ती भएछ' भन्नुभन्दा अहिले नै सोचविचार गर्नु राम्रो हुन्छ। अत: मलाई माफ गर्नुहोला हजुरका लागी म योग्य बुहारी हुन सक्दिनँ। मलाई लाग्दैन कि आजको अवस्थामा हजुरहरूको चाहना अनुरूपको पढेलेखेकी तर महलमा कुंजिएर घरबुहारी बन्न लायक केटी यहाँहरूले पाउनु हुनेछ।

***

कफीको अन्तिम चुस्कि लिएपछि उनले मेरा बाँकी जिज्ञासाका लागि आग्रह गरिन्। यी युवतीको कुराले मलाई स्तब्ध बनायो। मसँग उनलाई सोध्ने कुनै प्रश्न नै बाँकी थिएनन्।

प्रतिकृया दिनुहोस