पर्यटन बोर्डकाे 'अमेरिका सेल्स मिसन'

  • Get News Alerts

भारतीय र चिनिँया पछि धेरै संख्यामा नेपाल भ्रमणमा अमेरिकी पर्यटक आउने गर्दछन्। तथ्यांक अनुसार नेपालमा बार्षिक ५० हजारको सख्ंयामा अमेरिकी पर्यटक आउछन् भने उनीहरुले खर्च गर्ने रकम र बसाई अवधि पनि लामो हुने गर्दछ। अमेरिकी पर्यटक कम्तीमा पनि दुई हप्ता नेपाल बस्ने गर्दछन् भने उनीहरुको सरदर दैनिक ४२ देखि ५० अमेरिक डलर सम्म खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ। 

विनाशकारी भूकम्प, बन्द, हड्ताल, नाकाबन्दी र असामान्य परिस्थिति सम्बन्धमा अन्तराष्ट्रिय संचारमाध्यममा प्रवाह भएको सन्देशले पछिल्लो समय नेपाल भ्रमणमा आउने अमेरिकी पर्यटकको संख्यामा कमी आएको छ। नेपाल आएर धेरै पैसा खर्च गर्ने र लामो समय अवधि बस्ने अमेरिका, क्यानडा, अष्ट्रेलिया र बेलायका ‘क्लालिटी टुरिस्ट’ को संख्यामा कमी आइरहेको अबस्थामा नेपाल पर्यटन बोर्डले अहिले अमेरिकाबाट सेल्स मिसनको सुरुवात गरेको छ।
 
विश्वको प्रख्यात इटर्बो अनलाईनसंगको सहकार्यमा बोर्डले अमेरिकाको पाँच राज्यमा ‘नेपाल सेल्स समिट यूएस २०१६’ आयोजना गरेको हो। अमेरिकाको डेनभर, फोनिक्स, लस एन्जल्स, स्याटल र फ्लोरिडामा गरिएको कार्यक्रम नेपालको पर्यटन प्रबद्र्धनको लागि कोशेढुङ्गा साबित भएको सहभागित नेपालका पर्यटन ब्यबसायीले जनाएका छन्। जुन १९ तारिख देखि अमेरिकामा भइरहेको सेल्स समिटमा अमेरिकी ट्राभल एजेन्टको उत्साहप्रद सहभागिता रहेको प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष एवं एक्सप्लोर हिमालयका संचालक सुमन पाण्डेले बताए।
 
विनाशकारी भूकम्पछि नेपालको पर्यटन उत्थानमा गरिएको अन्तराष्ट्रियस्तरको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको जनाउदैँ पाण्डेले भने, 'यो कार्यक्रमले अमेरिकी एजेण्ट र संचारकर्मीको नेपाल प्रतिको हेराईमा पूर्ण रुपले परिवर्तन आएको छ।' सेल्स समिटले नेपाल पर्यटकको लागि सुरक्षित सस्तो गन्तब्य भएको राम्रो सन्देश अन्तराष्ट्रियस्तरमा प्रवाह भएको पनि पाण्डेले बताए। कार्यक्रमा नेपालका कहलिएका ट्राभल कम्पनीको पनि सहभागिता रहेको थियो। सेल्स समिटमा नेपालका एक्सप्लोर हिमालयन एक्सप्लोर नेपाल, थामसेर्कु टेकिङ, एती ट्राभल, हिमालयन गाईड, बाराही होटल, फिस्टेल प्याराग्लाइडिङ, एपिक हिमालयन टुर, एक्सपिडिशन हिमालयनको सहभागिता रहेको पाण्डेले जनाकारी दिए।
 
नेपाल पर्यटन बोर्डका बरिष्ट अधिकृत सुधन सुबेदीले अमेरिकी पर्यटकलाई नेपाल भित्राउन यो कार्यक्रमले ठूलो भूमिका निर्वाह गर्ने विश्वास गर्नुभयो। नेपालमा बार्षिक ५० हजारको संख्यामा अमेरिकी पर्यटक आउने गरेको जनाउदैँ सुबेदीले बिनाशकारी भूकम्प लगत्तै पनि ठूलो मात्रामा गिरावट भने नआएको जनाए। ‘भूकम्पपछिको डाटा हेर्दा ४० हजारको संख्यामा अमेरिकी पर्यटक आएको देखिन्छ, तर त्यसपछि थप संख्या नघटोस् भनेर हामीले सेल्स समिट आयोजना गरेका हौ, सुबेदीले भने।
 
पर्यटन बोर्डका अनुसार अमेरिकाका पाँच राज्यमा आयोजना गरिएको कार्यक्रममा सबैभन्दा उत्कृष्ट लस एन्जल्समा भएको छ। क्यार्लिफोर्नियाको लस एन्जल्समा गरिएको कार्यक्रममा एक सयको हाराहारमीमा अमेरिकी एजेन्टको सहभागिता रहेको बोर्डका अधिकृत सुबेदीले दिए।

प्रतिकृया दिनुहोस