अमेरिकी सरकारसँग यति च्याम्बर अफ कमर्सको रणनीतिक सम्झौता

  • Get News Alerts

अमेरिकी सरकार अन्तर्गत रहेको 'स्माल बिजनेस एड्मिनिस्ट्रेसन ( एसबिए)'  सँग हालै मात्र अमेरिकाको टेक्ससस्थित यति च्याम्बर अफ कमर्सले एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर गरेको छ।

अमेरिका भरी रहेका साना तथा मझौला ब्यबसायहरूलाई सहयोग गर्न स्थापना भएको एसबिएसँगको यो साझेदारीमा यति च्याम्बरले एसबीका सम्पूर्ण श्रोत तथा साधनको पूर्ण उपयोग गर्न पाउनुका साथै यति च्याम्बरलाई आवश्यक अन्य सहयोगहरू उपलब्ध गराईने उल्लेख गरिएको छ। 

गत १७ तारिखका दिन यति च्याम्बरले डालस सहरमा आयोजना गरेको 'दोस्रो वार्षिक डीनर समारोह' मा  एसबिए का क्षेत्रीय निर्देशक हर्बर्ट ऑस्टिन र यति च्याम्बर अफ कमर्सका सभापति बासु भण्डारीद्वारा सयुक्त रूपमा ह्स्ताक्षरित  सो साझेदारी पत्र दुई वर्षका लागि लागू हुनेछ।

रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर गर्दै क्षेत्रीय निर्देशक हर्बर्ट ऑस्टिनले यो साझेदारीले   एसबिए  र आफूलाई निकै नै उत्साही बनाएको बताए।  ऑस्टिनले अमेरिकन -नेपाली समुदाय सँगको यो सहयात्रा मार्फत  थुप्रै उद्धमीहरुलाई सहयोग पुग्ने विश्वास प्रकट गरे।

सोही समारोहमा सम्पूर्ण नेपाली व्यवसायीका  तर्फबाट  एसबिएलाई धन्यवाद ज्ञापन गर्दै यति च्याम्बरका सभापति बासु भण्डारीले यो साझेदारीले  नेपाली ब्यबसायीहरुको स्तरलाई  माथि उठाउन र क्षमता अभिबृधिमा एक थप नयाँ  उचाइ थपेको बताए।

अमेरिकामा रहेका नेपाली ब्यबसायीहरुको सङ्गठन मार्फत अमेरिकी सरकारसँगको निकायसँग औपचारिक रूपमा साझेदारी भएको यो सम्भवत पहिलो पटक हो। 

टेक्सासको डालास फोर्टवोर्थ क्षेत्रमा छरिएर रहेका नेपाली उद्धमीहरुलाई एक छाता मुनि गोलबद्द गर्दै उद्धमीहरुको एक सामूहिक आवाज बन्ने उद्देश्यले स्थापना गरिएको यति च्याम्बर अफ कमर्सले  आफ्नो स्थापनाको छोटो अवधिमा स्थानीय नेपाली ब्यापारीहरुलाई हित हुने थुप्रै गतिविधि सञ्चालन गर्दै आइरहेको छ।

अमेरिकी सरकारको एक महत्त्वपूर्ण निकायसँग भएको यति च्याम्बरको यो पछिल्लो  औपचारिक समझदारीले नेपाली उद्धमीहरुको पहुँचलाई एक कदम आगाडि बढाएको विश्वास गरिएको छ। 

प्रतिकृया दिनुहोस