‘जब आफ्नो संसार बिर्सन चाहन्थेँ, कथा-उपन्यास पढ्थेँ’

  • Get News Alerts

बाराक ओबामा अत्यन्त धेरै पुस्तक पढ्ने र लेख्ने अमेरिकी राष्ट्रपतिका रूपमा चिनिन्छन्। यही बानीका कारण न्यूयोर्क टाइम्सले उनलाई अब्राहम लिंकनपछि सबैभन्दा धेरै खारिएका राष्ट्रपति भनेको छ। आठ वर्ष लामो कार्यकालपछि उनी शुक्रबार ह्वाइट हाउसबाट विदा हुँदैछन्। न्यूयोर्क टाइम्सका प्रमुख पुस्तक समालोचक मिचिको काकुटानीले यसै साता राष्ट्रपति ओबामासँग गरेको पुस्तकसम्बन्धी कुराकानीको अंशः

तपाईंले मालियालाई कुनकुन किताब उपहार दिनुभयो

मैले छोरीलाई उपहार दिएका किताब सबैले अन्दाज गर्न सक्छन्– नोरम्यान मेलरको ‘द न्याकेड एन्ड द डेड’ र ग्यब्रियेल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’। मलाई लाग्छ, उनले ती किताब अझै पढेकी छैनन्। यसबाहेक केही किताब छन्, जसलाई हिजोआज मानिसले ‘पढनैपर्ने किताब’ को सूचीमा राख्दैनन्। जस्तो– डोरिस लेसिङको ‘द गोल्डेन नोटबुक’, होङ म्याक्सिनको ‘द वुमन वारियर’। यी किताब निकै चाखलाग्दा छन्।

यी किताबबारे तपाईंले छोरीसँग कुराकानी गर्नुभएको छ?

गरेको छु। ऊ खासमा फिल्म बनाउन चाहन्छे। त्यसैले, कथा भन्ने कला विकास गर्नु उसका लागि महत्वपूर्ण छ। उसले केही समयअघि अर्नेस्ट हेमिङ्वेले लेखेको स्मृति ‘अ मुभेवल फिस्ट’ पढेकी थिई। मैले उसलाई दिएको किताब त्यो थिएन। आफ्नो कथा लेखनशैलीलाई धारिलो बनाउन हेमिङ्वेले प्रत्येक दिन कुनै एउटा सत्य कुरा लेखेर आफूलाई लेखन अनुशासनमा बाँध्न सिकाएका छन्। हेमिङ्वेको उक्त अभ्यासबाट मालिया निकै प्रभावित छे।

तपाईंलाई लेखक बन्ने चाहना कसरी जाग्यो?

म सानैदेखि पढ्न रुचाउँथेँ। यसको एउटा कारण के होला भने, मैले सानो उमेरदेखि नै धेरै ठाउँहरूको यात्रा गर्नुपर्यो। ती ठाउँमा म प्रायः बाहिरिया हुन्थेँ। जस्तो, इन्डोनेसिया जाँदा म अरूभन्दा फरक कालो छाला भएको अग्लो बालक थिएँ। जब अमेरिकाको हवाई गएँ, मेरो आनीबानी इन्डोनेसियाको बच्चाको जस्तो भइसकेको थियो। मलाई यी यात्रामा किताबको संसार आफूसँगै लिएर हिँड्न मन लाग्थ्यो। किताबको संसारमा एउटा सजिलो के हुन्छ भने, त्यहाँ आफूलाई मन लागेको बेला छिर्न र निस्कन पाइन्छ।

किशोरावस्थामा पुगेपछि स्कुलमा तोकिएका पाठ्यपुस्तकबाहेक मैले धेरै पढिनँ। उमेरअनुसार बास्केटबल खेल्ने र केटी पछ्याउने काममै मेरो धेरै ध्यान गयो। यसका साथै केही अस्वस्थ क्रियाकलापममा पनि म संलग्न रहेँ।

न्यूयोर्कमा त तपाईंले धेरै समय पढेरै बिताउनुभयो नि, हैन?

त्यो समय मैले जोगीजस्तो एक्लो जीवन बिताएँ। मसँग एउटा थाल र एउटा गम्छा थियो। म कपडाहरू सस्ता पसलबाट किन्ने गर्थें। म जोशिलो र हाँसो बिर्सिएको मान्छेजस्तो थिएँ। त्यो समयले मलाई ‘शब्दको शक्ति’ सँग पुनः परिचित गरायो। तपाईं को हो? के सोच्नुहुन्छ? के विश्वास गर्नुहुन्छ? के महत्वपूर्ण छ? यस्ता प्रश्नमा घोत्लिने र आफू वरिपरि प्रत्येक क्षण भइरहेका घटनालाई बुझ्ने र व्याख्या गर्ने खुबी तपाईंलाई किताबले नै दिन्छ। 

स्नातक पढाइ भइसकेपछि मलाई ‘सार्वजनिक नीति’ अध्ययन गर्छु भन्ने लागेको थियो। त्यो समय संगठन कसरी गर्ने भन्ने विषयमा मेरा केही आफ्नै अन्दाज थिए। तर, त्यसका लागि निरन्तर लेख्नु र आफ्ना कुरा अभिव्यक्त गर्नु महत्वपूर्ण थियो। म हरेक दिन कामबाट घर फर्किएपछि डायरी लेख्थेँ। वा, एक–दुईवटा घटनाका कथा बनाउँथेँ। यो अभ्यासले मलाई संगठन गर्न सिकायो। पछि गएर सामाजिक सेवा र राजनीतिप्रति मेरो चासो पनि कथावाचनमा गएर मिसियो।

तपाईंले लेखेका छोटा कथा कस्ता छन्?

ती कथाहरू प्रायः वृद्धि मानिसका बारेमा छन्। यसको एउटा कारण के भने, मैले काम गरेको समुदायका मानिस मभन्दा बढी उमेरका थिए। हामी चर्च जान्थ्यौं। त्यो बेला म ५५–६० वर्षका मानिसलाई देख्थेँ, जो धेरै मेहनत र दुःख गरेर जेनतेन मध्यमवर्गीय जीवन बाँचिरहेका थिए। उनीहरू आफ्नो समुदायप्रति आशावादी थिए। सपना बुनेका थिए। र, त्यही सपनामा टेकेर छोराछोरी हुर्काइरहेका थिए। आफ्नो समुदाय पतनको बाटोमा गइरहेको उनीहरूलाई थाहा थियो। त्यो समय स्टिलको कारखाना बन्द भएको थियो। समुदायको जातीय संरचनामा परिवर्तन हुँदै थियो। त्यसैले, उनीहरू निरास थिए। केही गुमाएको अनुभूति गर्दै थिए। मैले लेखेका कथा त्यही सेरोफेरोमा थियो।

अर्को कथा, एक कला जातिका पादरीका बारेमा थियो। उनी आफ्नो चर्च बन्द गर्नुपर्ने अवस्थामा थिए। उनको चर्च रहेको घर–जग्गाको म्याद सकिन लागेको थियो। उनकी एक बफादार महिला सहयोगी थिइन्। पादरीले साहस नगुमाऊन् भनेर ती सहयोगी पनि लागिपरेकी थिइन्।

एउटा कथा मैले लस एन्जल्सको एक गोरा वृद्ध जोडीका बारेमा लेखेको थिएँ। भर्खरै अवकाश पाएका वृद्ध श्रीमानले विज्ञापनमा सुनिनेजस्ता चोटिला पंक्तिहरू लेख्छन्। उनको व्यवहार विचित्रको छ। जीवन अझै नसकिएको भन्दै उनी श्रीमतीलाई सम्झाउन खोज्छन्। अहिले फर्केर हेर्दा लेखकका रूपमा मलाई ती कथामा उदासी र चिन्तन छ भन्ने लाग्छ।

तपाईंका लागि लेखन भनेको आफ्नो पहिचान खोज्ने प्रयास पनि हो

हो, मलाई त्यस्तै लाग्छ। विशेष गरेर त्यो समयमा मैले लेखनका माध्यमबाट आफ्नो जाति, वर्ग र परिवारसम्बन्धी कयौं अन्तरविरोधी प्रवाह चिर्ने र त्यसको अर्थ निकाल्ने प्रयास गरेँ। मलाई लाग्छ, त्यही लेखनले मेरो व्यक्तित्वका सबै पक्ष जोड्न र तुलनात्मक रूपले एक पूर्ण व्यक्तित्वका रूपमा बुझ्न सहयोग गर्यो।

मेरो त्यही व्यक्तित्वलाई मानिसहरू ‘शान्त’ र ‘राम्रो’ भनी टिप्पणी गर्छन्। जबकि, वास्तविकता के हो भने, मलाई आफू को हुँ र मेरा लागि के महत्वपूर्ण छ भन्ने कुराको राम्रै हेक्का हुने गर्छ। यससम्बन्धी धेरै कुरा लेखन प्रक्रियाबाटै विकास भएको हो।

त्यो लेखन प्रक्रियाले राष्ट्रपति हुँदा पनि निरन्तरता पायो?

मैले चाहे जति त पाएन। मसँग समय नै भएन।

तर, तपाईं जर्नलअझै लेख्नुहुन्छ नि हैन

हो, म लेख्छु, तर पहिलेजस्तो अनुशासित भएर वा चाहेजति होइन। राष्ट्रपतिको कार्यकालमा मैले लेखेको मुख्यतया भाषण मात्र हो, विशेष गरी त्यस्ता भाषण, जुन मेरा लागि महत्वपूर्ण थिए।

भाषण लेखन र इतिहासको केन्द्रमा रहेर संकटसँग जुध्दा एक लेखकका रूपमा तपाईंलाई कस्तो प्रभाव पर्यो?

यो कुरा मलाई अझै थाहा छैन। अर्को किताब लेख्ने क्रममा थाहा होला। राम्रो भाषण लेख्नु र अरू कुरा लेख्ने तरिका उस्तै हो। के मैले लेखेको शब्द आवश्यक छ? के त्यो सही शब्द हो? के मैले लेखेको कुरा लयबद्ध छ? त्यसलाई पढ्दा कस्तो सुनिन्छ? भाषणमा पनि याद गर्ने भनेका यस्तै कुरा हुन्।

भाषण लेखनको एउटा उपयोगी कुरा भनेको त्यहाँ लेखेका शब्दहरू बोलिन्छ भन्ने कुरा लेख्ने क्रममा आफूलाई सम्झाउनुपर्छ। भाषणमा ध्वनि हुन्छ, शब्दमा अनुभूति हुन्छ र त्यसलाई मनमनै पढ्दा पनि त्यो कुरा महशुस हुन्छ। 

यही कारणले राष्ट्रपति हुँदा पनि म बेलाबेला उपन्यास पढ्थेँ। राष्ट्रपतिका रूपमा मैले पढ्ने भनेको अफिसका ‘ब्रिफिङ’, विभिन्न प्रस्ताव र ‘मेमो’ मात्र हो। यसले दिमागको विश्लेषण गर्ने पाटो मात्र सक्रिय हुन्छ। त्यसैमा सीमित हुँदा उपन्यासमा पाइने काव्य र गहिराइ भुल्ने स्थिति हुन्छ।

हामीले प्रत्येक दिन वादविवाद र छलफल गर्ने विषयको गहिराइमा भएका सत्यलाई उपन्यासले उजागर गथ्र्यो। देशका असंख्य आवाजलाई उपन्यासमार्फत् हेर्न र सुन्न सकिन्थ्यो।

तपाईं कुनै विशेष किताब वा लेखकको उदाहरण दिन सक्नुहुन्छ?

मैले पढेको अन्तिम उपन्यास कोलसोन ह्विटहेडको ‘द अन्डरग्राउन्ड रेलरोड’ हो। त्यसले दासत्वको पीडा कसरी पुस्तौंसम्म सर्दै जान्छ भन्ने सम्झना गराउँछ। त्यो पीडा पुस्तौं–पुस्ता सर्ने मात्र होइन, त्यसले कसरी मानिसका मस्तिष्क र हृदयमा प्रभाव पार्छ भन्ने पनि महशुस गराउँछ।

तपाईंले आफ्नो बिदाइ भाषणमा आटिकस फिन्चभन्ने पात्र उद्धृत गर्दै भन्नुभएको थियोमानिसहरू आफ्नै साना कमजोर संसारमा छुट्टाछुट्टै बस्छन्।

उपन्यासले मानिसलाई जोड्छ। मैले लेखक मारिलिन रोबोन्सनसँग मित्रता सुरु गरेँ। अहिले पनि हामीबीच पत्रमित्रता छ। मैले आइओवामा हुँदा उनका कृति पढ्न सुरु गरेको थिएँ। ‘गिलिड’ र उनका अन्य राम्रा कृति आइओवाको जनजीवनमै आधारित छन्। मलाई उनका उपन्यास मन पर्यो, किनकि उनका उपन्यासका पात्रलाई म दैनिक देख्थेँ। ती पात्रसँग मैले दैनिक हात मिलाएको थिएँ, जसका माझ मैले भाषण गरेको थिएँर

उनले वर्णन गरेअनुसार मानिसको आन्तरिक जीवन जुन कुराले जोड्थ्यो, त्यसले मेरा आमातर्फका हजुरबुबा र हजुरआमालाई पनि जोड्थ्यो। उनीहरू कन्सासमा जन्मे–हुर्केका थिए, जो पछि हवाई पुगे। उनीहरूको उद्गम भनेको उपन्यासमा वर्णन भएकै वातावरणमा भएको थियो।

यस प्रकार उपन्यासले मानिसको जीवनमा के भइरहेको छ भनेर कल्पना गर्न सक्ने मेरो सामर्थ्यलाई तन्काइदियो। यो कुनै एउटा उपन्यास पढेर विकास हुने होइन, बरु निरन्तर उपन्यास पढ्ने प्रक्रियाले उत्पन्न गराउने हो। उपन्यासले कल्पना गर्न सक्ने तन्तुलाई सक्रिय गराउँछ, जुन तपाईंको जीवनमा सहयोगी हुन्छ।

यस्ता समय पनि थिए, जब म आफ्नो संसार बिर्सन चाहन्थेँ (हाँस्दै)। कुनै कुनै बेला तपाईं अर्कै संसारमा पुग्न पनि कथा–उपन्यास पढ्नुपर्छ।

कुनकुन थिए त्यस्ता किताब?

मैले संसार बिर्सन पढेका किताबमध्ये केही ‘साइन्स फिक्सन’ थिए। केही समयअघि पढेका साइन्स फिक्सनमध्ये ‘थ्री बडी प्रोब्लम’ का तीनवटा सेरिज थियो।

ती किताब त ब्रह्माण्डको भविष्यका बारेमा हुन् त?

हो, उपन्यासको क्षेत्र विशाल छ। उक्त उपन्यास पढ्न मजा आयो, किनकि म अमेरिकी कंग्रेसका झिनामसिना समस्यामा अल्झिएको थिएँ। (हाँस्दै) अन्य ग्रहका प्राणीले पृथ्वीमा आक्रमण गर्न लागेका बेला ती समस्या कुनै चिन्ताका विषय थिएनन्।

राष्ट्रपतीय कार्यकालभरि तपाईंले मानक मानेका किताबहरू केके छन्?

मेरो विचारमा सेक्सपियरका किताब सधैं मानक रहनेछन्। अधिकांश किशोरहरूलाई स्कुलमा ‘द टेम्पेस्ट’ वा ‘माई गड, द्याट इज बोरिङ’ जस्ता किताब पढ्न लगाइन्छ। मैले कलेजमा हुँदा सेक्सपियरका दुखान्त पढेँ। त्यसको गहिराइमा गएँ। ती नाटकले मलाई मानव जीवनमा हुने निश्चित अभ्यास कसरी दोहारिरहन्छन् भन्ने बुझाउन सहयोग गर्यो। उक्त कुरा बुझ्न सेक्सपियरका नाटकले आधारशिला प्रदान गर्यो।

त्यस्ता कुराले के तपाईंलाई सान्त्वना दिन्छ

त्यसले मेरो दृष्टिकोण फराकिलो बनाउन सहयोग गर्छ। जस्तो, दुःखकष्टमा परेका मानिसले कस्तो अनुभूति गर्छन् भन्ने कल्पना गर्दा म टोनी मोरिसनका किताब र विशेषगरी उनको ‘सङ अफ सोलोमन’ सम्झन्छु।

केही लेखक छन्, जसको राजनीतिसँग म सहमत छैन, तर उनीहरूको लेखनले निश्चित विषयबारे कसरी सोच्ने भनेर आधार प्रदान गर्छ। जस्तै, भीएस नइपालको लेखन। उनको ‘अ बेन्ड इन द रिभर’ भन्ने किताबको सुरुमा नै एउटा वाक्य छ– ‘संसार जे छ त्यही होस्, मानिस जो केही पनि होइनन्, जसले आफूलाई बेकामे बनाउन अरूलाई अनुमति दिन्छन्, उनीहरूको यहाँ कुनै स्थान छैन।’

कठोर संसार र विशेषतः विदेश नीतिका बारेमा सोच्दा म उनको उपन्यास सम्झन्छु। उक्त ‘यथार्थवादी’ र स्वार्थी विचारविरुद्ध म लड्ने कोशिश गर्छु। तर, कहिलेकाहीँ लाग्छ, नइपाल सही छन्।

मैले पढेको थिएँ, लिंकनलाई जीवनभर सेक्सपियर मन पर्यो। तर, गृहयुद्ध सामना गरेको समयमा उनलाई ऐतिहासिक नाटकले सान्त्वना र दृष्टिकोण दुवै प्रदान गर्यो। लिंकनका लेखनमा नै त्यो देखिन्छ। उनी अत्यन्त राम्रा लेखक थिए। उनले दोस्रोपटक राष्ट्रपति हुँदा दिएको भाषण अमेरिकामा लेखिएका कुनै पनि लेखनभन्दा कम छैन। लिंकनले हातले लेखेको ‘गेट्टीसबर्ग’को भाषण अझै लिंकनको सयन कक्षमा सुरक्षित छ। मेरो आवासीय कार्यालयनजिकै रहेको उनको सयनकक्षमा म कुनै कुनै साँझ पुग्छु र त्यसलाई पढ्छु।        

मैले चाहेको कुरा घटनालाई हेर्ने र बुझ्ने शैली हो। घटनाहरू अत्यन्त चाँडो अघि बढ्छन्। हामीसँग अत्यन्त धेरै सूचना हुन्छ। धैर्य भएर कुरा बुझ्नु र अरूको अवस्थामा आफूलाई राखेर हेर्नु महत्वपूर्ण हुन्छ। यी दुई कुरा मेरा लागि महत्वपूर्ण छन्। यसले मलाई अझ राम्रो राष्ट्रपति बनायो वा बनाएन, म अहिल्यै भन्न सक्दिनँ। तर, यसले मलाई बितेका ८ वर्षमा एक किसिमको सन्तुलन कायम राख्न सहयोग गर्यो। 

ह्वाइट हाउस यस्तो ठाउँ हो, जसले तपाईंको मनोविज्ञानमा कठोर र तीव्र ढंगले प्रहार गर्छ। त्यो प्रहार घट्दैन।

न्यूटाउन वा त्यस्तै आत्महत्या वा विश्वव्यापी आर्थिक मन्दीजस्ता घटना भएपछि तपाईंले कुनै कविता, लेख वा लेखकलाई पढ्न मन पराउनु भएको थियो?

त्यस्तो समय लिंकन, मार्टिन लुथर किंग, गान्धी, मन्डेला जस्ता व्यक्तित्वले लेखेका कुरा सहयोगी हुन्छन्। त्यस्तो कठिन समयमा तपाईंलाई ऐक्यबद्धता चाहिन्छ। कठिन समयमा राष्ट्रपतिको कामले तपाईंलाई एक्ल्याउँछ। त्यसकारण तपाईंले इतिहासका त्यस्ता व्यक्ति खोज्नुपर्छ, जसले आफ्नो जस्तै कठिन समय सामना गरेका थिए। विन्स्टन चर्चिल राम्रा लेखक थिए। टेडी रुजवेल्टका किताब पनि म पढ्न मन पराउँछु।

तपाईंले राष्ट्रपतिका जीवनीहरू पनि पढ्नुभएको छ?

उनीहरूका जीवनी मेरा लागि उपयोगी भएका छन्। अहिले जे भइरहेको छ त्यो पहिले कहिल्यै नभएको, अत्यन्तै जटिल, दुर्घटना निम्त्याउने वा अप्ठ्यारो किसिमको छ भन्ने हाम्रो सोचाइ हुने गर्छ। तर सोच्नुस्, राष्ट्रपति रुजवेल्ट कसरी दोस्रो विश्वयुद्ध छिचोल्ने कोशिस गर्दै थिए वा लिंकनले विद्रोही सेना २० हजार माइल पर रहेका बेला सेनाका जर्नेल जर्ज म्याकेलानलाई बर्खास्त गर्ने वा नगर्ने भन्नेबारे कसरी निर्णय गरे होलान्!

मैले चुनावपछि अमेरिकी नागरिक अधिकार आन्दोलनसम्बन्धी ‘आइज अन द प्राइज’ भन्ने साना वृत्तचित्र शृंखला हेरेँ, जुन मेरा लागि उपयोगी रह्यो। मेरो आफ्नै जीवनकालमा हामी यति टाढा आइपुग्यौं। त्यसैले, ३०–४० वर्षअघि पढेका किताब मेरा छोरीहरूले पढेको देख्दा आनन्द लाग्छ। उनीहरूमा निश्चित दृष्टिकोण बनोस् र उनीहरूले कुरा बुझून् भन्ने म चाहन्छु। समय परिवर्तन भएकाले उनीहरू सन्तोषजनक रहून् भनेर होइन। बरु दृढता, संकल्प र साहस भएका मानिसले सामाजमा परिवर्तन ल्याउन सक्छन् भन्ने आत्मविश्वास जागोस् भनेर हो। त्यस्ता किताबले उनीहरूलाई सशक्तीकरण गर्नेछ।

तपाईं कुन किताब पढन पाठकलाई सिफारिस गर्नुहुन्छ?

त्यसका लागि म सायद तपाईं वा निरन्तर पढिरहेका मानिसलाई सोध्न चाहन्छु। चुनाव भएदेखि म अपेक्षा गरेभन्दा बढी नै व्यस्त भएको छु। त्यसले म किताबका थाकमा आफूलाई सहयोगी हुने किताब खोज्ने सोचाइमा छु।

मलाई लाग्छ धेरै लेखकले मलाई उपयोगी हुने किताब लेखिरहेका होलान्। त्यसमध्ये धेरै युवा लेखक हुनुपर्छ। किताबका मामिलामा उनीहरू मभन्दा अघि छन्। मेरो राष्ट्रपति कार्यकाल सकिएपछि म नयाँ पुस्ताका नेतालाई जलवायु परिवर्तन, बन्दुकको हिंसा, अपराध न्यायप्रणालीसम्बन्धी नीतिमा सहयोग गर्नेछु। 

हाम्रो राजनीतिको महत्वपूर्ण समय भूमण्डलीकरण, प्रविधि र बसाइसराइँले ल्याएको साँस्कृतिक द्वन्द्व व्यस्थापनमै खर्च भइरहेको छ। यो परिस्थितिमा सबैलाई एकताको सूत्रमा बाँध्न कथाको भूमिका झनै महत्वपूर्ण भएको छ।

हामीलाई सूचनाले किचेको छ, प्रविधि अन्त्यन्तै तीव्र गतिमा अघि बढ्दैछ नि।

हेर्नुस, म उपन्यासको विधा बाँच्छ वा बाँच्दैन भनेर चिन्ता गर्दिनँ। तर, हामी कथावाचक प्राणी भने हौं।

मलाई लाग्छ अघि बढ्ने राजनीतिक नेताहरूको एउटा काम भनेको हामी अमेरिकीलाई कुन कुराले एक सूत्रमा बाँध्छ भनेर अझ राम्रो कथा बनाउनु र भन्नु हो। अमेरिका फरक फरक पहिचानका मानिसलाई एकै सूत्रमा बाँध्ने अद्वितीय देश हो। हामि एकै जाति वा जात समूहका मानिस होइनौं। मानिसहरू यहाँ एकै समयमा आएका पनि होइनन्।

हामीलाई जोड्ने भनेको एक विचारले हो। हामी को हौं र हामीलाई के महत्वपूर्ण छ भन्ने कथाले हो। म त्यस्तो कथाले निरन्तरता पाओस् भन्ने चाहन्छु।

तपाईंलाई जुनोट डियाज र झुम्पा लाहिरीका किताब मन पर्छन्, ती किताब आप्रवासी र अमेरिकी सपनाका बारेमा छन्।

मलाई लाग्छ डियाज र लाहिरीका किताब मुख्यतया समकालीन आप्रवास अनुभवका बारेमा छन्। राम्रा स्थानको खोजीमा बसाइँ सर्ने र विस्थापित भएको महशुस भएपछि आफ्नो अतीत सम्झने मानवीय स्वभाव हुन्छ। ती दुई कुराको मिश्रण उनीहरूका किताबमा पाइन्छ। यस अर्थमा उनीहरूका उपन्यास सोझै अमेरिकी साहित्यसँग जोडिन्छन्।

फिलिप रोथ वा साउल बेलोजस्ता यहुदी लेखकका किताबमा पनि यस्ता कुरा पाइन्छन्। त्यहाँ पात्रलाई ‘बाहिरिया’ भएको अनुभूति हुन्छ। उनीहरू नयाँ संसारमा छिर्न चाहन्छन्। उनीहरूलाई आफूले के गुमाउँदैछन् भन्ने थाहा छैन। तपाईं कुन कुरा गुमाउन चाहनुहुन्छ र कुन गुमाउन चाहनु हुन्न भन्ने अन्यौल हुन्छ। अमेरिकी कथा–उपन्यासको त्यो पक्ष अझै सान्दर्भिक छ।

प्रतिकृया दिनुहोस