न्युयोर्कमा ‘सेतो सूर्य’, दयाहाङ राई सहभागी हुने

  • Get News Alerts

 

न्युयोर्कवासी नेपालीहरुलाई खुसीको खबर! फिल्मका नायक दयाहाङ राईको उपस्थितिमा बिहिबार र शुक्रबार तपाईंले ‘सेतो सूर्य’ हेर्ने मौका पाउनुहुनेछ।

फिल्म न्युयोर्क सहरको पुरानो र प्रतिष्ठित ‘न्यु डाइरेक्टर्स/न्यु फिल्म महोत्सव’मा छानिएको हो। बुधबारदेखि सुरु हुने फिल्म महोत्सवको प्रिमियरका लागि अभिनेता राई त्यसतर्फ लागिसकेका छन्।

न्युयोर्क म्युजियम अफ मोर्डर्न आर्ट र लिंकन सेन्टरले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सवमा सेतो सूर्यले दुई शो पाएको छ। बिहिबार र शुक्रबार साँझ ६ बजे वाल्टर रेड थिएटरमा फिल्म प्रदर्शन हुनेछ।

हाल न्युयोर्कमै रहेका फिल्म निर्देशक दीपक रौनियारले प्रतिष्ठित फिल्म महोत्सवमा छानिएकोमा खुसी व्यक्त गर्दै प्रदर्शनपश्चात फिल्मका लागि ठूलो उपलब्धि मिल्ने आशा रहेको बताए। ‘यो महोत्सवमा छानिँदाको महत्व नै अर्कै हुँदो रहेछ,’ उनले सेतोपाटीसँग भने, ‘अमेरिकाका ठूला सन्चारमाध्यमले यो महोत्सवप्रति विशेष चासो राख्दा रहेछन्। यहाँ फिल्म प्रदर्शनपश्चात् प्रख्यात सन्चारमाध्यममा समीक्षा÷टिप्पणी आउने सम्भावना रहन्छ।’

संसारका ठूला फिल्म महोत्सवमा छानिएर राम्रो समीक्षा पाइसकेको फिल्मले हालसालै अमेरिकाकै पाम स्प्रिङ फिल्म महोत्सवमा ‘न्यु भोइसेज÷न्यु भिजन’ शीर्षकको अवार्डसहित ६० हजार अमेरिकी डलरबराबरको क्यामरा प्याकेज हात पारेको छ।

त्यसअघि संसारकै प्रतिष्ठित मानिने ‘भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा ‘इन्टरकल्चर अवार्ड’, सिंगापुरको प्रख्यात ‘सिंगापुर फिल्म महोत्सव’ मा सर्वोत्कृष्ट अवार्ड हात पार्दै १० हजार सिंगापुर डलर नगद र  ४५ हजार पाँच सय को ‘पोस्ट प्रोडक्सन सर्भिस’ गरी ५५ हजार पाँच सय सिंगापुर डलर जितेको थियो। यसलाई नेपाली मुद्रामा रुपान्तरण गर्दा करिब ४२ लाख ५४ हजार रुपैयाँ हुन आउँछ। टोरन्टो फिल्म महोत्सवमा समेत फिल्म प्रदर्शन भइसकेको छ।

नेपालमा सार्वजनिक प्रदर्शन भइसकेका फिल्मले नेपालमा राम्रो समीक्षा पाएको थियो। नेपाल प्रदर्शनपश्चात नेदरल्यान्डको ‘रोटरड्याट’ र ‘मुभी द्याट म्याटर्स’, स्विडेनको ‘गोथेबर्ग’ मा प्रदर्शन भइसकेको छ।

अप्रिल महिनामा स्विजरल्यान्ड र बेल्जियमका हलहरुमा सेतो सूर्य प्रदर्शन हुन लागेको निर्देशक रौनियारले बताए। स्विजरल्यान्डको वितरक कम्पनी ‘ट्रिगोन फिल्मस’ ले सात सहरका हलमा लाग्ने घोषणा गरिसकेको छ।

फिल्ममा दयाहाङका अलावा रवीन्द्रसिंह बानियाँ, आशा मगराती, दीपक क्षेत्री, देशभक्त खनाल, सुमी मल्ल, अमृत परियारलगायतले अभिनय गरेका छन्।

प्रतिकृया दिनुहोस