ओवामामाथि लगाइएको ‘वायर-टेपिङ’को आरोप प्रमाणित भएन

  • Get News Alerts

राष्ट्रपति ट्रम्पको विश्वसनियतामाथि प्रश्नचिन्ह!

अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपति बाराक ओवामामाथि लगाएको वायरटेपिङको आरोपमा कुनै सत्यता नरहेको सार्वजनिक बयान आउन थालेको छ।

अमेरिकी तल्लो सदन हाउस अफ कंग्रेसका सभामुख पल रायन, सिनेटका इन्टेलिजेन्स कमिटी अध्यक्ष रिचार्ड बर्र र कमिटीमा रहेका र्‍याकिङ डेमोक्रेट सदस्य मार्क वार्नरले एक पछि अर्को गरेर छुट्टाछुट्टै बयान दिँदै राष्ट्रपति ट्रम्पको आरोपमा कुनै सत्यता नरहेको बताएका छन्।

सभामुख रायनले वायरटेपिङ गरेको कुनै भरपर्दो प्रमाण पाउन नसकेको बताए। उनले अगाडि थपे,‘ट्रम्प टावरमा राष्ट्रपति ट्रम्पको वा अन्य कुनै व्यक्तिको फोन टेप गरेको भेटिएन,’ सीएनएनको एक कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताए ।

तर, उनले राष्ट्रपतिले झुटो ट्विट गरे पनि अमेरिकी राष्ट्रपतिको विश्वसनियतामा कुनै कमी नआउने बताउँदै आफू अमेरिकी राष्ट्रपतिको साथमै रहेको प्रतिक्रिया दिए।

यसअघि सिनेटको इन्टेलिजेन्स कमिटीका अध्यक्ष रिचार्ड बर्र र कमिटीका र्‍याकिङ डेमोक्रेट सदस्य मार्क वार्नरले पनि एक वक्तव्य जारी गर्दै राष्ट्रपति ड्रोनाल्ड ट्रम्पको आरोपमा कुनै सत्यता नभेटिएको बताएका थिए। उनीहरूले इन्टेलिजेन्स कमिटीले त्यस बारेमा जाँच पड्ताल गरेको बताउँदै त्यसको प्रमाण जुटाउन कानून विभागमार्फत ह्वाइट हाउसलार्इ पत्राचार गरे पनि त्यसको जवाफ नआएको बताए।

सभामुख रायन र सिनेटको इन्टेलिजेन्स कमिटीका अध्यक्ष बर्र दुबै रिपब्लिकन हुन् र उनीहरू निवर्तमान राष्ट्रपति ओवामाका कट्रटर आलोचकसमेत हुन्।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले पनि घुमाउरो किसिमले आफ्नो आरोप फिर्ता लिएका छन्। उनले ट्विटमा वायरटेपिङ व्यापक अर्थमा प्रयोग गरेको बताएर आफूलार्इ रक्षात्मक स्थितिमा पुर्‍याएका छन्। उनका प्रवक्ता सिन स्पाइसरले पनि राष्ट्रपति ट्रम्पको आशय त्यस्तो नभएको बताएका छन्।

इन्टेलिजेन्स कमिटीलार्इ तथ्य बुझाउन नसकेर वायरटेपिङ प्रकरणमा रक्षात्मक स्थितिमा पुगेका राष्ट्रपतिको विश्वसनियतामाथि गम्भिर प्रश्नचिन्ह लागेको जस्तो देखिएको छ। यसले उनको लोकप्रियतामा मात्र ह्रास आएको छैन, उनले ल्याउन लागेको बजेट, जीओपीकेयर र अन्य मुद्दाहरू पनि छायाँमा परेका छन्।

प्रतिकृया दिनुहोस