नयाँ वर्षको स्वागतमा बिदेशीले गाए नेपाली राष्ट्रिय गान

  • Get News Alerts

‘सयौँ थुंगा फूलका हामी...’ जब थिएटरमा गुन्जिन थाल्यो, तब उपस्थित नेपालीहरु जुरुक्क उठेर छातीमा हात राखे अनि ओठले पछ्याए नेपाली राष्ट्रिय गान। त्यसपछि नेपालीहरुलाई पछ्याउँदै उठे केहि चिनिया केहि भारतीय र केहि अमेरिकी सहभागीहरु पनि थिए। नयाँ वर्ष आउन अझै एक महिना वाँकि रहे पनि लुजियानका नेपालीले बिदेशीहरुलाइ समेत सम्मीलिन गराएर नपालीको नयाँ वर्ष मनाएका छन।

नेपालीहरुकै जस्तो स्वरमा स्वर मिलाउन नसकेपनि उनीहरु उत्सुकताका साथ कार्यक्रम हेरिरहेका थिए। कार्यक्रम थियो अमेरिकाको लुजियाना स्टेट यूनिभर्सिटीका नेपाली विद्यार्थीहरुद्धारा आयोजित ‘नेपाली न्यू इएर नाइट’।

राष्ट्रिय गानपछि औपचारिक आरम्भ भएको कार्यक्रममा त्यसपछि भने नेपालको पहिचान र सौन्दर्य झल्किने गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए। केहि पुराना केहि नयाँ, केहि हर्षका त केहि दुखका गीत र नृत्यहरु प्रस्तुत भएको उक्त कार्यक्रमको ‘सिग्नेचर पर्फमेन्स’ बन्यो, सुन साइँली बोलको गीत। हेमन्त रानाको गीतलाई विश्वविद्यालयकै विद्यार्थी प्रदीपराज पन्तले जब दुरुस्त झैँ लाग्ने गरि गाए, कार्यक्रम हेर्न आएका झण्डै ४ सय दर्शकको बिचमा सन्नाटा छायो। गीत गाइरहँदा यस्तो लाग्थ्यो, उनले आफू र उपस्थित सबै प्रवासी नेपालीको साझा गीत गाइरहेका छन्।

विश्वविद्यालयका विद्यार्थी कलाकारहरुले ‘सुर्के थैली’ ‘गैरी खेतको’, ‘माइतीघर’, ‘माकुरी जालैमा’, ‘ठमेल बजार’, ‘सुरमा सुर’, ‘यी आँखामा’ लगायतका गीतमा नृत्य प्रस्तुत गरेका थिए। ‘लभ मास्टर’ गीति एल्बम निकालिसकेका अजित घिमिरेले ‘घिन्ताङताङ’ बोलको गीत गाउँदा दर्शकहरु उनीसँगै झुमेका देखिन्थे । कार्यक्रममा नेपालको सांस्कृतिक विविधता झल्किने भेषभुषासहितको ‘फेसन वक’ र ‘महजोडी’को ‘माकुरी जालैमा’ बोलको गीतमाथिको कमेडी नृत्यले झन् आर्कषण थपेको थियो।

विश्वविद्यालयको कृषि–अर्थशास्त्र विभागका प्राध्यापक डा. कृष्ण पौडेलले अमेरिकामा भएर पनि नेपाली संस्कृतिलाई संसारभर चिनाउन सहयोग हुने कार्यक्रम गरेकोमा विद्यार्थीहरुलाई धन्यवाद दिए। नेपाली विद्यार्थी एसोसियसनका अध्यक्ष दिपेन्द्र भट्टले नजिकिँदै गरेको नेपाली नयाँ वर्ष २०७४ को अवसरमा आयोजित कार्यक्रम सफल बनाउन लुजियानास्थित नेपाली समुदाय र विश्वविद्यालय प्रशासनले सहयोग गरेको भन्दै प्रशंशा गरे। 

नेपाली विद्याथी एसोसियसनले स्थापनाकाल देखिनै सांस्कृतिक, खेलकुद लगायतका कार्यक्रम गर्दै आएको छ। यसबाहेक एसोसियसनले नेपालमा भूकम्प गएको बेला रकम संकलन गरेर भूकम्पबाट प्रभावितहरुलाई सहयोग गरेको थियो।

लुजियाना विश्वविद्यालयमा हाल करिब ६० जना नेपाली विद्यार्थी अध्ययनरत छन्।

प्रतिकृया दिनुहोस