एनआरएन अमेरिकाको सदस्यताका लागि १६,८८१ को आवेदन

  • Get News Alerts

गैरआवासीय नेपाली संघ अमेरिकाको सदस्यताका लागि १६ हजार आठ सय ८१ जनाले आवेदन दिएका छन्। एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले एक प्रेस वक्तव्य जारी गर्दै सदस्यताका लागि उक्त संख्यामा आवेदन परेको पुष्टी गरेका छन्।

उनले ४८४ जनाले आजीवन सदस्यताका लागि र बाँकीले साधारण सदस्यताका लागि आवेदन गरेको जनाएका छन्। उनका अनुसार यो सदस्य संख्याका साथ एनआरएन अमेरिका संसारकै सबैभन्दा ठूला एनआरएन च्याप्टर भएको छ। यसअघि १० हजार ६ सय सदस्यका साथ एनआरएनकै सबैभन्दा ठूलो च्याप्टर बनेको अमेरिकामा यसपटक सदस्यता आकांक्षीको संख्या ६ हजार दुर्इ सय ८१ ले बढेको छ। आगामी मे २० र २२ मा गरी दुर्इ चरणमा हुने निर्वाचनमा सहभागी हुन यो आवेदन परेको हो।

सदस्यताका आवेदन तथा नविकरणका लागि आवेदन गर्ने अन्तिम मिति गत मार्च १५ तारिक तोकिए पनि सफ्टवेयर नै जाम भएको प्राविधिक कारण देखाउँदै चार दिन म्याद बढाइएका थियो। थपिएका यी चार दिनमा पाँच हजारको हाराहारीमा सदस्यता थपिएपछि सदस्यताको यो नयाँ कीर्तिमान कायम भएको हो।

चुनावमा नेतृत्व आकांक्षीहरूको संख्या ठूलो भएपछि सदस्यता बढाउ अभियान नै सञ्चालन गरेर आकांक्षीहरू देश दौडाहामा लागेका थिए। यस क्रममा सदस्यताका लागि विभिन्न किसिमका तिकडमहरू रचिएको खबर सार्वजनिक भएको थियो। एकैजनाको नाममा पाँचपटकसम्म पनि सदस्यता लिइएका अभिलेखहरू पनि भाइरल भएका थिए। तर, ती सबैको छानबिनका लागि एनआरएन अमेरिकाका निवर्तमान उपाध्यक्ष श्री पराजुलीको संयोजकत्वमा सदस्यता छानबिन समिति थियो र त्यसले निस्पक्ष रूपमा छानबिन गर्ला भन्ने सबैको आशा एवम् विश्वास थियो। तर, आइतबार बसेको एनआरएन अमेरिकाको बैठकले बहुमतद्वारा त्यो समिति नै खारेज गरी महासचिव तिलक श्रेष्ठको अध्यक्षतामा अर्को छानबिन समिति गठन गरेर निस्पक्ष छानबिन होला भन्ने कुरामै शंका उब्जाइ दिएको छ।

दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेद्वारी घोषणा गरिसकेका वर्तमान अध्यक्ष डा. पौडेललार्इ सजिलो हुने गरी बनाइएको सदस्यता छानबिन समितिमा नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष सी पी पौडेल र केन्द्रीय सदस्य तथा कांग्रेस महासमिति सदस्य प्रमोद सिटौला सदस्य छन्। उनीहरू दुबै जना डा. पौडेललार्इ अघिल्लोपटक पनि चुनाव जिताउन साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्ने सारथीका रूपमा राम्रैसँग कहलिएका व्यक्तिमा पर्छन्। समितिका अन्य सदस्यहरूमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय प्रतिनिधि हरिहर दाहाल, टेक्सासका ब्यवसायी पासाङ लामा र राप्रपाको भातृ संगठनमा आवद्ध बिनोद तिवारी र नवराज खड्का रहेका छन्। समितिमा एमाले समर्थित प्रवासी नेपाली मञ्चका कोही पनि प्रतिनिधि नपरेको बताइएको छ।

बैठकमा राज्यस्तरीय सदस्यता छानबीन समिति पनि बनाइएको छ । त्यो समितिले प्रारम्भिक छानबीन गरी केन्द्रमा सिफारिस गरेपछि महासचिव श्रेष्ठको संयोजकत्वमा रहेको छानबीन समितिले अन्तिम छानबिन गरी सदस्यता नामावली प्रकाशन गर्ने बताइएको छ।

यसैबीच,  सर्बपक्षीय छानबिन समिति गठन गर्ने पक्षमा रहेका एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल बैठकमा अल्पमतमा परेको बताइएको छ। उनले त्यसलार्इ स्वीकार्दै भने, ‘म लगायत केही साथीहरू सर्वसम्मत सदस्यता छानबिन समितिको पक्षमा थियौं तर हामी अल्पमतमा पर्यौ। बहुमतको निर्णय त मान्ने पर्यो तै पनि यसले एनआरएन अमेरिकाका लागि राम्रो सन्देश गएन भन्ने कुरामा म दृढ छु।’

सदस्यता छानबिन समितका प्रमुख रहेका गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान उपाध्यक्ष श्री पराजुलीले पनि आफ्नो समिति भंग गरेर नयाँ समिति बनाएकोमा आपत्ति प्रकट गरेका छन्। उनले भने, ‘चुनावको मुखमा आएर एक शव्द पनि नसोधी समिति भंग गर्नुको पछाडि कुनै नियोजित कारण हुन सक्छ।’ उनले आफूलार्इ एक शव्द पनि नसोधी अपदस्थ गरिएको आरोप लगाउँदै अगाडि भने, ‘यो किन गरियो, समयक्रममा पर्दा खुल्दै जानेछ। जे होस् यसले राम्रो संकेत गर्दैन।’

हुन त एनआरएन अमेरिकामा यो नयाँ विवाद हैन सुरूदेखि नै विवादै विवादको भूमरीमा परेको एनआएनको वर्तमान कार्यसमितिविरूद्ध टेनेसी अदालतमा मुद्दा नै चलिरहेको छ। त्यही विवादको श्रृंखलामा यो थप विवाद हो। यसले नयाँ चुनाव र त्यसले चुन्ने नेतृत्व पनि विवादमुक्त हुने संकेत गर्दैन।

प्रतिकृया दिनुहोस