नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको प्रोमो र तालिका सार्वजनिक (भिडियो सहित)

  • Get News Alerts

नेपाल अमेरिका फिल्म सोसाइटीको अगुवाइमा यही मे महिनाको ५ तारिख देखि सुरु हुने ’नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव’को प्रोमो सार्वजनिक भएको छ।  निर्धारित कार्यक्रम अनुसार मे ५ तारिख शुक्रबार साँझ ६ बजे युनिभर्सिटी अफ मेरिल्याण्डको होफ थियटर, कलेज पार्क, मेरिल्याण्डमा दीपक रौनियारको चलचित्र ’सेतो सुर्य’ बाट सुरु हुने छ। महोत्सव मे ५ देखि ७ तारिख सम्म चल्ने छ। महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन्।

अमेरिकाको नेपाली डायस्पोरा बिच पहिलो पटक आयोजना हुने यो चलचित्र महोत्सवमा पहिलो दिन रेड्कार्पेट सहित भीआइपी फोटो ’शूट’ हुनेछ। नेपाली दुताबास लगायत विभिन्न कुटनीतिक नियोगका बिशिष्ट अतिथिहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु सहितको उपस्थितिमा औपचारिक कार्यक्रम हुने छ। ’सेतो सुर्य’को  प्रदर्शनीका साथै निर्देशक दीपक रौनियार र कलाकार आशा मगरातीसंग अन्तरक्रिया पनि हुने आयोजकले बताएका छन्।

दोस्रो दिन मे ६ शनिबारका दिन होफ थियटर, कलेज पार्क र होराइजन सिनेमा बेल्टवे प्लाजा, बाल्टिमोरमा एकसाथ  दिउँसो १२ बजे देखि राति १० बजे सम्म विभिन्न फिचर फिल्म, डकुमेन्ट्री र छोटा चलचित्रहरु प्रदर्शन हुनेछन्। चलचित्र प्रदर्शन पछि उपस्थित चलचित्रकर्मीहरु संग छलफल हुने छ भने अमेरिकन र नेपाली डायस्पोराबाट चलचित्रकर्मी उपस्थित हुने बताइएको छ।

आयोजकहरुका अनुसार तेश्रो दिन मे ७  आइतबार १२ बजे पछि ६ बजे सम्म चलचित्रहरु प्रदर्शन हुने छन।  र, साँझ ७ बजे पछि एएफई  सिल्भर थिएटर, सिल्भर स्प्रिङ्ग, मेरिल्याण्डमा  रेडकार्पेट सहित चलचित्र ’कालो पोथी’ को प्रदर्शनी र निर्देशक मिन बहादुर भामसंग अन्तरक्रिया हुनेछ।

जुरीको अध्यक्षता निर्देशक  नविन सुब्बाले गर्ने आयोजकहरुले बताएका  छन्। कार्यक्रमको समापन जुरीले  छनोट गरेका चलचित्रहरुलाई पुरस्कृत गर्नुका साथै महोत्सवलाई सहयोग पुर्याउनेहरुलाई सम्मान गरेर हुने महोत्सवका संयोजक पूर्णसिंह बरायलीले बताएका छन्।

https://www.youtube.com/watch?v=wWOSAR9F4ew

प्रतिकृया दिनुहोस