पण्डित् दिनबन्धुद्धारा अमेरिकी विश्वविद्यालयमा धार्मिक प्रस्तुती

  • Get News Alerts

तस्विर:पण्डित् पोखरेल अमेरिकाको बोस्टनस्थित ब्रान्डेइस विश्वविद्यालयमा आईतबार हिन्दु धर्मबारे आफ्नो प्रस्तुति दिंदै ।


पण्डित् दीनबन्धु पोखरेलले अमेरिकाको बोष्टनस्थित ब्रान्डेइस युनिभर्सिटीमा हिन्दुधर्म र जातिय छुवाछुतको बारेमा आईतबार प्रस्तुति दिएका छन् । नेपालमा श्रीमदभागवत् वाचन गरी ख्याती कमाएका पोखरेलले हिन्दुधर्मले जात–जातको विभाजन जन्मका आधारमा गरेको नभई कर्मको आधारमा गरेको र छुवाछुत पनि धर्मग्रन्थमा बर्जित रहेको प्रस्तुतीका क्रममा बताएका छन् ।

छुवाछुत सामाजिक विकृति भएकाले यसलाई हटाउन आफूहरुले नेपालमा विभिन्न अभियान थालेको उनले प्रस्तुतिका क्रममा विभिन्न मुलुकका सहभागीमाझ जानकारी दिए । दलितलाई जनै वितरण, सह–भोज र सह–मन्दिर प्रवेश जस्ता गतिविधि आफ्नो अगुवाईमा भइरहेको पण्डितले उल्लेख गरेका छन् । प्रस्तुतीमा हार्वड विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा अध्येताहरु, दक्षिण एसियाका विभिन्न सात राष्ट्रका हिन्दुधर्म एवं बौद्ध धर्ममा जानकारी राख्नेहरु सहभागी थिए ।

नेपाली धर्म गुरुले अन्तराष्ट्रियस्तरमा यसरी आध्यात्मिक विचार व्यक्त गरेको सम्भवतः पहिलो भएको उनको दावी छ । 

ग्रन्थहरुमा नभएको जातिय छुवाछुत शास्त्रलाई अपव्याख्या गर्ने र आफ्नो राजनीतिक भविष्य टिकाउन खोज्ने इतिहासका शासक वर्ग र सामन्तका कारण विकृतिको रुपमा हुर्केको पण्डितको भनाइ थियो । त्यही विकृति पछि गएर संस्कृतिको रुपमा विकास भएको र यसैका आधारमा विश्व जगतले नेपालमाथि प्रहार गर्ने गरेको उनले औंल्याए ।

‘शैक्षिक चेतनाले छुवाछुतलाई विस्तारै न्यूनिकरण गर्दै गएको नेपाली समाजमा देखिएको छ,’ पण्डित पोखरेल भन्छन्, ‘छुवाछुतलाई कम गर्ने भरपर्दो अस्त्र शैक्षिक जागरण हो ।’

यसअघि पण्डित पोख्रेलले भर्जिनियाँ, क्यालिफोर्निया, न्यूयोर्क, टेक्सास लगायतका अमेरिकी शहरमा नेपाली मन्दिर बनाउने अभियानमा भागवत् महापूराण वाचन गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस