बोस्टनमा पशुपति र बुद्ध मन्दिर बनाउने महत्वकाँक्षी योजना

  • Get News Alerts

संस्थामा नाम धेरै, काम थोरै ठगीका आरोपी कार्यसमितिमा

बोस्टनमा पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपासहित नेपालीको सामुदायिक भवन बनाउने महत्वकांक्षी योजना अघि सारिएको छ। अहिलेसम्मको तयारी, बजेट संकलनको अवस्था र यहाँको कानूनी जटिलताका कारण यो योजना सजिलै पुरा हुनेमा भने धेरैको शंका छ।

पशुपतिनाथ बुद्ध फाउण्डेशनले ठूलो बजेट लाग्ने गरि मन्दिरसहितको सामुदायिक भवन सञ्चालनमा ल्याउने महत्वकांँक्षी योजना अघि सारेको हो।

संस्थाकै केही पदाधिकारी भने वर्षौंदेखि सुन्दै आएको यो योजना पुरा होला भन्नेमा अझै विश्वस्त हुन नसकेको बताउँछन्। पाँच वर्षअघि स्थापित यो संस्थाले अहिलेसम्म यस योजनाका लागि करिब २० प्रतिशत मात्र रकम संकलन गर्न सकेको छ। बोस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि लक्षित यस योजनाका लागि कम्तिमा ८ देखि १० लाख डलर आवश्यक पर्ने फाउण्डेशनको भनाई छ। फाउण्डेशनमा हालसम्म १ लाख ८४ हजार डलर मात्र संकलन भएको संस्थाको आधिकारीक वेब साइटमा उल्लेख छ।

यो योजना निकै महत्वकाँक्षी भएको र यसको सञ्चालनमा धेरै चुनौती रहेको फाउण्डेशनका पदाधिकारी नै स्वीकार गर्छन्। फाउण्डेशनका अध्यक्ष विष्णुमणि आचार्य बोस्टनमा आफ्नो भाषा, धर्म र संस्कृतिका लागि नेपालीहरुको आफ्नै मन्दिर र भवन आवश्यक देखेर अघि बढेको बताउँछन्। यहाँका नेपालीले आफ्नै मन्दिर नहुँदा  अहिलेसम्म इण्डियनको मन्दिरमा जानु परेको उनको तर्क छ।

‘नेपाली समुदायका लागि यो योजना निकै महत्वकांक्षी हो’ उनी भन्छन्, ‘सधैं योजना राखेर मात्रै भएन। सुरु पनि गर्नै पर्याे तर यसको सञ्चालनमा ठूला चुनौतीहरु देखेको छु।’

फाउण्डेशनका तीनमध्ये एकजना कोषाध्यक्ष सुशील पौडेल अमेरिकाको व्यस्त जीवनशैली र महंगो ठाउँमा भवन किनेर सञ्चालनमा ल्याउनु आफैंमा सजिलो काम नभएको स्वीकार गर्छन्। वर्षौंअघिको योजना भए पनि पर्याप्त रकम जुटाउन नसक्दा मन्दिर र सामुदायिक भवन बनाउन नसकिएको उनी बताउँछन्।

‘पाँच वर्षअघि यो योजना बनाउँदा सस्तो पर्ने सोचेका थियौं तर अहिले मुल्य धेरै माथि पुगेकाले सानो–तिनो बजेटले नभ्याउने भयो‘ पौडेल भन्छन्।

संस्थाको कोषमा हालसम्म संकलित रकम वर्षेनी आयोजना हुने देउसी–भैलोबाट उठेको हो। केही रकम विभिन्न व्यक्तिबाट सहयोगका रुपमा पनि आएको छ। योजनाअनुसार काम गर्न ८० प्रतिशतभन्दा बढी रकम अझै अभाव छ। यो अभाव तत्कालै पुरा गर्ने भरपर्दाे स्रोत फाउण्डेशनसंग नभएको पौडेल बताउँछन्।

संस्थाले सकेसम्म यसै वर्षभित्र सामूदायिक भवन सञ्चालनमा ल्याउने अध्यक्ष आचार्य बताउँछन्। उनकाअनुसार संस्थामा पर्याप्त रकम नभएकाले भवन किन्न ठूलै ऋण खोज्नुपर्ने अवस्था छ। भरपर्दाे आम्दानीको स्रोत नभएकाले कुनै बैंकबाट यसमा लगानी हुन सक्दैन। संस्थाका लागि लगानी गर्ने सम्बन्धमा यहाँ फरकखालका कानूनी जटिलता छन्।

अध्यक्ष आचार्य आवश्यक रकम संस्थाकै पदाधिकारी मध्येबाट व्यक्तिगत जमानीमा ऋणका रुपमा लिइने बताउँछन्। सामुदायिक भवन सञ्चालनमा आएपछि त्यहाँ गरिने विभिन्न धार्मिक तथा सांस्कृति कार्यबाट आम्दानी हुने उनको विश्वास छ। सोही आम्दानीबाट ६/७ वर्ष भित्रमा उक्त ऋण चुक्ता गर्ने आचार्यको भनाई छ। प्रवासको व्यस्त जीवनशैली र खर्चिलो बसाईका बिच पूजाआजा र केही धार्मिक गतिविधिकै आधारमा लाखौं डलरको ऋण सजिलै चुक्ता गर्ने उनको दावीलाई कतिपय पदाधिकारीले भने सजिलै पत्याउन नसकिने ठान्छन्। अमेरिकामा आफ्नो क्रेडिट जोखिममा पारेर कसैले त्यत्रो ऋण हाल्ने कुरामा  विश्वास गर्न कठिन हुने उनीहरुको तर्क छ।

संस्थाले भवन किनेपछि पनि यसको सञ्चालन पूर्व गर्नुपर्ने मापदण्डका तयारी र त्यसपछि रेखदेखमा पर्याप्त ध्यान दिनुपर्ने नियमका कारण पनि यो सोचेजस्तो सजिलो भने छैन। समुदायका लागि प्रयोग हुने भवनसंगै त्यसको क्षमताका आधारमा पर्याप्त पार्किङस्थल अनिवार्य पर्छ।

पार्किङको सफाई र व्यवस्थापन, भवनको हेरचाह, बिजुली, पानी र ग्याँसको नियमित खर्च सानो–तिनो आम्दानीले पुर्याउन सकिने देखिंदैन। यस्तै मन्दिरमा नियमित पूजारी र केही सहयोगीका लागि चाहिने खर्चको भरपर्दाे स्रोत संस्थासँग केही नहुँदा यो ज्यादै चुनौतीपूर्ण हुने देखिन्छ। यससँगै वर्षेनी तिर्नुपर्ने सम्पत्ति कर र नगरका अनेकन शुल्क पनि छँदैछ।

सँस्थाका अध्यक्ष आचार्य यी र यस्ता कैयन् आर्थिक तथा व्यवस्थापकीय चुनौती कसरी सामना गर्ने भन्नेमा छलफल हुन बाँकी रहेको बताउँछन्।

पशुपतिनाथ र बुद्धको मुर्तिमा चढाउने भेटी तथा त्यहाँ गरिने धार्मिक तथा सांस्कृतिक कार्यबाट संकलित रकम उक्त भवनको खर्चमा उपयोग गरिने आचार्य बताउँछन्। यसबाट मात्रै खर्च पु¥याउन भने नसकिने उनलाई थाहा छ।

अगस्टमा सप्ताह लगाउने

फाउण्डेशनले केही थप रकम संकलन गर्ने उपायस्वरुप सप्ताह लगाउने भएको छ। आगामी अगस्टमा पण्डित् दिनबन्धु पोख्रेलले वाचन गर्ने सप्ताहबाट १५ लाख डलर संकलन गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष पौडेल बताउँछन्। पण्डित् पोख्रेल गत साता बोस्टन आएको बेला उनीसंग सल्लाह गरेर सप्ताह लगाउने निर्णय गरिएको हो। बोस्टन आसपास क्षेत्रमा २५ देखि ३० हजार नेपाली रहेको अनुमान छ। तीमध्ये ५ हजार जनालाई सप्ताहमा ल्याउन सके त्यति रकम उठाउन सकिने उनी दावी गर्छन्। पौडेलकै संयोजकत्वमा एक हजार एक सदस्यीय सप्ताह मुलआयोजक समिति बनेको छ।

संस्थामा सयौंको नाम, हुंदैन कुनै काम

सन् २०१२ मा स्थापित फाउण्डेसनमा ३४ जनाको कार्यसमिति र १ सय २० जनाको सदस्य मण्डल छ। एउटै पदमा पाँच, छ जनाको नाम राखिएको छ। यस्ता पद कैयन् छन्। धेरैको नाम राखेर सँस्था ठूलो देखाउन खोजिएको छ। जब कि संस्थाको बैठकमा भने १०–१२ जना भेला हुन पनि सधैं मुस्किल पर्दै आएको छ। आफु फलानो संस्थामा छु भन्ने बाहेक धेरैले कुनै भूमिका निभाउने गरेका छैनन्।

यत्तिका धेरै सदस्य भए पनि संस्थाको बैठक भने कोरम नपुगेर कैयन् पटक स्थगित हुने गरेको कोषाध्यक्ष पौडेल स्वीकार गर्छन्। बैठकका लागि धेरैलाई खबर नगरिने एउटा समस्या छ भने खबर पाएका पनि कामका कारण उपस्थित हुन सक्दैनन्। अझ रमाइलो पक्ष त के छ भने कार्यसमिति सदस्य, संस्थाको सदस्य र सल्लाहकारमा नाम रहेकाहरु कैयौंलाई आफु यस संस्थामा संलग्न छु भन्ने समेत थाहा छैन। उनीहरुको कुनै उपस्थिति र संलग्नता बिना नै संस्थामा धेरैको नाम राखिएको समेत पाइएको छ।

यहाँ एकै व्यक्ति विभिन्न संस्थाको निर्णायक पदमा छन्। संस्थामा बसेर अनेक गतिविध गर्ने कतिपय व्यक्तिका कारण धेरैले खुलेर नेपाली संस्थामा आफु जोडिन नचाहेको सुनाउँछन्। एकवर्ष अघि जीवन बीमा ठगीको आरोप लागेर मुद्दा खेपिरहेका व्यक्ति समेत यस्तो संस्थामा सक्रिय छन्।

उदाहरणका लागि यहाँ नेपालीहरुको पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्यूनिटी (जिविएनसी) का वर्तमान अध्यक्ष विष्णुमणि आचार्य पशुपतिनाथ बुद्ध फाउण्डेशनका पनि अध्यक्ष हुन्। फाउण्डेशनका कोषाध्यक्ष पौडेल भने नेपालमा पार्टी सभापति र प्रधानमन्त्री एकै व्यक्ति भए जस्तै त हो नि भनेर यसलाई सहज रुपमा लिनुपर्ने ठान्छन्।

‘नेपालमा एकै व्यक्ति दुई ठाउँमा प्रमुख हुन्छन् भने यहाँ पनि हुन नहुने के छ र ?’ उनको प्रश्न छ।

संस्थाको वेबसाइटमा देखाउनका लागि मात्र भए पनि हचुवाको भरमा विभिन्न पदमा सम्बन्धित व्यक्तिलाई थाहै नदिई धेरैको नाम राखेको पाइएको छ। कार्यसमिति सदस्यदेखि निर्देशक पदसम्म बसेकालाई पनि उनीहरुको नाम त्यसमा छ भन्ने अत्तोपत्तो छैन। आफ्नो अनुमतिबिना नै संस्थामा नाम राखेर बदमासी गरिएको उनीहरुको गुनासो छ। फाउण्डेशनका अध्यक्ष आचार्य ती सबै नाम कसले, कसरी ल्याए आफैंलाई थाहा नभएको बताउँछन्। संस्थालाई बृहत अभियानमा लैजान धेरैलाई अपनत्व महसुस होस् भनेर धेरै जनाको नाम राखिएको उनको तर्क छ। तर ती नामहरु विभिन्न व्यक्तिका सिफारिसका आधारमा संस्थाका पदाधिकारीले नै राखेको उनले सुनाए।

नेपालीहरुमाझ परिचित साझा डटकमका सञ्चालक तथा बोस्टनका चर्चित फोटोग्राफर सान प्रधान आफ्नो नाम प्रवक्तामा देखेर आश्चर्यमा मान्छन्। ‘मलाई सोधेर मेरो नाम राखेको होइन’ उनी भन्छन्,‘मलाई यसमा कुुनै रुची पनि छैन।’

यस्तै आर्लिङ्टन निवासी गोर्खापत्रसम्वद्ध पत्रकार तथा साहित्यकार कृष्णराज खनाललाई मिडिया डाइरेक्टरमा आफ्नो नाम राखेको जानकारी थिएन। खनाल भन्छन्, ‘एकपटक पनि नसोधी उनीहरुले मेरो नाम त्यहा राखेछन्। सोध्नुको सामान्य धर्म पनि पुरा गरेनन्।’

यस्तै बोर्ड सदस्यमा नाम राखिएका उत्तम कार्की पनि आफ्नो नाम कसरी राखियो भन्नेमा अन्यौलमा देखिन्छन्। उनी भन्छन् ‘अर्को उत्तम कार्की भए थाहा छैन तर मलाई चाहिं सोधेर नाम राखेको होइन।’

यस्तै अनारसिंह बस्नेतको अनुभव पनि उस्तै छ। आफु कहिलै कुनै बैठकमा नगएको र कसले के आधारमा नाम राखेको भन्ने समेत थाहा नभएको बस्नेतले सुनाए। उनको नाम पनि बोर्ड सदस्य भनेर राखिएको छ। उनी यहाँका सामाजिक संस्थाको गतिविधिप्रति कहिल्यै सकारात्मक हुन नसकेका सुनाउँछन्।

‘हामीलाई देखाउने उनीहरुको उदेश्य एउटा हुन्छ तर भित्र अर्कै काम गर्छन्’ बस्नेत भन्छन् ‘आफूजस्तै नेपालबाट भर्खर आएका व्यक्तिलाई झुक्याएर फाउण्डेशनमा संलग्न व्यक्तिले जीवन बीमा भिडाएर ठगी समेत गर्न भ्याएका छन्।’

ठगीका आरोपी संस्थामा

गतवर्ष बोस्टन क्षेत्रमा धेरै नेपालीलाई झुठो आश्वासनको आधारमा जीवन बीमा बेचेर ठगी गरेको आरोप लागेका महेश्वर पन्त फाउण्डेशनको महासचिव पदमा छन्। उनीविरुद्ध बोस्टनको अटोर्नी जनरलको कार्यालयमा ठगीको उजुरी परेको छ। पन्तविरुद्धको उजुरी उपर अहिले अटोर्नी जनरल माउरा हिलीको प्रत्यक्ष निर्देशनमा छानबीन भइरहेको छ।

फाउण्डेशनको बैठकमा ठगीको उजुरी परेका पन्तलाई राख्न नहुने कुरा पटक–पटक उठे पनि संस्थाका केही व्यक्तिले उनको संरक्षणमा लागेका छन्। यसले संस्थाभित्रै विवादको रुप लिएको छ। मुद्धाको टुंगो नलागेसम्म पन्त आफैंले नैतिकताका आधारमा सामाजिक संस्थामा बस्न नहुने केही पदाधिकारीको तर्क छ। केहीले उनको बचाउ गर्दै आएका छन्।

संस्थाका कोषाध्यक्ष पौडेलले पन्तका विवाद र संस्थामाथिको संलग्नताका विषयमा बैठकमा पटक–पटक कुरा उठेको जानकारी दिए। उनले पन्तको व्यक्तिगत सक्रियता र पहुंचका आधारमा भए पनि उनलाई कार्यसमितिमा राख्नुपरेको सुनाए।

सबैलाई पदै चाहिने 

वर्षको एकपटक देउसी–भैलो खेल्ने बाहेक खासै कुनै गतिविधि नभएको संस्थामा सयौं पदाधिकारी र सदस्य हुनु आश्चर्यको कुरा हो। अझ यसको पदीय भागवण्डा पनि रमाइलो खालको छ।

पशुपतिनाथ बुद्ध फाउण्डेशनमा अध्यक्ष र चेयर पर्सन छुट्टाछुट्टै पद छन्। संस्थामा तीन बरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, चार सह–उपाध्यक्ष, तीन महासचिव, चार सचिव, चार कोषाध्यक्ष, तीन प्रवक्ता, छ मिडिया डाइरेक्टर, दुई मानार्थ सदस्य, ६९ बोर्ड सदस्य र १५ सल्लाहकार छन्।

प्रतिकृया दिनुहोस