जब न्युयोर्क नेपालमय भयो...

  • Get News Alerts

‘बिश्वको आर्थिक राजधानी’ को रुपमा परिचय बनाएको न्युयोर्कमा हुने हरेक गतिविधि संसार भरिका मानिसहरुकालागि चासोको विषय बन्छ । हो, यही स्थानमा आईतवार नेपाल र नेपालीको आत्मसम्मान, अस्तित्व र पहिचानलाई प्रदर्शन झल्काउने एक कार्यक्रमको  आयोजना गरिएको थियो।

बुद्ध जयन्ती र गणतन्त्र दिवसको अबसरमा न्युयोर्कमा आयोजना गरिएको नेपाल डे परेडमा हजारौंको संख्यामा नेपालीको उत्साहप्रद सहभागिताले न्युयोर्कमा ‘मिनी नेपाल’ को परिकल्पना गर्न थालएको छ। नेपाल डे परेडमा स्वस्फूर्त रुपमा उपस्थित नेपाली समुदाय, संघ संस्थाले आइतवार अमेरिकामा नेपालीको शिर सगरमाथाजस्तै उच्च बनाएका छन्। नेपाली समुदाय राष्ट्रिय झण्डासहित उपस्थित भई ‘वल्र्ड क्यापिटल’ न्युयोर्कको म्यानह्याटनलाई नेपालमय बनाइदिएका थिए। राष्ट्रिय पोशाक, झण्डा, झाँकीसहित उपस्थित भई नेपालीले नेपालको धार्मिक, सास्कृति र पर्यटकीय महत्वलाई उजागर गरिरहेका थिए ।

म्यानह्याटनको मेडिसन एभिन्यूमा हजारौं नेपाली उर्लिएको देखेर न्युयोर्क घुम्न आएका पर्यटक र म्यानह्याटवासी पनि अचम्मित भएका थिए। निकै लामो र ठूलो र्यालीको कारण न्युयोर्कमा ट्राफिक ब्यबस्थापनमा कठिनाई भइरहेको थियो। तर, पनि न्युयोर्क प्रहरीले ब्यबस्थित ढंगले ट्राफिक ब्यबस्थापन र सुरक्षा प्रदान गरेको थियो। म्यानह्याटनको म्याडिशन एभिन्यूमा सवारी साधन प्रवेशमा रोक लगाइएको थियो।

न्युयोर्क जस्तोे ब्यस्त शहरमा देश र जनताकोलागि एक दिन पुरा समय दिएर र्यालीमा सहभागिता हुनु पनि आफैमा चुनौतपूर्ण कार्य हो। परदेशमा रहेर पनि देशलाई माया गर्ने नेपाली समुदायको उपस्थितिले धेरैको मनोबल र आत्मबल समेत बढाएको छ। यो नेपाली शिर उचाली संसारमा लम्कन्छ...जस्ता गीतमा नेपालको झण्डासहित हजारौं नेपाली अमेरिकाको मुटु म्यानह्याटमा उर्लिदा जोकोही गर्वले छाती फुलाईरहेका थिए। एकछिन त म्यानह्याटन मिनी नेपाल भइसकेको थियो। परेडमा सहभागि कसैलाई पनि अमेरिकामा छु भन्ने भान भइरहेको थिएन।

कार्यक्रमले नेपालको संस्कृति, भेषभूषा र पहिचानलाई अमेरिकामा छुट्टै ढंगले स्थापित गर्न सफल भएको छ। सगरमाथा आरोही, कलाकार, पत्रकार र विभिन्न समुदाय र संस्थाका प्रतिनिधिको ठूलो सख्यामा एउटै छातामुनी उभिएर एउटा सांगठनिक एक्यबद्धता पनि प्रस्तुत गरेका छन्। संसारकै महंगो र महत्वको शहर न्युयोर्कमा हजारौंको संख्यामा नेपालीको बसोवास रहेको छ, भन्ने सन्देश पनि नेपाल डे परेडले दिन सफल भएको छ।
नेपाल डे परेड नेवार, शेर्पा, गुरुङ तामाङलगायत विभिन्न जात जाति आ आफ्नो भेषभूषामा सजिएर कला प्रस्तुत गरी नेपालको सास्कृतिक पर्यटनको प्रबद्र्धन गरेका थिए। हिमाल आरोहीको छाता संगठन यूएस नेपाल क्लाइम्बर्स एसोसियसनले सेभ द हिमालय भनेर आरोहीको भेषभूषा, क्याम्प र फोटो प्रदर्शन गरी ‘हिमाल अरोहणसंगै हिमाल बचाउ’ भन्ने एउटा राम्रो सन्देश पनि दिन सफल भएको छ।

न्युजर्सी, कनेक्टिकट, डिसीलगायत नजिक र टेक्सासजस्टो टाढा रहेको राज्यबाट समेत यो कार्यक्रममा उपस्थिति भई सामुदायिक एक्यबद्धता प्रस्तुत गरेका छन्। विदेशमा देशको माया हुदैन भन्नेहरुको लागि नेपाल डे परेड एउटा उदाहरणको रुपमा प्रस्तु भएको छ।

सन् २०१६ देखि सुरु भएको नेपाल डे परेड बार्षिक रुपले उपस्थित हुने नेपाली समुदायको संख्या बढ्दो छ। सन् २०१७ को नेपाल डे परेडमा करिब आठ देखि दश हजारको संख्यामा नेपालीको उपस्थिति रहेको अनुमान गरिएको छ। नेपाल डे परेड २०१७ का संयोजक मंगलदास श्रेष्ठले नेपाल डे परेडले न्युयोर्कमा नेपालीको सान र मान बढाएको बताउनुभयो। विश्वकै आर्थिक राजधानी न्युयोर्कमा स्वस्फूर्त रुपमा नेपालीको सहभागिताले आफूहरु थप उत्साहित भएको पनि श्रेष्ठले भन्नुभयो।

यूएस नेपाल क्लाइम्बर्स एसोसियसनका अध्यक्ष पासाङ शेर्पाले आफूहरुले सेभ द हिमालय भन्ने नारा सहित र्यालीमा सहभागिता जनाएको बताउनुभयो। विश्वका सर्वोच्च शिखर १५ पटकसम्म आरोहण गरेका र कीर्तिमान राखेका आरोहीले परेडमा सहभागिता जनाएको जानकारी दिनुभयो। परेडमार्फत जलवायू परिवर्तनलगायत कारणले हिमाली क्षेत्रमा पारेको असर सम्बन्धमा आफुहरुले सकारात्मक सन्देश प्रवाह गर्न सकेको सगरमाथा आरोही आङग्याल्जेन शेर्पाले बताउनुभयो।

करिब चार घण्टाको परेड म्याडिशन एभिन्यूबाट सुरु भई म्यानह्याटनको विभिन्न क्षेत्रको परिक्रमा गर्दै सम्पन्न भएको थियो। नेपाल डे परेड सन् २०१७ को उद्घाटन उद्योग मन्त्री नविन्द«राज जोशीले गर्नुभएको थियो। विशेष अथितको रुपमा अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुन कार्की, महामहिम दुर्गा भट्टराईलगायतको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनपछि नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टरले न्युयोर्कको ज्याक्सन हाईटस्थित सत्यनारायण मन्दिरमा चुनावी दौडमा रहेका एनआरएन एनसीसीका अध्यक्षका प्रत्यासी प्रतिनिधिलाई अमेरिकामा नेपाल र नेपालीका हितमा गर्न सकिने थुप्रै विषयमा संकल्प र सपथ गराइएको थियो।

 

प्रतिकृया दिनुहोस