बोस्टनमा श्रीमद् भागवत सप्ताहको तिब्र तयारी

  • Get News Alerts

जन्मदेखि मृत्य संस्कारसम्म गर्ने सामुदायिक भवन मुख्य उदेश्य

नेपालीहरुको जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सांस्कृति कार्यका लागि बोस्टनमा आफ्नै सामुदायिक भवन बनाउन यहाँको नेपाली समुदाय जुटेको छ। यसका लागि आवश्यक रकम जुटाउन बोस्टन क्षेत्रमा श्रीमद्भागवत् सप्ताह महापुराण लगाउने तयारी भएको छ।

सोहीअनुरुप सप्ताह महापुराण मुल–आयोजक समिति गठन भई विभिन्न उपसमितिमार्फत् काम सुरु गरिएको छ। हजारौं नेपाली बसोबास गर्ने बोस्टन क्षेत्रमा आफ्नै समुदायका लागि धार्मिक तथा सांस्कृति कार्य गर्ने र जमघट हुने उपयुक्त स्थानको अभाव रहेको छ।

प्रवासमा जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सांस्कृति कार्य गर्ने थलोका रुपमा आफ्नै सामुदायिक भवन बनाउने यसको मुख्य उदेश्य हो। जहाँ नेपाली समुदायभित्र हुने जन्मपछि गरिने न्वारनदेखि मृत्युपछिको अन्तिम संस्कारसम्मका कार्य गर्न सकिने सप्ताह मुल–आयोजक समितिका संयोजक सुशील पौडेलले जानकारी दिए।

यस्तो बहुउदेश्यीय भवन बनाउन आवश्यक रकम नपुगेपछि श्रीमद्भागवत् सप्ताह लगाएर ठूलै बजेट जुटाउने कार्यक्रम तय गरिएको हो। सप्ताह महापुराण आगामी अगस्ट ८ देखि १४ सम्म बोस्टन क्षेत्रमा हुनेछ। सप्ताहको मुल वाचक पण्डित् दिनबन्धु पोख्रेल रहने छन्।

यस्तो भवन बनाउन करिब ८ देखि १० लाख डलरसम्म रकम आवश्यक पर्ने अनुमान छ। हाल उक्त प्रयोजनका लागि १ लाख ८४ हजार डलर संकलन भएको छ।

सप्ताहबाट १५ लाख डलरसम्म संकलन गर्ने लक्ष्य लिइएको संयोजक पौडेलले जानकारी दिए। बोस्टन आसपास क्षेत्रमा २५ देखि ३० हजार नेपाली बसोबास गर्ने अनुमान छ। तीमध्ये दुई हजार नेपाली परिवारलाई सप्ताहमा आमन्त्रण गर्न सके लक्षित रकम उठाउन सकिने उनको भनाई रहेको छ।

‘हाम्रो लागि उपयुक्त भवन किनेर त्यसमा आवश्यक पूर्वाधार बनाउनु पर्ने हुन्छ’ पौडेलले भने,‘भवन किनेपछि पनि मन्दिर तथा पूजापाठ कक्ष, सभा हलसहित आन्तरिक पूर्वाधारका काम धेरै हुनाले थप बजेटको जोहो गर्नुपरेको हो।’

सप्ताहलाई भव्य र सफल बनाउन यस क्षेत्रमा रहेका नेपालीलाई आयोजक समितिले आव्हान गरेको छ। समितिले बोस्टन आसपासका सहर र छिमेकी राज्यहरुमा बसोबास गर्ने नेपालीलाई समेत सप्ताहमा समेट्ने गरि पहल थाल्ने निर्णय गरेको छ।

सप्ताहलाई आध्यामिक रुपले उत्कृष्ट र धार्मिक दृष्टिले सबैका लागि लाभपूर्ण हुने गरि सम्पन्न गर्न कोसिश भइरहेको पौडेलले बताए। समस्त ओमकारमार्गी यसबाट लाभान्वित हुने उनको भनाई छ।
‘नेपाली समुदायभित्र हुने जन्मदेखि मृत्युसम्मका स्वभाविक संस्कारका लागि आवश्यक ठाउँ नहुँदा समस्या भइरहेको छ’ पौडेलले भने,‘हाम्रा धार्मिक तथा सांस्कृतिक कार्य गर्न र विभिन्न भेला–समारोहहरुमा जमघट हुन एउटा उपयुक्त पूर्वाधार तयार गर्ने योजना छ।’

नेपालीहरुका विवाह, ब्रतबन्ध, छेवार, पूजापाठ, भोज–भतेर लगायतका कार्यक्रम गर्न आफ्नै सामुदायिक भवन नहुँदा अहिले होटल, रेष्टुरेन्ट र अन्य स्थानमा जानुपर्ने बाध्यता छ। यसले नेपालीका यस्ता कार्यक्रम खर्चिलो र झन्झटिलो हुने गरेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै आफ्नो समुदायका हरेक गतिविधिका लागि उपयुक्त भवन आवश्यक ठानिएको हो।

आफ्नो सामूदायिक भवन नभएकै कारण नेपालीहरु कार्यक्रमस्थलका लागि महँगो शुल्क तिर्न बाध्य छन्। नेपालीको आफ्नै सामूदायीक भवन भयो भने विवाह, ब्रतवन्ध, पास्नी वा जन्मदिन जस्ता कार्यक्रम गर्न सजिलो र किफायती हुन्छ।

समितिका महासचिव पुष्कर न्यौपानेकाअनुसार सप्ताह गर्ने उपयुक्त स्थानको खोजी भइरहेको छ। न्यौपानेले सप्ताहलाई धेरैभन्दा धेरै नेपालीको सहभागीतामा सम्पन्न गर्न चार मुख्य समिति र अरु थुपै उपसमिति गठन गरिएको जानकारी दिए। केही अझै विस्तार गर्ने क्रममा छन्।

बोस्टनमा सामुदायिक भवनसहितको मन्दिर स्थापना गर्ने योजना पशुपतिनाथ–बुद्ध फाउण्डेशनले पाँच वर्षअघि बनाएको हो। वर्षेनी देउसी–भैलो खेलेर ३०–४० हजार डलर संकलन गर्दै आए पनि ठूलो योजनाका लागि पर्याप्त बजेट जुटेको थिएन। त्यही योजनालाई यसपटक सफल बनाउन बोस्टनबासी नेपाली जुटेका हुन्।

उक्त भवनमा पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपा पनि राखिने आयोजकको भनाई छ। यसले नियमित पूजापाठ गर्नेदेखि र विशेष अवसरमा मन्दिर दर्शनका लागि जाने नेपालीलाई सहज बनाउने छ।
बोस्टन क्षेत्रका युवा व्यवसायी उमेश पनेरु आफ्नो भाषा, धर्म र संस्कृतिका लागि नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन अत्यावश्यक रहेको बताउँछन्। आफ्नै समुदायको भवन नहुँदा विवाह, ब्रतबन्ध, पास्नी लगायतका कार्य गर्न अप्ठेरो परेको उनको अनुभव छ।

‘आफ्नै भवन बनाउन यसपटक बोस्टनबासी सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको छ’ पनेरुले भने,‘नेपालीबाहेक अन्य धेरै समुदायका यस्ता पूर्वाधार बनिसकेका छन्। हामी ढिलो भइसक्यौं।’
यहाँ बस्ने नेपालीको यस्तो साझा र पवित्र थलो बनाउन आफुले सक्दो सहयोग गर्न कुनै कञ्जुस्याईं नगर्ने उनले बताए।

अर्का व्यवसायी एवं सञ्चारकर्मी सुरेश वाग्ले पनि मन्दिर र सामूदायिक भवन नयाँ पुस्तालाई नेपाल र नेपाली सँस्कृतिमा आबद्ध गर्ने सेतु बन्न सक्ने ठान्छन्। उनले यसको परिकल्पनाअनुसार काम गर्न यतिबेला सबैले आ–आफ्नो ठाउँबाट सक्दो पहल गर्नुपर्ने औंल्याए।

फाउण्डेसनका अध्यक्ष विष्णुमणि आचार्य भावी पुस्तासम्मलाई हुने गरि आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्न यस्तो योजनाअघि सारिएको बताउँछन्। उनले प्रवासमा जन्मे–हुर्केका दोस्रो पुस्ताका नेपालीले समेत आफ्नो संस्कृति र संस्कारमा गर्व गरि त्यसलाई निरन्तरता दिन सकुन् भन्ने उदेश्यले यसको परिकल्पना गरिएको बताए।

उनकाअनुसार सामुदायिक भवन तयार भएपछि यसको व्यवस्थापन दाताहरुमध्येको भेलाबाट चुनिएको सञ्चालक समितिले हेर्नेछ। यहाँ गरिने विभिन्न कार्य वापत निश्चित शुल्क तोकेर व्यवस्थापन खर्च जुटाउने सोच फाउण्डेसनको छ।

‘यस्ता कार्यबाट तत्काल पर्याप्त रकम जुटाउन नसकिए दाता वा सदस्यहरुमध्येबाट आवश्यकताअनुसार स–सानो रकम उठाएर भए पनि यसको सञ्चालन गर्न सकिन्छ भन्ने सोचेका छौं। एउटा सिंगो समुदायले आफ्नै समुदायका लागि गर्न लागेको यस्तो सामाजिक काम सफल हुनेमा हामी विश्वास्त छौं।’

प्रतिकृया दिनुहोस