अमेरिकाको टेक्सास राज्य संसदमा भीडन्तको अवस्था

  • Get News Alerts

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै ध्रुवीकृत भएको अमेरिकाको टेक्सास राज्यको संसद भवन सोमबार युद्वभूमिमा परिणत हुनबाट जोगिएको छ। रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका संसदबीच गालिगलौज, आक्रमणको धम्की र घचेडा-घचेडको स्थिति भए पनि पूर्ण रूपले भिडन्त भएन।

आप्रवास विरुद्ध ल्याइएको एक कानुन विरुद्ध संसद भवन बाहिर मानिसहरुले प्रदर्शन गरिरहेको समयमा उक्त घटना भएको थियो।

उक्त प्रदर्शन विरुद्ध आफूले आप्रवास प्रहरी बोलाएको भन्दै एक रिपब्लिकन संसदले डेमोक्राटिक पार्टीका संसदलाई गोली प्रहार गर्ने धम्कि दिएका थिए। उक्त धम्कीपछि संसद भवनमा ठूलो दुर्घटनाको अवस्था आएको थियो।

आप्रवास नीतिबारे डेमोक्य्राटिक र रिपब्लिकन दलबीच विवाद छ। रिपब्लिकनहरू आप्रवास विरुद्ध कडा कानुनी व्यवस्था लागू गर्न चाहन्छन् भने डेमोक्र्याटहरु आप्रवासका विषयमा नरम छन्।

टेक्सासका गर्भर्नर ग्रेग अबोटले गत महिना ‘बिल ४’ नाम गरेको आप्रवास विरोधी विवादास्पद कानुनमा हस्ताक्षर गरेका थिए।

उक्त कानुन विरुद्ध टेक्सासमा विरोध प्रदर्शन भएको छ। डेमोक्य्राटीक पार्टीले त्यसको सशक्त विरोध गरेको छ।

उक्त कानुन अनुसार आप्रवास अधिकारीहरुले मानिसहरुलाई व्यापक रुपले धरपकड गर्ने, पक्राउ गर्ने, र देश निकाला गर्न सक्नेछन्। त्यसविरुद्ध एक डेमोक्र्याटीक पार्टीका संसदले भोक हड्तालसमेत गरेका थिए।

सोमबार भएको घटनाको भिडियो पनि बाहिर आएको छ। उक्त भिडियोमा संसदहरुले एक अर्कालाई घचेड़ेको र चिच्याएको देखिन्छ।

रिपब्लिकन पार्टीका म्याट रिनाल्डीले अर्का एक संसदको टाउको गोलीले उडाइदिने धम्कि दिएका थिए।

रिनाल्डीले भने आफूलाई भौतिक आक्रमण गर्ने धम्की आएपछि आत्म सुरक्षाका लागि गोलि हान्ने धम्कि दिएको बताएका छन्।

डेमोक्र्याटीक संसद जस्टिन रोड्रीगुएजले भनेका छन् - ‘त्यस किसिमको धम्कि दिने व्यक्तिलाई उत्तरदायी बनाउनुपर्छ।’

टेक्सासको संसदमा सदस्यहरुले नदेखिने गरि हतियार बोक्न पाउँछन्। तर, त्यस समयमा रिनाल्डीले हतियार बोकेका थिए वा थिएनन् भन्ने बारे प्रष्ट छैन। रिनाल्डीको हर्कत विरुद्ध उनलाई कुनै कानुनी कारबाही हुन्छ वा हुन्न भन्ने बारे प्रष्ट छैन।

सभामुख जो स्ट्राउसले भने संसदमा असंवेदनशील कुरा गर्ने र अरूप्रति अनावश्यक आक्षेप लगाउनेला कुनै छुट नहुने बताएका छन्। स्ट्राउस रिपब्लिकन पार्टीका संसद हुन्।

प्रतिकृया दिनुहोस