बोस्टनमा नेपाली बाजा र संगीतको स्कुल

  • Get News Alerts

 हिमालयन हेरिटेज कल्चरल एकेडेमीका प्रशिक्षक बाद्यवादन प्रस्तुत गर्दै । तस्बिरः मनोज/सेतोपाटी


अमेरिकाको बोस्टनमा नेपाली कला र संगीतको प्रवद्र्धनका लागि एक सांगीतिक समुह जोशिलो ढंगले उदाएको छ । ’हिमालयन हेरिटेज कल्चरल एकेडेमी’ नामको समुहले नेपालका विभिन्न लोक बाजाका साथै मौलिक नृत्य र संगीतको औपचारिक प्रशिक्षण गरिरहेको छ ।

परदेशमा नेपाली कला, संस्कृति र मौलिकताबारे भावी पुस्तासम्मलाई संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले लोक बाजा र संगीत स्कुलका रुपमा यो एकेडेमी खुलेको हो । नेपालका स्थापित ६ जना वाद्यवादकसहितका कलाकारले गत वर्षबाट बोस्टनमा संयुक्त रुपमा यो एकेडेमी सुरु गरेका हुन् ।

एकेडेमीमा संस्थापकमध्येका सुरेश वाग्ले लगायत ख्यातीप्राप्त सारंगीवादक श्याम नेपाली, नृत्य प्रशिक्षक र बांसुरीवादक रञ्जन बुढाथोकी, तबला र मादलका प्रशिक्षक नन्दु शंकर, दिपेश श्रेष्ठ तथा रञ्जित कोइराला छन् । एकेडेमीमा हाल करिब ६० विद्यार्थीले नेपाली शास्त्रिय, लोक र आधुनिक नृत्यका साथै विभिन्न बाजाको कक्षा लिइरहेका छन् ।

सात समुद्रपारी पुगे पनि नेपालीहरुमा आफ्नो मौलिक कला, संगीत र संस्कृतिप्रति माया र आस्था देखेर आफुहरु यसतर्फ अघि बढेको एकेडेमीका सहसंस्थापक सुरेश वाग्ले बताउंछन् ।

गतवर्ष सानो ठाउंबाट नृत्य र संगीतको प्रशिक्षण थालेको यो समुहले अहिले एभरेटस्थित ठूलो भवनमा अत्याधुनिक प्रविधि भित्र्याउंदै आफ्नो योजनालाई फराकिलो बनाउंदै लगेको छ । एकेडेमीले अनलाइनमार्फत् हारमोनियम र गीतारका कक्षा पनि लिने गरेको छ ।

’अनलाइनमा अरु थप बाजाका कक्षाहरु पनि हामी थप्दैछौं,’ वाग्ले भन्छन् ।

एकेडेमीका एकजना वाद्यवादक प्रशिक्षक नन्दु शंकर अमेरिका जस्तो आधुनिक समाजमा आए पनि नेपालीका भावी सन्ततीले आफ्नो मौलिक कला र संस्कृतिबारे ज्ञान राखुन् भनेर आफुहरु यसैमा सक्रिय रहेको सुनाउंछन् । उनी नेपाली बालबालिका र युवा पुस्तालाई लक्षित गरि छिटै थप नयां कार्यक्रम सुरु गर्ने तयारी भइरहेको बताउंछन् । ऐकेडेमीमा केही हप्तामैं नेपाली लोकबाजा मादलको प्रबद्र्धन गर्न ’प्रोजेक्ट मादल’ सुरु गर्न लागिएको छ । ’प्रोजेक्ट मादल’ सबै उमेर समूहका व्यक्तिलाई लक्षित गरेर ल्याउन लागिएको हो । मादल सिक्न स्थानीय अमेरिकीहरुले समेत रुची देखिएको शंकर बताउंछन् । तीन महिनासम्म चल्ने यो प्रोजेक्ट साताको एक दिन सञ्चालन हुनेछ । यसको शुल्क १ सय ५० डलर राखिएको छ ।

एकेडेमीमा सारंगीका प्रशिक्षक श्याम नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा नयां पुस्ताको चासो सन्तोषकजन पाइएको अनुभव सुनाउंछन् । व्यस्त भए पनि अभिभावकको सक्रियता र नेपाली भाई बहिनीको उत्साहले आफुहरुलाई हौसला मिलेको उनी बताउंछन् ।

एकेडेमीमा हाल ५ देखि ३० वर्ष उमेर समुहका नेपालीहरु नृत्य र बाजा सिक्न आउने गरेका छन् । तीमध्ये धेरैको आकर्षण नृत्यमा छ । बाद्यवादनतर्फ गीतार र किबार्डमा धेरैको चासो छ । एकेडेमीमा शास्त्रिय, लोक र आधुनिक नृत्यको प्रशिक्षण चलिरहेको छ ।

सहसंस्थापक वाग्लेकाअनुसार कम्मर मर्काएर आकर्षक तरिकाले नाचिने विश्वस्तरिय ’बेली डान्स’ र शारीरिक व्यायामलाई लक्षित गरेर संगीतमा नाचिने ’जुम्बा डान्स’ पनि छिट्टै सञ्चालन गर्ने लक्ष्य छ । हाल महिलाहरुको एउटा सामूहिक नृत्य सञ्चालन भइरहेको छ । अमेरिकामा आधारित संगीतकर्मी र स्थानीय सांगीतिक समूहसंग पनि सहकार्य गरि विविधि सांगीतिक कार्यक्रम गर्ने एकेडेमीको छ ।

अहिलेसम्म शनिबार र आइतबार बिदाका दिन मात्र कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले अब साताका अन्य दिनमा पनि कक्षा लिने तयारी थालेको छ । संगीत र नृत्य सिक्ने विद्यार्थीको  संख्या एक सयको हाराहारीमा पुर्याउने लक्ष्य रहेको वाग्ले सुनाउंछन् । एकेडेमीमा करिब ६० जना अट्ने र आधूनिक साउण्ड सिस्टम सहितको सांगीतिक हल छ । भर्खरै जडान गरिएको स्टुडियोलाई विस्तारै व्यवसायीक प्रयोजनमा लैजाने वाग्ले बताउंछन् ।

बोष्टनमा नेपाली र भुटानी समूदायमा हुने विभिन्न फिल्म प्रदर्शनी, सांगीतिक प्रस्तुती र अन्य आकर्षक कार्यक्रममा हिमालयन हेरिटेज कल्चरल एकेडेमीको नाम आउने गर्छ । यो नाफामुलक संस्थाका रुपमा खुलेको हो ।

’हामी नाफामूलक संस्थाको रुपमा दर्ता भए पनि गैरनाफामूलक ढंगले समूदायमा परिचालित छौं,’ सहसंस्थापक वाग्ले भन्छन्।

 

प्रतिकृया दिनुहोस