वाङलुङ जस्तै मेरा बा!

  • Get News Alerts

मेरा बा यस धर्तीबाट बिदा हुनु भएको तिथी अनुसार आज दोश्रो वार्षिकी। यो वर्षदिनमा कुनै त्यस्तो दिन भएन जुन दिन बाको सम्झना नआएको होस्। मान्छेहरु भन्छन्, 'आफन्त गुमाउनुको पीडा समयले भुलाउँदै जान्छ।'

बाको हकमा भने फरक देख्दै छु। गाउँले र आफन्तले समेत उहाँको अभाव महसुस गर्दै मसँग कुरा गरेर उहाँको तिर्सना मेट्ने प्रयास गर्छन्। मेरा छोराहरु समेत ब्रेकफास्ट र डिनर टेबलमा बेलाबेलामा बासँगका सम्झनाहरु सुनाई रहन्छन्। विदेशमै जन्मिएका–हुर्किएका मात्र होइन, पश्चिमा शिक्षा पाएका र धेरै संगत गर्न नपाएका ती कलिला मस्तिष्कले समेत मेरो बालाई किन यति धेरै सम्झिए होलान्?

बाभित्र विशेष केहि खुबी पक्कै थिए। जसरी हरेकका बाभित्र विशेष खुबी हुन्छन् त्यस्तै मेरा बाभित्र पनि थिए। जीन्दगीले गम्भीर शिक्षा दिएको एउटा खुला पुस्तक थिए बा। जस–जसले बा भित्रका ती कुरा पढ्न पाए, उनीहरुले बालाई विर्सनै सकेनन्। चाहे ती गाउँले हुन् या आफन्त अथवा दूरदराजका अन्य मानिसहरु...।

नोबेल पुरस्कार बिजेता अमेरिकी उपन्यासकार ‘पर्ल वक’द्वारा लिखित विश्वविख्यात उपन्यास ‘द गुड अर्थ अर्थात कल्याणी धरतीको शीर्षपात्र वाङलुङ जस्तै लाग्छ, मेरा बा।

सय बर्ष अघिको चिनियाँ समाज र त्यसको एउटा किसान वाङलुङको चरित्र ‘कल्याणी धरती’ उपन्यासमा राम्ररी उतारिएको छ। मलाई यो चरित्र विश्वभरीका किसानले भोगेको यथार्थ कथा जस्तो लाग्छ। यहि कारण आज पनि किसानको कथा सम्झदा विश्वले द गुड अर्थ’को वाङलुङ्लाई सम्झन्छ।

धेरै अर्थमा मेरा बा पनि नेपाली समाजको वाङलुङ हुनुहुन्थ्यो। उहाँ कृषिकर्ममा समर्पित हुनुहन्थ्यो, वाङलुङ जस्तै। उहाँ कर्मयोगी हुनुहुन्थ्यो, वाङलुङ जस्तै। उहाँ गोठमै जन्मनु भयो। पटकपटक गरेर वर्षौ गोठमै आफ्नो किशोर र जवानी बिताउनु भयो वाङलुङले जस्तै। आफू अनपढ भएपनि घरमै शिक्षक राखेर आफ्ना सन्ततीलाई शिक्षा–दिक्षा दिलाउनु भयो, वाङलुङले जस्तै। कहिलेकाहीँ आश्चर्य लाग्छ, कुनै दूरदराज देशको एउटा व्यक्तिको चरित्र चित्रण गर्दा एउटा लेखकले कसरी सार्वजनिक दृष्य देख्छ?

भाङ्ग्राको लुगा लगाएर गोठबाटै रातारात दुलही लिन हिँडेका, घैयाबारीमा पाखुरी बजार्दै पसिना चुहाइरहेका बा जव मेरो स्मृति–विम्बमा प्रकट हुदै जान्छन्, वाङलुङको सजिव तस्विर आँखै अगाडि नाच्न थाल्छ।

मेरा बा कृषि पेशावाट कहिल्यै विमुख हुनुभएन। उहाँ जे कुरा गर्नुहुन्थ्यो, गम्भीर अनुभवपछि मात्र बोल्नुहुन्थ्यो। ‘संसारमा हजरौं पेशा होलान्, व्यवशाय होलान् तर खेतीपाती नै सबैभन्दा उन्नत पेशा हो।’ सुरु सुरुमा मलाई लाग्थ्यो, कृषिबाहेक अरु कुरा थाहा नभएका कारण बाले यसो भन्नु भएको होला। बिकल्प देखेपछि उहाँको धारणामा सायद परिवर्तन आउँछ। त्यसो भएन।

म इन्जिनियर हुँदा खुसी हुनुभयो, छोराको अध्ययन पुरा भयो भनेर। मैले ब्यापार गर्दा पनि खुसी हुनुभयो मेरा सन्तानका लागि पनि राम्रो भयो भनेर। हाम्रो संगतले संसारका धेरै कुरा सुन्नु भयो, आँखैले देख्नुभयो तर कृषिप्रतिको अघाद् प्रेम भावमा कहिल्यै परिवर्तन आएन।

जीवनभर मेहेनत गर्नुभएको थियो। त्यो दु:ख मैले देखेको थिएँ। छोरोले गर्ने कर्तब्य अनुसार मैले उहाँलाई भौतिकरुपमा सुख दिने प्रयास गरेँ। तर उहाँको विचारमा भौतिक सुख वास्तविक सुख थिएन। यही कारण रुस त के काठमाडौंको घरमा समेत उहाँ रमाउनु भएन। बरु उहाँको अनुहार त्यो बेला धपक्क बल्यो, जब मैले उहाँलाई कमाई खान पुग्ने खेत किनिदिएँ। त्यसलाई खनजोत गर्ने ट्याक्टर किनिदिएँ। उहाँ मेरो प्रगति हेर्न रुस पुग्नुभयो। मलाई अझै प्रगति गर्ने आशिर्वाद दिनुभयो। तर त्यो बैभवले उहाँलाई कति पनि छोएन।

केही दिनपछि गाउँ फर्केर उहाँ आफ्नै खेतमा हातपाउ चलाउन थाल्नुहुन्थ्यो। घरभरी सहयोगीहरु थिए तर आफ्नै हातले बोट बिरुवालाई सुम्सुम्याउनु हुन्थ्यो। खनजोत गर्नुहुन्थ्यो। आली लगाउनु हुन्थ्यो । उहाँ गाउँ छाड्न चाहनुहुन्न भन्ने थाहा पाएपछि उहाँलाई हिँडडुल गर्न सजिलो होस् भनेर मैले एउटा गाडी किनिदिएको थिएँ। उहाँ शुद्ध किसान, गाडी चलाउन सक्ने कुरा थिएन। उहाँ चालकलाई लिएर खेत जानुहुन्थ्यो। दिनभर खेतमा काम गरेर फर्कनुहुन्थ्यो। नपुग्दो केही छैन र यसरी श्रम गर्नु आवश्यक छैन भन्दै मान्छेहरुले आफ्ना पछाडि कुरा काट्छन् भन्ने उहाँलाई थाहा नभएको होइन। तै पनि उहाँले आफ्नो परम्परागत पेसा कहिल्यै छाड्नु भएन।

आफ्नै हातले बोट विरुवा हुर्काउन र त्यसबाट अन्न र फलफूल लिन कहिल्यै बिर्सनु भएन। कसैले यो दु:ख किन? भनेर प्रश्न गर्दा सहज भावमा भन्नुहुन्थ्यो, ‘कृषिभन्दा उन्नत पेसा केही छैन। यसले नै संसारलाई पालेको छ। हामीले काम नगरे संसार भोकै पर्छ।’

उहाँको पहिरन पनि अनौठो थियो। उहाँ सधैं कछाड बेर्नुहुन्थ्यो। गाउँको खेतीपातीको व्यस्त बेलामा कछाड लगाउनु स्वभाविक नै थियो तर गाउँ घर र सहर–बजारमा आफ्नो गाडीमा सयर गर्दा पनि उहाँले आफ्नो पहिरन परिवर्तन गर्नुभएन।

उहाँले विरलै सर्ट पैन्ट लगाउनु भयो। उहाँको अर्को मन्त्र थियो, ‘मान्छे श्रम गर्ने प्राणी हो। श्रम नगरी मुखमा अन्न हाल्न मिल्दैन।’ उहाँले जन्मेदेखि मृत्युपर्यन्त यो नियमको पालना गर्दै कडा परीश्रम गर्नुभयो। केही काम नहुँदा पनि जग्गाको साँध सीमाना दह्रो बनाउने, रुख जंगल रोप्ने र खेती किसानका नयाँ नयाँ कुरालाई प्रयोग गर्न व्यस्त हुनुहुन्थ्यो।

हरेक युवाले आफ्नो गाउँ छाडेर केही सिक्न र कमाउन केही समय देश– विदेश घुम्नु पर्छ र पाखुरी बजाउन कहिल्यै अल्छी गर्नु हुँदैन भन्ने उहाँको मन्त्र नै थियो। यसरी पाखुरी बजाएको पैसाले गाउँमा जग्गा जमिन जोड्ने, सन्तानलाई राम्रो पठाउने र सन्तानलाई पनि केही समय यसैगरी वाहिर पठाउने नीतिको पक्षपाती हुनुहुन्थ्यो। आफ्नो युवा अवस्थामा उहाँ नेपालका विभिन्न स्थान र भारत आसामदेखि मद्राससम्म पुग्नुभयो। जब केही पैसा भयो, गाउँमा जग्गा जमिन जोडेर त्यसको स्याहार गर्न थाल्नु भयो। ‘संसार हेर, नयाँ कुरा सिक तर आफ्नो जमिन नछोड’ भन्ने सिद्धान्तमा सधैं अडिग रहनु भयो। वुबामा न अर्थशास्त्रको ज्ञान थियो न त समाजशास्त्रीय विश्लेषण गर्ने क्षमता। अहिले सम्झदा लाग्छ, उहाँ नेपाली समाज र अर्थ चरित्रबारे राम्रै जानकार हुनुहुन्थ्यो।

भरपुर मेहेनत गरेपछि आफूले कमाएको सम्पतीको केही अंश समाजको हीतमा प्रयोग हुनुपर्छ भन्ने कुरामा पनि उहाँको स्पष्ट अडान थियो। यहि कारण उहाँ आफ्नो गाउँ वरपर हुने सामाजिक दायित्वमा सधैं अगाडि बढेर आफूले सक्ने सेवा गर्नुहुन्थ्यो। आज चितवनको टाँडी क्षेत्रमा स्थापित केही मन्दिर, पुस्तकालय, स्वस्थ चौकीहरुमा उहाँको नाम कुँदिएको छ। खासमा समाज सेवा गर्नुपर्छ भन्ने मेरो सोचमा बुवाले धेरै नै हौसला दिनु भएको हो। गाउँ–घरमा मिलेर बस्ने हो भने आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्छ भन्ने उहाँको पुरानो नियम कहिल्यै तोडिएन।

धन हुँदा धन र शरीर स्वस्थ हुँदा श्रमले सेवा गर्नु भन्ने उहाँले बनाएको नियम जीवनभर पालना भएको देखियो।

आफ्नो निजी स्वभाव, निजी नियम वा निजी सिद्धान्त बनाएर बाँच्ने मान्छे बिरलै भेटिन्छन्। आफ्नो अडानमा चट्टान झैँ अड्ने मानिस देख्दा अनौठो लाग्नु स्वभाविक नै हो। जब म मेरा बालाई पछाडि फर्केर हेर्छु, दुई छाक जाउलो खान नपाएको अवस्थामा होस् कि प्रसस्त रकम चलाउन सक्ने हैसियतमा होस्, उहाँमा कुनै परिवर्तन आएको मैले देखिन। कतिसम्म भने आफ्ना छोराहरुले समेत कुनै बात लगाइदेलान् भन्ने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो।

हामीले कमाएर दिएको पैसा समेत कहाँ कसरी व्यवस्थित भयो र त्यो सम्पतीले कति जग्गा जमिन जोडियो हिसाव दिन सक्ने हैसियत राख्नुहुन्थ्यो। उहाँले आफ्नो हातले जति समाजसेवा गर्नुभयो, जग्गा–जमिनबाट आएको आम्दानीले मात्र गर्नुभयो। कहिलेकाहीँ लाग्थ्यो, हामीले कमाएको सम्पती उहाँको हो, हकपूर्वक चलाउनुहोस्, घुर्की पनि देखाउनु होस्। तर उहाँले सधै आफ्नो परिश्रममा मात्र विश्वास गर्नुभयो। कहिलेकाहीँ सोच्छु, हाम्रो समाजमा यस्ता चट्टानी पुरुष कति होलान्?

मेरो बा रहरका सन्तान थिएनन्। उहाँको जन्मसँगै परिवारमा न उल्लासको दियो बल्यो, न हर्षको वहार चल्यो। बा त्यस बेला जन्मनु भयो, जति बेला हजुर बा र हजुर आमाको सामिप्यता टुटी सकेको थियो। बा जन्मदा ओत लाग्ने आफ्नै छानो थिएन। श्रीमानबाट छुट्टीएकि एउटी पाकी महिलाले बिरालोले बच्चा सारे जस्तै कहिले कसको गोठमा कहिले कसको गोठमा अरुको काम गर्दै मेरा बालाई हुर्काउनु भएको थियो।

सानैदेखि मेरा बाले गोठ, खेत र काम बाहेक अरु कुरा जान्नु भएन। सधैं जमिनको संगत गर्नुभयो र जमिनबाट माथि उठ्नु भयो। यहि कारण सुरुमा चर्चा गरिएको उपन्यासको पात्र वाङ्लुङ् जस्तै मेरा बाको धरतीप्रति अद्वितीय स्नेह थियो। तर उपन्यासमा सम्पती कमाएपछि वाङ्लुङ्मा पैसाको मात चढ्छ। यो मातसँगै उसको सम्पर्क गलत महिलासँग हुन्छ। गलत बाटोमा लागेपछि दु:खमा साथ दिएकी श्रीमती ‘वो लान’लाई समेत उसले उपेक्षा गर्न थाल्छ्। विस्तारै जीवनमा नपाएको दु:ख पाउँछ्। उसलाई आफ्नै काका र भाइ र छोराले समेत धोका दिन्छन्। वाङलुङका केही कमजोरीका कारण यस्तो धोका सम्भव भएको थियो। सायद यहिँ पुगेर वाङ्लुङ् र मेरा बाको कथा छुट्टिन्छ।

अरुकै गोठमै हुर्किरहेका बेला उहाँका मावली हजुरवाले मेरा बालाई भेट्नु भएको थियो। उहाँले नै मेरा बालाई खेती किसानीको ज्ञान दिनुभयो। आफूलाई हुर्काउने मावली हजुर वा र उहाँका सन्तानको गुन मेरा बाले कहिल्यै विर्सनु भएन। यहि कारण उहाँले जीवनपर्यन्त मावली भाइलाई सँगै राख्नुभयो। विहेवारी गरिदिनु भयो। दुबैले मिलेर जग्गा–जमिन जोडे र एक अर्काको साहारा बने । परिवार ठूलो भएपछि उहाँले आफ्नै भाइलाई झैँ रोजेको सम्पती दिएर छुट्याइदिनु भयो।

कतिसम्म भने उहाँहरुको घर छुट्टीयो तर मन सधैं एक अर्कामा गाँसिरह्यो । सायद, यही कारण हुनसक्छ, आज पनि बाका मावली हजुरवुवाका सन्तानसँगै हाम्रो निकट सम्बन्ध छ । हामी चौथो पुस्तामा पनि एक अर्कामा उस्तै व्यवहार गर्छौ। मान्छेले कोसँग कस्तो व्यवहार गर्छ, बदलामा उसले उस्तै प्रतिफल पाउँछ। यो कुरा हामीलाई उहाँले सिकाएर जानुभएको छ। यहीँनेर मेरा बा आम मानिसभन्दा माथि उठ्नु भएको थियो भन्ने प्रतित भैरहन्छ।

मेरा बाले कहिल्यै चुनाव लड्नुभएन। कुनै पद पाउनु भएन। यस अर्थमा कतिपयलाई उहाँका बारेमा यति लामो चर्चा अनावश्यक लाग्न सक्छ। तर आज हामीले देखिसक्यौं, मानिस पदले होइन, उसको व्यवहारबाट सम्झन योग्य बन्ने रहेछ। पहिले विद्यालय पढ्दा लाग्थ्यो, ठूला मान्छेहरु मृत्युपछि अमर हुन्छन्। आजभोलि लाग्छ, ठिक अर्थमा बाँच्ने हो भने सामान्य मानिस पनि अमर हुन्छन्। र, यो समाजमा धेरै ज्ञात–अज्ञात बाहरुले आफू ओझेलमा परेर अरुलाई माथि पुर्‍याउने काम गर्नुभएको छ। केही भाग्यवस लिपिबद्ध हुनपुग्छन्, कोही समयसँगै बिस्मृत हुँदै जान्छन्।

बा, तपाईंले धर्ती छाडेको यो पुण्य तिथिमा लेख्ने वहाना मात्र पाएको हुँ, सम्झनामा त तपाईं सधैं सधैं आई नै रहनुहुन्छ। हुर्कने क्रममा मलाई लाग्थ्यो, म ठूलो भैरहेको छु। त्यो भ्रम थियो। तपाईंको श्रमले उब्जेको अन्नबालीले मलाई हुर्काइरहेको थियो।

स्कुल पढ्दा लाग्थ्यो, म पढिरहेको छु। तर त्यसको खर्च तपाईंले धानीरहनु भएको थियो। पछि सामाजिक व्यवहार पनि गर्दै गएँ र त्यसको प्रसंसा पनि हुन्थ्यो। त्यो बेला आफैप्रति गौरब पनि लाग्थ्यो। आजभोलि पो बुझ्दैछु, तपाईंले सिकाएका नैतिक पाठहरु पनि त्यसमा घुलमिल भएका रहेछन्। गाउँमा बडो इज्जतदार भएर ठाँटिएर हिँड्थ्यौ हामी। अहिले पो थाहा हुँदैछ, इज्जत तपाईंले कमाउनु भएको थियो। त्यसको ब्याजमा हामी रमाइरहेका थियौं। जति जति सोच्दै जान्छु, तपाईं यतै कतै मसँगै टाँसिएर बस्नु भएको छ। आखिर मेरो शरीर पनि त तपाईंकै अंश त होनी। आफैंले आफैलाई कसरी विर्सन सकिन्छ र?

प्रतिकृया दिनुहोस