डेनिस सांसदले भने- नेपालीहरु कला संस्कृतिका धनी छन्

'नेपालीहरु इमान्दार र मेहेनती त छँदैछन्, कला र संस्कृतिका त्यत्तिकै धनी छन्। विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो कला र संस्कृतिको माया गरेर बस्छन। यो नेपालीहरुबाट सिक्न लायक गुण हो।' नेपाली नयाँवर्ष बि.सं.२०७४ को शुरुवातकै दिन डेनमार्कको राजधानी कोपन्हेगनमा डेनिस सांसद पिटर हुम्मेल्गार्ड थोम्सेनले नेपालीहरुको कला प्रेम प्रति प्रसंशा गरे।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास) को पाँचौं युरोपस्तरीय एकल नृत्य प्रतियोगिता तथा दोस्रो एकल गायन प्रतियोगिता उद्घाटन गर्न इनासको निमन्त्रणामा कार्यक्रमस्थल पुगेका डेनिस राजनीतिक पार्टी सोसियल डेमोक्र्यट्सका तर्फबाट संसद सदस्य तथा सो पार्टीका युरोप प्रबक्ता थोम्सेनले नेपाली कला संस्कृति संसारमै उदाहरणीय भएको बताएका हुन्।
प्रतियोगिताको उद्घाटन सत्रको अध्यक्षता इनासका युरोप संयोजक अर्जुन काफ्लेले गरे भने कार्यक्रमका प्रमुख अतिथि जर्मनीका लागि नेपाली महाबाणिज्य दूत राम प्रताप थापा र डेनिस सांसद थोम्सेनले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरे।
उपस्थित कलाकार तथा अन्य आगन्तुकलाई इनास डेनमार्कका प्रवक्ता हरि न्यौपानेले स्वागत गरे। गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले मन्तव्य मार्फत कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। डेनिस सांसद थोम्सेनले नेपालीहरु इमान्दार, कर्तव्यनिष्ट मात्र नभई कला संस्कृतिका धनि भएको र त्यसको जगेर्नामा प्रवासबाट नेपालीहरुले गरेको प्रयासको अरुले समेत सिको गर्नुपर्ने बिचार व्यक्त गरे। प्रमुख अतिथि थापाले युरोपका प्रतिभावान कलाकारले नेपाली कला संस्कृतिको उत्थानमा पुर्याएको योगदानको प्रसंशा गरे।
प्रतियोगितामा युरोपका १० नेपाली प्रतिस्पर्धीलाई पछाडी पार्दै बेलायत निवासी प्रतियोगी जेन्नी सुनुवारले युरोपका नेपाली नृत्यांगना मध्ये यस वर्षको सर्वोत्कृष्ट स्थान हासिल गरेकी छिन। नेदरल्यान्ड्सकी पूजा सुब्बाले दोस्रो स्थान हासिल गरेकी छिन भने डेनमार्ककी कोपिला शाक्यले तेस्रो स्थान प्राप्त हासिल गरेकी छिन।
नृत्यमा दख्खल भएका नेदरल्यान्ड्स निवासी वर्षा खड्का, बेलायत निवासी रजनी सुनुवार र जर्मनीकी शार्हाजाद हुइस्मानको संयुक्त निर्णयबाट प्रतियोगीमध्येबाट बिजेता छनौट गरिएको हो। भेषभुषा, ताल, कोरियोग्राफी, हाउभाउ र समग्र प्रस्तुतिमा प्राप्तांक बिभाजन गरि तीनैजना निर्णायकले प्रदान गरेका अंकको जोड्फलका आधारमा बिजेता घोषित गरिएको थियो।
त्यस्तै डेनमार्कबाट सहभागी गायन प्रतियोगी शैलेश बिकले युरोपका अन्य १० नेपाली गायक प्रतिस्पर्धीलाई पछाडी पार्दै यस वर्ष युरोपको सर्वोत्कृष्ट नेपाली गायकको पहिचान बनाएका छन्। दोस्रो स्थान बेल्जियम निवासी अर्जुन शाहीले हासिल गरेका छन् भने जर्मनी निवासी लक्ष्मी तामांग तेस्रो भएकी छिन।
चर्चित संगीतकार चेतन सापकोटा, गायिका शर्मिला बर्देवा र गायक शुभ सुन्दासको संयुक्त निर्णयबाट विजेताहरू छानिएका हुन्। गीतको छनौट, आवाज, रिदम र प्रस्तुतिमा अंक बिभाजन गरी तीनैजना निर्णायकहरुको अंकहरुको जोड्फलका आधारमा गायन तर्फका उत्कृष्ट मध्ये सर्वोत्कृष्ट छनौट गरिएको आयोजक संस्था इनास डेनमार्कका कार्यक्रम संयोजक रविन्द्र खड्काले उपलब्ध गराउनुभएको जानकारीमा उल्लेख छ।
वार्षिक रुपमा आयोजना हुने इनासको युरोप क्षेत्रीय एकल नृत्य तथा गायन प्रतियोगिता यसपटक इनास डेनमार्क र इनास युरोपले कोपन्हेगनमा आयोजना गरेको थियो। प्रतियोगितामा भाग लिन प्रतियोगी र अतिथि कलाकारका रुपमा युरोपका बेल्जियम, पोर्तुगल, नेदरल्यान्ड्स, चेक रिपब्लिक, जर्मनी, इटाली, डेनमार्क, बेलायत लगायतका देशहरुबाट दुइदर्जन बढी प्रवासी नेपाली कलाकारहरु तथा सयौंको संख्यामा गीतसंगीत प्रेमी दर्शकहरुको कार्यक्रममा उपस्थिति थियो।
अतिथि कलाकारहरुले कार्यक्रमको बीच-बिचमा गायन र नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरंजन दिएका थिए।
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर