नेपाल र डेनमार्कबीच मैत्रीपूर्ण भलिबल खेल हुँदै

  • Get News Alerts

नेपाल-डेनमार्क कुटनीतिक सम्बन्धको पचास वर्ष पुगेको अवसर तथा नेपाल भ्रमण वर्ष- २०१८ को प्रवर्द्धनमा पहिलोपटक नेपाल र डेनमार्क बीच मैत्रीपूर्ण भलिबल खेल हुन लागेको छ। नेपालको राष्ट्रिय भलिबल टोली र डेनमार्कको भिदौर भलिबल क्लब बीच आगामी मईको २१ तारिखमा कोपन्हेगनमा पहिलो मैत्रीपूर्ण भलिबल खेल हुने भएको छ भने दुवै टिमबीच २७ अगस्तमा काठमाडौँमा मैत्रीपूर्ण प्रतिस्पर्ध हुने जानकारी प्राप्त भएको छ।

नेपाली खेल तथा खेलाडीलाई युरोप र अन्तर्राष्ट्रिय स्तरमा उतार्न, दुई पक्षीय सम्बन्ध र सामुदायिक सद्भावलाई मजबुद बनाउन खेलमार्फत पर्यटन प्रवर्द्धन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको ध्यान खिच्न उक्त खेलको अवधारणा विकास भएको कुरा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दिपक सापकोटाले सो खेलबारे जानकारी दिन कोपन्हेगनमा आयोजित बैठकमा ब्याख्या गरे।

सम्भवत: युरोपमै पहिलोपटक मैत्रीपूर्ण भलिबल खेलको प्रस्ताव लिएर राष्ट्रिय खेलकुद परिषद र नेपाल पर्यटन बोर्ड पुगेका सापकोटाले परिषद्का सदस्य सचिव केशव कुमार बिष्ट तथा बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशी पनि उत्साहित हुनुभएको सापकोटाले सम्झिए। डेनमार्कमा भिदौर भलिबल क्लबका व्यवस्थापक थोमस स्ट्यूनले समेत मैत्रीपूर्ण खेलको अवधारणामा साथ् दिने भएपछि सोचाइले मूर्त रुप पाएको बताइयो।

डेनमार्कस्थित नेपाली दूतावास र अन्य नेपाली संघ-संस्था समेतको सक्रिय सहयोगमा खेल भव्य रुपले सफल हुनेमा सापकोटाले विश्वास व्यक्त गरे। सो खेलले नेपाली खेलाडीको डेनिस समुदाय र खेलाडीसंगको सामिप्यता संगै क्षमता अभिवृद्धि गर्ने, नेपाललाई उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा जानकारी अझै विस्तारित हुने तथा नेपाली र डेनिस नागरिकबिचको सम्बन्ध थप प्रगाढ हुने बिश्वास लिइएको उनले बताए।

रास्ट्रिय खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड र डेनमार्कस्थित भिदौर भलिबल क्लबको उत्तिकै लगाव तथा डेनमार्कमा अवस्थित नेपाली संघ-संस्थाको सहयोगले खेल आयोजना सम्भव भएको बताइयो।

२१ मईमा कोपन्हेगनमा हुने खेलका लागि नेपालबाट १५ जना राष्ट्रिय खेलाडी पांच दिनका लागि डेनमार्क आउने छन् भने उनीहरुको बसोबास, खानपिन, कोपन्हेगन भ्रमण लगायतका लागि डेनमार्कस्थित भिदौर क्लब, नेपाली दुतावास, गैर आवासीय नेपाली संघ, सीपीएच एडु ट्राभल, नेपाली संघ-संस्था र नेपाली समुदायले सहयोग गर्ने भएका छन्।

समरको शुरुवात संगै कोपन्हेगन खेलकुदमय:

यसैबीच समरको घमाइलो मौसमको मौका छोपेर कोपन्हेगनमा विभिन्न संघ-संस्थाले आन्तरिक एबम् वाह्य खेलकुदका कार्यक्रमहरु एक पछि अर्को सार्वजनिक गरिरहेका छन्।

यहि अप्रिलको २२ र २३ तारिखमा नेपाली जनसम्पर्क समिति डेनमार्कले नेपालीहरुबीच ब्याडमिन्टन खेलको प्रतिस्पर्धा गराउंदै छ। आपसी भाइचारा अभिवृद्धि र स्वस्थ मनोरन्जनका लागि खेल आयोजना गरिएको आयोजकले बताएका छन्। प्रतिस्पर्धामा भाग लिन एकलका लागि ३ सय र डबलका लागि ४ सय डेनिस क्रोनर  शुल्क निर्धारण गरेका छन्। महिला र विद्यार्थीलाई छुट सहित क्रमश: २०० र १सय ५० (डबल तर्फ २००) क्रोनर शुल्क तोकिएको छ।

प्रतिष्पर्धा नोरेब्रोहालेनमा हुने

उता प्रवासी नेपाली मञ्च डेनमार्कले मईको १३ तारिखमा 'तेस्रो ओएनएफ कप' भलिबल प्रतियोगिताको जानकारी सार्वजनिक गरेको छ। नेपाली राष्ट्रिय भलिबल टिम र डेनमार्कको टिमबीच हुने मैत्रीपुर्ण भलिबल खेलभन्दा अगाडी नै प्रतियोगिता सम्पन्न गरि यस प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरु मध्यबाट एक ड्रिम टिमको निर्माण गरि नेपाली राष्ट्रिय टिम र डेनमार्कको टिमसँग समेत भलिबल खेलाउने गरि तयारी आरम्भ गरिएको जानकारीमा उल्लेख छ।प्रतियोगितामा बिगतमा जस्तै महिला र पुरुष दुबैतर्फका प्रतिस्पर्धाहरु हुने पनि बताइएको छ। 

प्रतियोगिता भिदौरस्थित फ़्रिहेदेन इद्राइत सेन्टरमा हुने कुरा आयोजक संस्थाका तर्फबाट दिपक पाण्डेले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस