पहिलो पटक डेनमार्कमा आउँदा

  • Get News Alerts

त्यतिबेला सन् २००७ मा नेपालको युरोपसंग सिधा हवाई सम्पर्क थियो। काठमाडौँ देखि अस्ट्रियाको भियानासम्म। नेपालमा स्नाकोत्तर दोस्रो वर्षको विधार्थी थिएँ र त्यतिनै बेला विदेशमा उच्च अध्ययन गर्ने जोश चलेको बेला काठमाडौँबाट भियनाको लागि जहाज चढियो।

परिवारबाट बिदाइ हुँदा आँखा रसाएका थिए अनि मन अमिलो थियो। काठमाडौँ विमानस्थलमा विभिन्न सुरक्षा चरण तथा अध्यागन प्रक्रिया पुरा गर्दा मेरो मनमा विविध तर्कना चलेको थियो। नेपालमै अवसर पाएको भए किन यसरी छपन्न दिनको छोरो, सुत्केरी श्रीमती, बुवाआमा, दाजु भाउजु अनि सबै परिवार छोडेर विदेश हिंड्नु पर्थ्यो र?

जहाज कुर्ने समयमा यिनै कुराहरु खेलिरहे मनमा अनि दुइ दुइ पटक नेपाली सेनाको अधिकृत क्याडेटमा अन्तीम परिक्षा अर्थात अन्तर्वार्तामा प्राविधीक कारणवस छनौट हुन नसकेको अनि नेपाल प्रहरीको इन्स्पेक्टरको परिक्षामा पनि त्यस्तै नियती भोग्नुपरेपछि देशमै रहेर देश अनि जनताको सेवा गर्ने धोको अधुरो नै रहेको ठान्यो मनले। जीवनको जोश र जाँगर भरिएर केहि गरौँ भन्ने उमेरमा पाएको त्यो ठक्करले विदेशतीर डोराइरहेको छ जस्तो लाग्यो। 

जीवनमा त्यसअघी कहिल्यै ठुलो जहाज नदेखेको म त्यत्रो ठुलो जहाज देख्दा निकै अचम्म लागेको थियो। जहाज चढेपछि केहि नेपालीहरु पनि देखेपछि अलि ढुक्क र साहस बढेको अनुभव भयो। जहाजले अस्ट्रियाको भियना ल्यायो त्यसपछि डेनमार्कको कोपनहेगन आउने जहाज चढियो। कोपनहेगन उत्रंदा साँझ भए पनि जाडो महिना भएकोले झमक्क परेको थियो।

आँफु अध्ययन गर्न आउन लागेको कलेजको कन्सुलर बिर्गीट निल्सनले विमानस्थल ओर्लेपछि रेल चढेर सेन्ट्रल स्टेसनसम्म आउनु अनि मलाइ फोन गर्नु भनेर फोन नम्बर सहित इमेल गरेकी थिइन्। सोहि अनुसार विमानस्थलको स्टेसनबाट रेल चढ्ने स्थलतर्फ लागें।

नेपालबाट संगै आएका साथीहरु पनि लहैलहैमा म संगै आए। उनीहरुलाई लिन आउने भनेको चिनेको नेपाली साथी लिन आएनन रे अनि फोन पनि उथाएनछन्। पोखराको एक जना साथीलाई भने उनको विराटनगरको साथी लिन आएका थिए। करीब एक घण्टा विमानस्थलमै कुरें अरु साथीको लागि।

मैले उनीहरुलाई मलाइ कन्सुलरले यसो यसो भनेकी छ भनेपछि अरु चार जना साथीहरु पनि म संगै जाने भने। संयोगवस हाम्रो कजेल एकै रहेछ। पोखराको साथीलाई लिन आउने साथीले रेल स्टेसन लिएर आए अनि हामी सबै रेल चढ्यौं तर बिना टिकट, किनकी टिकट कसरी किन्ने थाहा थिएन नत साथमा रहेको युरो र डलर कहाँ साट्ने भन्ने थाह नै थियो। विमानस्थलमा भएको पैसा सटही केन्द्र बन्द भैसकेको थियो।

निकै स्तरिय रेल, अनि बाटोभरी झिलिमिली उज्यालो थियो अँध्यारो भए पनि। सेन्ट्रल स्टेसन आएपछि केहि साथमा भएको युरो 'फोरेक्स'को काउन्टरमा साटेर कन्सुलरलाइ फोन गरें, कन्सुलरले ट्याक्सी चढेर कलेज होस्टेल आउनु म त्यहीं हुन्छु अनि ट्याक्सीको भाडा म तिर्छु भनेपछि म ट्याक्सी खोज्न बाहिर निस्कें। ट्याक्सी त भेटियो तर भाषाको समस्या भयो उसले अंग्रेजी त्यती नबुझ्ने अनि कन्सुलरको नम्बर दिएँ र कुरा गर भने।

ट्याक्सी ड्राइभरले आफनै मोबाइलबाट कन्सुलरलाइ फोन हान्यो अनि स्थानीय डेनिश भाषामा कुरा गरेपछि मलाइ बस भन्यो र लगेज आँफैले डिकीमा राख्यो त्यत्तिकैमा अरु तीन जना साथीहरु पनि हामी पनि जान्छौं न भनेर कर गरेपछि मैले नांइ भन्न सकिन अनि जे सुकै पर्ला सहयोग त् गर्नु पर्यो भनेर एकै ट्याक्सीमा होस्टल आयौं।

बाटोमा राती भएर होला गाडी त्यति चलेका थिएनन तर ट्राफिक बत्तीले आफ्नो नियम बताईरहेका थिए। गाडी त्यत्ति नचले पनि रातो बत्तिमा ड्राइभरले रोक्दा हामी साथीहरु मुखामुख गर्थ्यौं र भन्थ्यौं किन रोकेको होला, छिटो लागे नि हुन्थ्यो नी। तर हरियो बत्ती बले पछि मात्र ड्राइभरले गाडी हाँकथ्यो।

ट्याक्सीले होस्टल ल्यायो। हामी आउनु भन्दा अगाडी नै कन्सुलर आइसकेकी रहिछन। उमेरले उनी पाकै थिइन। अनि मैले साथीहरु पनि छन् तीन जना, उनीहरुलाई सहयोग गर्नुपर्छ, लागेको कोठाभाडा दिन्छन भनेपछि भनेपछि हुन्छ कोठाहरु खाली नै छन् २/ २ जना शेयर गरेर बसो है भनेपछि साथीहरु निकै खुशी भए।

निकै टाढादेखिको लामो यात्रा भएकोले हामी सबै थकीत थियौं अनि कन्सुलरको मिठो व्यबहारले हामी सबैको ओठमा मुस्कान अनि मनमा खुशी छाएको कन्सुलरले ठम्याइन अनि 'तिमीहरु खुशी भयौ हैन त? ल अब भोली बिहान आउंछु नेपालमा राती भयो अहिले, भोली तिमीहरुको परिवार संग मेरो मोबाइल फोनबाट सम्पर्क गराई दिन्छु चिन्ता नलिनु भन्दै कोठाको साँचो दिइन् अनि विस्ताराको लागि नयाँ सिरक सिरानी, तन्ना दिंदै यसको पैसा कोठा भाडा संगै कलेज शुरु भएपछि अर्को हप्ता दिनु भनेर उनी गइन।

अनि मलाइ देखाउंदै प्रकाशले नेपालबाट इमेल सम्पर्क गरेकोले मैले कोठाको बन्दोबस्त गरेकी थिएँ तिमीहरु पनि भाग्यमानी रहिछौ प्रकाश संगै आयौ र कोठा पायौ भन्दै अरु साथीलाई भनिन। सम्पर्क नगरी आएकाहरु धेरैले दुख पाएका छन् भन्दै उनी निस्किन, रात निकै छिप्पिसकेको थियो।

डेनमार्क टेक्ने बित्तिकै कन्सुलर बिर्गीटले दर्शाएको मानवीयताको मनमनै प्रशंशा गरें। उनले जिन्दगीभरी नभुलिने गुन लगाएकी थिइन् नत्र एडभान्स पैसा अनि कोठा भाडा नदिकन विदेशमा कसले यसरी कोठा दिन्थ्यो र भलै कलेज को होस्टल किन नहोस। पछिसम्म पनि तीनले धेरै नेपालीहरुको उद्दार गरेकी थिइन, कलेजका प्राय नेपाली साथीहरुले उनलाई 'आमा'को संज्ञा दिएका थिए।

भोलिपल्ट १० बजेतिर बिहान तिमीहरु राम्रो संग सुत्यौ नी? भन्दै कोठामा आइन तल किचनमा लागिन र सबै सिस्टम अनि हाम्रो भागको चुलो र फ्रिज देखाइन   कन्सुलरले हाम्रो लागि खानेकुरा, पाउरोटी, बिस्कुट, लगायत जुस, पानी टन्नै ल्याएकी रहिछन। हामी सबैले उनको फोनबाट नेपाल परिवारसंग कुरा गर्यौं त्यसमा सबैभन्दा बढी समय मैले मेरो परिवारसंग बोलेको थिएँ।

कलेजको होस्टलमा छुट्टै संयुक्त किचन थियो त्यहाँ चाइनीज, पाकिस्तानी, भारतीय, अनि अन्य इस्ट युरोपियनहरुले खाना बनाउने र खाने गर्दथे। आफनो खाना पकाई सकेपछि चुलो र टेबल सफा गर्नु पर्थ्यो। कलेज शुरु भयो। नेपालको भन्दा निकै भिन्दै परिकाले पढाइ हुने। शिक्षकहरुलाई नेपालमा जस्तै हामीले सर भन्दा हामीलाई सर नभनु नाम नै भनेर बोलाउनु भने। नामै किटेर बोलाउनु पर्दा निकै अफ्ठेरो लाग्ने शुरु शुरुमा।

डेनिशहरु मिजाशिला, सहयोगी हुँदा रहेछन। डेनमार्कमा अंग्रेजी सबैले बोल्ने र बुझ्ने भएकोले शुरुमा काम खोज्न अनि यहाँको वातावरण संग घुलमिल हुन खास गारो भएन। कामको सम्मान गर्ने देश भएकोले सानो र ठुलो काम भन्ने नहुँदो रहेछ। विधार्थीले जम्मा ६० घण्टा पार्टटाइम काम गर्ने पाउने व्यवस्था भएकोले प्राय काम शनिवार र आइतबार हुने गर्थ्यो।

अहिले यहाँ विधार्थीले महिनाको ८० घण्टा गर्न पाउने नियम बनेकोले धेरैलाइ सहज भएको छ। आफनै देश जस्तो विदेश पक्कै हुँदैन। विदेश कसैलाई सोचे जस्तो हुन्छ  कसैलाई हुँदैन। यो व्यक्तिको दृष्टिकोणमा भर पर्ने कुरा हो।

डेनमार्कको इतिहास निकै रोचक रहेको छ। यहाँका पुर्खाहरुलाइ भाइकिङ्ग भन्ने रहेछन। भाइकिङ्गहरु फिरन्ते डाँकाहरु जस्ता थिए रे। नयाँ ठाउं जाने त्यहाँको सबै लुटेरा डेनमार्क ल्याउने उनीहरुको चलन नै थियो रे। नर्वे, फिनल्याण्डको केहि भाग अनि स्विडेन पनि कुनै समय डेनमार्कका भाइकिङ्गको अधीनमा थियो रे। राजधानी कोपनहेगन भन्ने बित्तिकै जलपरीको कथाले प्रशिद्ध पनि रहेछ। जलपरी आएर समुन्द्रको ढुंगामा बसेकी र त्यही साक्षात् जलपरी नै अहिले त्यहाँ रहेको मुर्ती भएको विश्वास गरिन्छ। 

डेनमार्क आएको छ महिनामा  महशुष भयो की नेपालीहरु अध्ययनको सिलसिलामा वा कामको सिलसिलामा युरोप वा अमेरिका जहाँ गए पनि अवस्था एकै हो र अहिलेको यो पहिलो पुस्ता हो। पहिलो पुस्ता जहिले पनि संघर्षशील हुन्छ।

नेपाल जस्तो विकासोन्मुख देशबाट विकसीत देशमा आउंदा शीप र ज्ञानको फरक आकाश जमीनको हुने अनि एउटा अल्पविकसीत स्कुलिङ्ग बाट अर्को विकसित स्कुलिङ्गमा आउँदा असहज महशुष हुने साथै सामाजीक, शैक्षीक, सांस्कृतिक वातावरणसंग घुलमिल हुन अफ्ठ्यारो र गारोसारो हुने रहेछ। शीप र ज्ञानको प्रतिस्पर्धामा विदेशमा पछाडी पर्ने हुँदा पहिलो पुस्ता जस्तो वातावरणसंग पनि घुलमिल हुन् प्रयास गर्दो रहेछ।

डेनमार्क आएको नौ वर्षपछीको अनुभवले के बतायो भने संगै आएका साथीहरु आधा यहीं स्थापित हुँदै छन् या स्थापित हुन संघर्ष गर्दै छन् आधा भन्दा बढी साथीहरु यो देश उहिल्यै छोडीसकेका छन्। फरक यत्ती रह्यो समय र परिस्थिति संग कोहि जुध्न सके र कोहि सकेनन्।

पढाइ शुल्क लाग्ने देशहरुमा विधार्थीहरुको काम गर्दै पढाइ शुल्क जम्मा गर्ने, खर्च जुटाउने, नेपाल परिवारलाइ खर्च पठाउने आदि निकै चुनौतीपूर्ण कार्य हुने गर्दछन। अझै पनि स्थापित हुनेहरु अर्को चरणको लागि राम्रो व्यवसायीक काम पाउन संघर्ष गर्दै छन्। राम्रो व्यवसायीक काम गर्नेहरु आँफुलाई अब्बल प्रश्तुत गर्दै अझै माथिल्लो पोस्टमा जान आँफुलाई निखार्दै छन् भने भर्खर आउने विधार्थीहरु संघर्षको शुरुवाती चरणमा छन्।

 

प्रतिकृया दिनुहोस