अन्तर्राष्ट्रिय खेलकालागि नेपाली राष्ट्रिय भलिबल टाेली कोपन्हेगनमा

  • Get News Alerts

नेपाली राष्ट्रिय भलिबल टिम डेनमार्कको कोपन्हेगन आइपुगेको छ। नेपाल-डेनमार्क कुटनीतिक सम्बन्धको पचास वर्ष पुगेको सुवर्ण अवसर तथा ‘नेपाल भ्रमण वर्ष २०१८’ को प्रवर्द्धनकालागि पहिलो पटक नेपाल र डेनमार्क बीच हुन लागेको मैत्रीपूर्ण भलिबल खेल खेल्न सो टोली शुक्रबार साँझ टर्किस एयरलाइन्सबाट कोपन्हेगन उत्रिएका हो। कोपन्हेगनको क्यास्त्रूप बिमानस्थलमा डेनमार्क स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु तथा नेपाली समुदायले नेपालबाट आएका खेलाडी र प्रतिनिधिहरुलाई स्वागत गरेका थिए।

मे महिनाको २१ तारिख आइतबार संचालन हुने मैत्रीपूर्ण खेलमा नेपाली टोलीले डेनमार्कको भिदोवर भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ। युरोपमै पहिलो पटक हुन लागेको ’ऐतिहाँसिक’ भनिएको नेपाली राष्ट्रिय टोली सम्मिलित खेललाई यहाँ स्थित नेपालीहरुले निकै महत्व र उत्साहका साथ लिएका छन्।

टोलीमा नेपाली राष्ट्रिय भलिबल टिमका व्यवस्थापक राजकुमार गुरुङ, कोच जगदीश प्रसाद भट्ट, टिम कप्तान एम बहादुर मगर र राष्ट्रिय खेलाडीहरू महेन्द्र श्रेष्ठ, कुलबहादुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट छेत्री, भैरव बहादुर बम, हरिबहादुर अधिकारी, ईश्वर थापा, नरेन्द्र गिरी र राजकुमार निरौला छन्। उनीहरुका साथमा राष्ट्रिय खेलकुद परिषद, पर्यटन बोर्डका प्रतिनिधिहरु पनि आइपुगेको जानकारी प्राप्त भएको छ।

नेपाली खेल तथा खेलाडीलाई युरोप र अन्तर्रा्ष्ट्रिय स्तरमा उतार्न, दुई पक्षीय सम्बन्ध र सामुदायिक सद्भावलाई मजबुद बनाउन यो खेलको आयोजना गरिएको बताइएको छ। साथै खेल मार्फत पर्यटन प्रवर्द्धन गर्न, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मिडियाको ध्यान खिच्न पनि यो आयोजनाले टेवा पुर्याउने छ।  

राष्ट्रिय खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड, नेपाल भलिबल संघ, गैरआवासीय नेपाली संघ, डेनमार्क तथा भिदोवर भलिबल क्लब, डेनमार्कको संयुक्त आयोजनामा हुन लागेको उक्त मैत्रीपूर्ण खेललाई डेनमार्कका अन्य नेपाली संघसंस्थाले पनि सक्रिय सहयोग जनाएका खबर छन्। दुइ चरणमा हुने मैत्रीपूर्ण खेलको दोस्रो खेलमा सहभागी हुन डेनमार्कको भिदोवर क्लबका खेलाडीहरु २६ अगस्तमा काठमाडौँमा जानेछन्।

प्रतिकृया दिनुहोस