सुनौलो अष्ट्रेलिया मृगतृष्णा नबनोस्

  • Get News Alerts

‘हामी अस्ट्रेलिया आएको दुई वर्ष पूरा भयो । सुरुमा नर्सिङ पढ्न आएको, अहिले नर्सिङ्ग छोडेर अंग्रेजी पढ्दै फेरि नर्सिङ्ग पढ्ने तयारी गर्दैछौ,’ एउटा सोचाई लिएर आफ्नो पतिको साथ अस्ट्रेलिया आएकी एक २२ वर्षीया महिलाले अस्ट्रेलियामा सोचेभन्दा निकै भिन्न अवस्था बेहोर्नुपरेपछि र तनाव बढ्दै गएर उनको पति डिप्रेशनको शिकार भई मेरो सम्पर्कमा आएर यसो भनिन्।

उनको कथा उनकै शब्दमा यस्तो रहेछ।

‘हामीलाई नेपालमा कन्सल्टेन्सीले तास्मानीयाको कलेजमा पढ्न जाने हो भने सजिलै भिसा लाग्छ भन्यो। पढाइ सकिन साथै पिआर तुरुन्तै पाईन्छ भनेको थियो। काम पाइन्छ तास्मानीयामा? भनेर सोध्यौं। ए काम त फालाफाल– त्यहाँ जनसंख्या खासै छैन– फार्ममा काम त जत्ति पनि पाइन्छ, भन्ने सल्लाह दिए । ‘घण्टामा १८ डलर पाईन्छ, डिपेन्डेन्ट (विद्यार्थीको पति या पत्नी) ले त अझ बढी काम गर्ने सक्छन्। दुई जनाले गरेर महिनाको १६० घण्टा काम गर्न पाईन्छ, महिनामा ३-४ हजार डलर त आरामले कमाउँछन्। एक वर्षको फी यहाँबाट लिएर जाने हो, खान बस्न र बाँकी फी तिर्न त उतैको कमाइले पुग्छ’, भन्ने सुनेपछि हामी पनि फुरूङ भयौं। सुरूको कलेज फीको लागि ऋण लियौं। बुढा बुढी नै जाने हाम्रो योजना भयो। तर जब टास्मेनिया आइयो, कुरो त अर्कै रहेछ। त्यहाँ काम पाउन साह्रै गाह्रो। मेरो त त्यहाँ पढाई भएकोले अन्त काम गर्न जान सकिनँ । श्रीमान मेलवर्नतिर लाग्नु भयो। उहाँले पनि काम सजिलै कहाँ पाउनु? दुई जना दुई तीर। खर्च पनि दोहोरो । मैले काम पाउँदै पाइनँ। उहाँले मेलबर्नमा हप्तामा बढीमा २०० डलर कमाउनुहुन्थ्यो। कुनै हप्ता त त्यति पनि हुँदैनथ्यो। दुई तिर खर्च धान्न सकिएन। त्यसपछि म एक वर्ष पनि नपुगी मेलबर्न सरेँ।

अरू विषय पढ्न आएका साथीहरू त ६ महिना पछि रिलिज लेटर लिएर अन्य राज्यतिर लागे। मेरो विषयले गर्दा एक वर्ष पढाइ नसकि कलेजले रिलिज लेटर नदिने भयो। यहीको अर्को कन्सल्टेन्सीले अंग्रेजी भाषा पढ्ने व्यवस्था मिलाइदिएको छ । हाउसकिपिङमा काम पाएको छु (क्यजुअल जागिर भन्दो रैछ । काम भाको बेलामा बोलाउँछ। हप्तामा १० देखी २० घण्टा काम पाको छु। क्यासमा काम गराउँछ। काम गरे अनुसारको घण्टाको पैसा पाइदैन। फर्केर नेपाल जान पनि सकिन्नँ। नर्सिङ नै पढ्ने विचार छ। तर खै– निल्नु न ओकल्नुको यस्तो अवस्था आउछ भन्ने त थाहा नै थिएन।’

तास्मानियामा जागिर पाउन गाह्रो छ भन्ने थाहा पाएको भए के गर्नुहुन्थ्यो भनेर मैले प्रश्न गरेँ। उनले भनिन्– ‘म आउन्न थें । धान्नै नसक्ने प्रस्ट हुँदा हुँदै के आउनू। हुनत मेलवर्नमा पनि काम सजिलै कहाँ पाइन्छ र? काम नपाएर भौतारिने हामीजस्ता विद्यार्थी यहाँ कति छन् कति । तर ठूलो ठाउँमा चान्स अलि बढी हुन्छ। अहिले आएको दुई वर्ष पछि पनि हालत उही छ । अझ झन् खस्किएको छ। अहिलेसम्म नर्सिङ पढाई आधा भन्दा बढी सक्नुपर्ने। खै के हुने हो। अब त श्रीमानलाई डिप्रेसन पनि भयो। विरक्त लागिसक्यो जिन्दगीदेखि नै।’

नेपालीभाषी मानसिक रोग विशेषज्ञ हुनु र अस्ट्रेलियाको भिक्टोरियामा नेपाली एसोसिएसन अफ भिक्टोरियाको अध्यक्ष हुनुले मेरो सम्पर्कमा नियमित रुपमा अप्ठेरोमा परेका नेपाली विद्यार्थी आउने गर्छन् । मैले उपचार गरेका नेपाली विद्यार्थीको संख्या बढ्दो छ। मानसिक समस्या नपरे पनि जागिर नपाएर सहयोगको लागि सम्पर्क गर्ने विद्यार्थी पनि प्रशस्त हुन्छन्। प्रायः धेरैजसोबाट मैले बुझेको एउटा समस्या हो– विद्यार्थीहरुलाई अस्ट्रेलियामा जागिर पाउने बारे यथार्थ जानकारिको अभाव। हुनत अनौपचारिक छलफलमा अस्ट्रेलियावासी केही सामाजिक अभियन्ताहरूको जवाफ हुन्छ– ‘यहाँ पढ्न आउने विद्यार्थीहरु सबै १८ वर्ष पुगेका वयस्कहरु हुन्। आवश्यक सूचना जम्मा गर्ने काम उनीहरूकै हो । सबै सूचना इन्टरनेटमै छ। यती हुँदाहुँदा पनी आएर दुख पाएँ भन्छन् भने हामीलाई के को टाउको दुखाई?’

अर्कोथरी तर्क पनि उत्तिकै सुनिन्छ । ‘एक–दुई वर्ष ढीला भयो त के भयो र? नेपालमै बसेर पनि के नै पो गर्थे र । यहाँ जे भए पनि पढेका छन्। जस्तो भए पनि काम पाएका छन्। शेष घलेले पनि सुरूमा हाउसकिपिङ्गको काम गरेका थिए भन्ने सुन्नुभाको छैन?’ माथिका दुबैथरी तर्कहरूले घुमाउरो गरी यथास्थितिको समर्थन गर्दछन्। पहिलो तर्कले सम्पूर्ण जिम्मेवारी विद्यार्थीको थाप्लोमा थोपर्छ। पहिलो तर्कका पक्षधरहरूको विचारमा विद्यार्थीले नै सारा कुराको जानकारी आफैले बटुल्नुपर्ने र त्यो नगरी या गलत जानकारी लिएर यहाँ आउछन् भने त्यसमा अरू कसैको नभई उक्त विद्यार्थीकै दोष हुन्छ भन्ने मान्यता राख्दछ । यो मान्यताले उक्त विद्यार्थीलाई कसैले अन्जानमा या नियतवस गलत या अपूर्ण सल्लाह दिएको हुनसक्छ भन्ने तर्फ सोच्नै चाहदैन। हो, मैले औंला एजुकेसन कन्सल्ट्यान्ट (शैक्षिक परामर्शदाता) तर्फ नै मोडेको हुँ।

प्रश्न ती परामर्शदाताप्रति तेर्साइएको छ जसले नेपालमा विद्यार्थीबाट र भर्ना पश्चात अस्ट्रेलियाको कलेजहरूबाट भर्ना शुल्कको राम्रै हिस्सा कमिसनको रुपमा प्राप्त गर्दछन्।

मेहनत गरेर यथोचित कमिसन या उचित पारिश्रमिक पाउनु व्यक्ति या व्यापारिक प्रतिष्ठानको अधिकार हो । शुल्क लिएर परामर्श दिने जिम्मेवारी लिएपछि उचित सल्लाह दिनै पर्छ। काम सजिलै पाइन्छ, सरकारले तोकेको घन्टाको डलरको यति दर हुन्छ, आम्दानीले खान बस्न सजिलै पुग्छ र ऋण पनि तिर्न पुग्छ आदि गलत सल्लाह हुन । आफ्नो नजिकको परिचितको आफ्नै व्यापार छ भने त्यहाँ काम पाउन केहीलाई सजिलै होला। तर अस्ट्रेलिया आउने प्रायः नेपाली विद्यार्थीहरुले सजिलै काम नपाउने मात्र होइन आएको निकै महिना काम नपाएर भौतारिनु नौलो कुरा होइन।

अझ कतिलाई त कलेजले नै काम खोजिदिन्छ भन्ने हास्यास्पद सल्लाह दिएको पनि सुनिएको छ । एकथरी गलत सल्लाहलाई नै विश्वास गरी अस्ट्रेलिया आएर विजोक हुनेहरु देखिएका छन् भने अर्काथरी केही पुगिसरी आएका परामर्शदाताले गलत सल्लाह नदिए पनि आवश्यक सूचनाहरू नदिइ हाम्रोमार्फत आए आउ नआए नआउ भन्ने गरेको पनि पाइएको छ। अस्ट्रेलिया पढ्न आउने केही नेपाली विद्यार्थी मात्र आर्थिक रुपले यहाँको पढाई र बसाइको पूर्ण खर्च धान्न सक्ने खालका हुने गर्छन्। प्रायः यही आएर कमाउला, बस्ने खाने र दोस्रो किस्ता/वर्षको शिक्षण शुल्क कमाएर तिर्ने मनसायले आएका हुन्छन्।

नेपाल बाहिर गएर पढ्ने मनस्थिति बनाइसकेपछि मनोवैज्ञानिक रूपले उनीहरु ‘विदेश जाने’ हरेक सकारात्मक सूचनालाई उनीहरु सजिलै विश्वास गर्न पुग्दछन् । जस्तै– ‘गएकाहरु फर्केको सुन्नुभाछ र?’ ‘शेष घलेले पनि पहिला भाडा नै धस्काएको हो नि’, ‘अलि दुख सुरुमा भएपनि एक वर्षमै गाडी किनेकै छन्’ जस्ता सल्लाहले विदेश जाने मानसिकता बनाइसकेका व्यक्तिले विदेशको अवस्था जसरी बुझ्छ, यहाँ आएपछिको वास्तविकता फरक पाउँछ।

मैले यो लेख आफुले बुझेको समस्या समाजसम्म ल्याउन लेखेको हुँ । त्यस्तै लेख्ने अवस्थामा नरहेका र आफ्नो तत्कालिन अवस्था बाहेक अन्य केही सोच्न नसक्ने अवस्थामा रहेका विद्यार्थीको कुरा पनि बाहिर ल्याउने कोशीश गरेको हुँ ।

हो, अस्ट्रेलियाले धेरै मान्छेहरूलाई आफ्नो सपनालाई भेट्टाउन सघाएको छ । तर अस्ट्रेलियामै आशुमा सुत्दै आफै आफ्नो सपनामा चिप्लिएर आफूजस्तै छालाको रंग भएकाहरुबाट शोषित हुदै सोचेको भन्दा फरक पढाई र काम गर्दै फेसबुकमा उज्यालो अनुहारको फोटो राखेर नेपालमा आमाबाबुलाई म ठीकै छु भन्ने सन्देश दिएर आफ्नै फोटोमा आखा जुधाउन गाह्रो मान्दै जीवन जिउनेहरु पनि कम छैनन् । यो अवस्थालाई निर्मूल पार्न नसकिएला । तर सही सूचनाको प्रवाहबाट नेपाली विद्यार्थीहरुले पाइरहेको अनावश्यक दुखबाट बचाउने कोशिष शैक्षिक परामर्शदाताहरुबाट हुनै पर्दछ।

आज भोलि सूचना इन्टरनेटमा यत्रतत्र भेटिन्छ । तर जो जुन विषयको विशेषज्ञ हुन्छ उसलाई मात्र सो विषय सम्बन्धी आधिकारिक सूचना कहाँ हुन्छ भन्ने जानकारी हुन्छ । जसरी एउटा चिकित्सकले उपचार गर्दा सो उपचारको राम्रा र नराम्रा पक्षको जानकारी उपचार पूर्व रोगीलाई दिनुपर्छ र नदिएको अवस्थामा सबै कुरा इन्टरनेटमै थियो भनेर पन्छिन मिल्दैन, त्यसैगरी विदेश पढ्न जाने विद्यार्थीको हकमा शुल्क या कमिसन प्राप्त गर्ने परामर्शदाताले पनि गलत सूचना दिए मात्र होइन, सही सूचना नदिएको अवस्थाको पनि अनुगमन हुनुपर्दछ।

सत्य र यथार्थ सूचना पाउनु मानवअधिकार मात्रै होइन नेपालको संविधानले मौलिक अधिकारको रुपमै स्वीकारिसकेको अवस्थामा गलत सूचनाको व्यापार गर्नेहरूको अपराधलाई नजरअन्दाज गर्न सुहाउछ र?

यो लेखको उद्देश्य कुनै ब्यापार या संस्थाको मानमर्दन गर्न होइन । तर हरेक ब्यबसायका आचार संहिता हुन्छन । ती आचार संहिता पालन भए नभएको अनुगमन गर्ने र उनिहरु बिरुद्धको उजूरी लिने निकाय पनि हुन्छन्। त्यसको लागि विद्यार्थी र अविभावक जागरुक हुन जरूरी छ । सूचनाको अधिकारिकता पनि बुझ्नु जरूरी हुन्छ।

अष्ट्रेलियाको नेपाली समाज निकै सहयोगी छ। अप्ठ्यारोमा परेकालाई समाजमा सहयोग गर्नेको कमी छैन । तर उनीहरुको कमजोर अवस्थाको फाईदा उठाएर उनीहरुको शोषण भएको अवस्था निकै छ।

काम लगाएर तलब नदिने, कम तलब दिने जस्ता उदाहरण प्रसस्तै भेटिन्छ । एउटा पूर्व विद्यार्थीको भनाइ यस्तो थियो (चाइनिजले घण्टाको १०-१२ क्यासमा दिन्छन्, गोरेले १५-१९, नेपालीले ८-१० र लेब्नानीले ५-७ अष्ट्रेलियन डलर। यद्यपी यसो गर्नु गैरकानुनी हो। यहाँको कानुन अनुसार यस्ता रोजगारदाताले सजाय पाउँछन्। तर कमजोर अवस्थामा रहेका विद्यार्थीले उजुरी गर्ने र उजुरी प्रमाणित गर्ने सम्भावना क्षीण हुन्छ।

अष्ट्रेलियाको हकमा एक वर्ष खानबस्न पुग्ने खर्चको ब्यवस्था गरेर आउनुभएको छैन भने त्यो समय सीमा भित्र प्रायले काम पाउने सम्भावना धेरै हुन्छ। तर आउना साथै या शुरूको महिना भित्रै काम पाईन्छ भनेर त्यही अनुसारले आफ्नो खर्च पनि त्यही हिसाबले ल्याउनु भएको छ भने अनावश्यक तनाव र दुःख बढी हुन सक्छ। त्यस अवस्थामा तपाईं पर्नु भयो भने तपाईंको अवस्थाको फाईदा उठाउन चाहनेबाट बढी सजग हुनुपर्छ । अविभावकहरु पनि यो कुरामा प्रस्ट हुन जरूरी छ।

लेखक- नेपाली असोसिएसन अफ भिक्टोरिया, अष्ट्रेलियाका अध्यक्षसमेत हुन्। 

प्रतिकृया दिनुहोस