सिड्नीमा मनाइयो पृथ्वी जयन्ती

  • Get News Alerts

‘नेपाली हामी रहुँला कहाँ नेपालै नभए...’। सिड्नीमा राष्ट्रियता अनि राष्ट्रको प्रेमभाव दर्शाउदै स्थानीय नेपाली समाजका अगुवाले बिहिबार एक कार्यक्रम बीच पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन्।

नेपाल एकीकरणका नायक तथा खण्ड खण्ड राज्य एकीकरण गरेर अखण्ड राज्य निमार्ण गर्ने पृथ्बी नारायण शाहलाई हरेक नेपालीले सम्झना गर्नुपर्ने स्थानीय बक्ताहरुले बताए।

शाहबंश र राष्ट्रियता दुई फरक विषय भएकोले यसलाई जोडेर हेर्न नहुने मेघराज श्रेष्ठले बताए। कार्यक्रमका सभापतिसमेत रहेका श्रेष्ठले आफू नेवारको छोरो र मल्लकालिन भारदारको सन्तान भए पनि राष्ट्रियता र पहिचानको विषयमा पृथ्वीनारायणलाई राष्ट्र निमार्ताका रुपमा सम्मान गर्ने बताए।

कार्यक्रममा गैर आवासीय नेपाली संघका युवा संयोजक विजय पोखरेलले इतिहास मेटेर मेटिने विषय नभएकोले अहिलेका शासकहरुमा राष्ट्रयताको भावना कमजोर हुँदै गरेको तर्क गरे। पोखरेलले अगाडि भने, ‘नेपाल नभएको भए हामी कहाँ हुन्थौं, केले चिनिन्थ्यौं ,देशै नरहे हामी कहाँ रहन्थ्यौं, यस्ता प्रश्नहरुले गम्भीर बनाइरहँदा एकता दिवस हाम्रो लागि सम्झनायोग्य दिनका रुपमा रहेको छ।’

कार्यक्रममा एनआरएनकी प्रवक्ता रन्जु थापाले एकता दिवसभन्दा पनि नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने पर्वका रुपमा पृथ्वी जयन्ती रहेको बताइन्।

कार्यक्रममा बोल्दै पूर्व एनआरएन आइसीसी सदस्य निरज श्रेष्ठले पृथ्वी जयन्ती राष्ट्र एकीकरणको सम्झना गर्ने दिनका रुपमा रहेकोले यसलाई महत्वका साथ हेरिनुपर्ने बताए। श्रेष्ठले भने, ‘यहाँ तोड्नेहरूको बिगबिगी छ, जोडनेहरुको सम्झना गर्ने फुर्सत पनि उनीहरूलाई नहोला तर हामी नेपाली भएर बसेका प्रवासीहरुले पृथ्वी जयन्तीलाई महत्वपूर्ण अवसरका रुपमा मान्नुपर्छ।’

नेपाल एकीकरण मात्र होइन, धुस खान्या र दिने दुबै नेपालीका शत्रु हुन्, भन्ने कुरालाई त्यतिबेला ब्यवहारमा ल्याउने पृथ्वीनारायण र बिसे नगर्चीको सल्लाह लिने उनको नीति अहिले पनि देशका लागि अविस्मरणीय रहेको एनआरएनका सल्लाहकार मन केसीले बताए।

एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले हरेक नेपालीले सलाम र सम्मान गर्नुपर्ने ब्यक्तित्वका रुपमा पृथ्बीनारायण रहेकाले उनलाई तन्त्रसँग जोडिदाँ अन्याय हुने बताए।

कार्यक्रममा पुराना नेपाली समाजका अगुवा प्रल्हाद केसीले पृथ्वी नारायण शाहलाई बिर्सनु भनेको देशलाई माया नगर्नु बराबर भएको बताए।

त्यस बेलामा गोर्खावाट सुरु गरेर नेपाल निमार्णको अभियान पुरा गर्ने पृथ्बी एकताका प्रतिक भएकोले यसलाई नेपाली समाजले अवसरका रुपमा मनाउनु पर्ने केसीले सुनाए।

कार्यक्रममा राइट एन्ड एशोसियट्सका निर्देशक पीआर अधिकारीले देशको नक्सा कोर्ने अभियन्ताका रुपमा पृथ्बी नारायणलाई सम्मान गर्न‘ पर्ने बताए। प्रवासमा यसरी राष्ट्रिय एकता दिवस मनाउन पाउनु हाम्रो लागि गौरवको विषय भएकोले राज्यले सम्मान गर्नुपर्ने अधिकारीले सुनाए।

कार्यक्रममा नरेश थापा, कन्चन पोखरेल तथा बिमल भट्टराईले पनि नेपाल एकीरकण र एकता दिवसको गरिमाका विषयमा धारणा राखेका थिए। यसै बीच ब्रिसबेनमा पनि केही युवाहरुले पृथ्वी जयन्तीलाई उनको फोटो प्रर्दशनी गर्दै मनाएको छन्।

प्रतिकृया दिनुहोस