अस्ट्रेलियाकाे एडीलेडमा नेपाली फेस्टिभल हुने

  • Get News Alerts

यही आउँदो मार्च २५ तारिकको दिन एडीलेडमा नेपाली फेस्टिभल २०१७ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति झल्कने झाँकीसहित ह्यान्डमार्स स्क्वायरमा हुने उक्त कार्यक्रम विभन्न सांगीतिक कार्यक्रमसहित बेलुकासम्म चल्ने आयोजक संस्था एनआरएनए  साउथ अस्ट्रेलियाले जनाएको छ।

सेलिब्रेट कल्चर, एक्सप्रियन्स नेचर’ को नारासहित एडीलेडमा  हुने यस कार्यक्रमले नेपालसँग रहेको पर्यटनको प्रशस्त सम्भावनालाई अस्ट्रेलियामा प्रचार प्रसार गर्न ठूलो भूमिका खेल्ने एनआरएनए  साउथ अस्ट्रेलियाका संयोजक नबिन कंडेल बताउँछन।

उनले भने, 'नेपाल बाहिर बस्ने नेपालीहरु आफैंमा पनि पर्यटनदूत हुन्। त्यसमा यस किसिममा कार्यक्रमहरुले  नेपाली कला संस्कृति, खाना र नेपाललाई यहाँ चिनाउन सकिन्छ, त्यसैको एउटा साझा प्रयास हो नेपाल फेस्टिभल।'

नेपाल फेस्टिभलमा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट कुटुम्ब ब्याण्ड, लोकदोहोरी गायक नारायण रायामाजी, शान्ति परियार, सिड्नीबाट हामी ब्याण्ड लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने कंडेलले  बताए। कार्यक्रममा एनआरएन आईसीसी अध्यक्ष शेष घले, अन्य स्टेटबाट एनआरएनएका पदाधिकारीहरु, स्थानीय राजनीतिज्ञसहित विभिन्न समुदायको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ। 

नेपाली दूतावास क्यानबेरा, महाबाणिज्य दुताबासको कार्यालय साउथ अस्ट्रेलिया र नेपाली संघसस्थाहरुको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमका मुख्य प्रायोजक बूमर्‍याङ एजुकेशनल सर्भिस रहेको छ। बूमर्‍याङ एजुकेशनका आषिश  वाग्लेले नेपालीहरुको लागि यस किसिमका कार्यक्रमहरु  ठूलो अवसर भएको बताउँदै  यही  मध्यम प्रयोग गर्दै  नेपाली कला संस्कृति भेषभूषा र पहिचानलाई यस मल्टिकल्चर देशमा चिनाउन सकिने कुरा बताए।  कार्यक्रममा नेपाली खानका स्टल, व्यवसाय स्टल, नेपाली घरसहित नेपाली कला संस्कृति झल्कने सामग्रीहरु, पर्यटन प्रवर्धन, हस्तकलाका सामग्रीहरु प्रदर्शन गरिने छ।

प्रतिकृया दिनुहोस