अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा फोर फाइभ सेभेन भिसा खारेज (भिडियोसहित)

  • Get News Alerts

नेपाली समुदाय पनि प्रभावित

अस्ट्रेलियन सरकारले दक्ष जनशक्ती भित्र्यााउने उद्धेश्यले प्रदान गर्दै आएको फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेको छ। मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले दक्ष कामदारका रूपमा विदेशी भित्र्याउने यो भिसा बुधबारदेखि लागू हुने गरी रद्द गरेको घोषणा गरेका हुन्।

नेपाली ब्यवशायीहरूको बलियो आम्दानीको स्रोत बनेको यो भिसा प्रकृया रोकिदाँ ब्यवशायका साथै दक्षता हासिल गरेर छोटो बाटो अस्ट्रेलियामा स्थायी बसोबास प्रवेशाज्ञा प्राप्त गर्ने एउटा ठूलो बाटो समेत बन्द भएको छ।

चार पाच सातको नाममा निक्रै प्रचलित बनेको यो भिसा अचानक रद्द हुँदा धेरै खाले मानिसमा असर परेको देखिएको छ। यो भिसा रद्द गरेपछि अस्ट्रेलिया सरकारले दक्ष कामदारको सवालमा प्रकृति हेरेर दुई वर्षे र चार वर्षे अस्थायी भिसाको ब्यवस्था गर्ने जनाएको छ। तर त्यसपछि हालको जस्तो पीआरको प्रकृयामा जान पाइने वा नपाइने भन्ने विषयमा भने अझै केही बताएको छैन। यो निर्णयले अस्ट्रेलियाका आप्रवासीहरूमा ठूलो भुइँचालो ल्याएको छ ।

यस भिसामा वर्षमा कम्तीमा दुई सय परिवार नेपालीहरू पनि लावान्भित हुँदै आएका थिए । नेपालबाट पनि थुप्रै नेपाली कुक र बेकरी अनि एकाउन्टेटको चारपाँच सात भिसामा अस्ट्रेलियामा आएका छन्। फेरि पनि सरकारले कुक र बेकरी अनि एकाउन्टेट जस्ता विषयमा भने परिवर्तन गरेको छैन। तर आगामी फोर फाइभ सेभेन भिसाको रूपको विषयमा भने राज्य स्पष्ट देखिएको छैन।

नयाँ भिसामा दुई वर्षे र चार वर्षे नीतिका बारेमा स्पष्ट खाका नआइसकेको परिप्रेक्षमा हाल यो भिसा आवेदन प्रकृयामा रहेकाको समेत प्रभावित हुनेछ । यस पटक सूचीबाट दुई सय १६ वटा विषय हटेका छन्।

यो भिसा प्रकरण केही विवादित पनि थियो। नक्कली कागजात र मिलामतोमा पैसाको ठूलै चलखेल भएका केही प्रकरणहरू अस्ट्रेलियन सरकाले हात पारेपछि यसमा खोजि सुरु भएको थियो । देशमा बेरोजगराीको प्रतिशत बढेको र अस्ट्रेलियाकै दक्ष जनशक्तीको परिपूर्ति अहिलेको आवश्यकता रहेको भन्दै टर्नबुल सरकारले यो भिसा रद्द गर्नुपरेको जनाएको छ । यसलाई मुलुकको हितलाई सर्वोपरी ठानी गरिएको निर्णयका रूपमा प्रधानमन्त्री माल्कम टर्नबुलले अभिब्यक्ति दिएका छन्।

मझौला रेस्टुरेन्ट र ब्यवशायमा समेत यो भिसाको असर प्रत्यक्ष देखिने कुरा रेस्टुरेन्ट ब्यवशायी अनुप काफ्लेले बताए। ‘यो एउटा राज्यको प्रीभिलेज थियो। दक्ष कामदारलाई ल्याएर उनीहरूबाट ब्यवशाय र राज्य लाभान्वित हुने तर टर्नबुल सरकारको यो निर्णय अचानक आउँदा सबै अच्चमित परेका छन्,’ उनले भने। 

चार पाँच सात भिसा प्रकयामा भिसा ग्रान्ट भइसकेका ब्यक्तिको हकमा भने यसले खासै असर नपर्ने माइग्रेशन एजेन्ट तथा शैक्षिक परामर्सदाता सन्जिव पान्डेले सेतोपाटीलाई बताए। यसले आप्रवासीहरुलाई केही हदसम्म असर पारे पनि यो टर्नबुल सरकारको पपुलिष्ट निर्णयका रुपमा रहेको उनको ठम्माइ छ।

‘यो सरकाले आफूलाई सारमा भन्दा रूपमा परिवर्तन गर्न खाजेको देखिन्छ। युरोप र अमेरिकामा देखिएको प्रवेशाज्ञा सम्वन्धी अनुदारवादी नीतिलाई अस्ट्रेलियाले पनि नक्कल गर्न खोजेको आभाष यसले दिन्छ,’ सन्जिवले भने।

राइट एन्ड एशोसियट्स एजुकेसन एन्ड माइग्रेशनका दिनेश खनाल यो निर्णयले नेपाली समाजमा प्रत्यक्ष असर परेको बताउँछन्। ‘थुप्रै दक्ष कामदारहरुले यसलाई अस्ट्रेलिया आउने अवसर अनि दक्षता अभिबृद्धीसँगै स्थायी बसोबासको मौका पाएका थिए। यसले भिसा प्राप्त गरिसकेका हकमा त प्रभाव नपर्ला तर अन्य प्रोसेसमा रहेकाहरुको सन्दर्भमा भने नयाँ निर्णय नआइकन केही भन्न सकिने अवस्था छैन,’ उनले भने ।

दिनेशले आगामी दुई वर्षे र चार वर्षे स्कील माइग्रेशन सम्बन्धी नयाँ नीतिले कस्तो खाले बाटो तय गर्ने हो त्यसको स्पष्ट खाका बाहिर आइनसकेको जिकिर गरे।

जे होस कमाउ पनि धमाउ पनि अनि काम पनि चाडो बसोबास पनि। गर्नेले पनि हात चाट्ने, गराउनेले पनि साथ पाउने भिसाका रूपमा अस्ट्रेलियामा चर्चा पाएको यो चार पाँच सात नम्बरको भिसाले अहिले बिश्राम पाएपछि धेरैको ओठ तालु सुकेको छ।

कतिले पैसा लिएका छन्, कतिले आस देखाएका छन् अनी कतिको सत्यानास पनि भएको छ यसमा । ब्यापारी हुन वा रेस्टुरेस्ट ,पार्टी प्यालेस होस वा मनि ट्रान्सफर सबैले यसको फाइदा लुटेका छन्।

अब के हुने भन्ने विषय निकै गम्भीर छ। भिसा पाइसकेकाको हकमा भने त्यती चिन्ता लिनु नपर्ने तर प्रकृयामा रहेका हकमा भने शंका गर्नुपर्ने प्रसस्त ठाउँ देखिएको छ ।

अस्ट्रेलियामा सन २०१५ मा मात्र ९६ हजार ८४ जनाले यो भिसा मार्फत स्थायी बसोबासको प्रवेशाज्ञा पाएका थिए। सबैभन्दा बढी २०१२ र १३ लेबर सरकारको पालामा कुल दुई लाख पचास हजार मान्छेले यस्तो भिसा पाएका थिए।

प्रतिकृया दिनुहोस