एनआरएन अस्ट्रेलियाको सदस्यतामा नाटकीय मोड कसरी आयो?

  • Get News Alerts

गत सातासम्म मात्र एक हजारको हाराहारीमा रहेको गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए)को सदस्यता म्याद सकिन केही घन्टा बाँकी सम्म आइपुग्दा ६ हजारले नाघिसकेको छ ।

डेढ महिनासम्म उदासिन एनआरएनका सदस्य एकाएक सक्रिय हुन थालेपछि यसको चर्चा चुलिन थालेको छ। निर्वाचनको नजिक पुगेपछि एनआरएनएको सत्ता साझेदार एकाएका सक्रिय भएको हो कि स्वस्फूर्त लोकप्रियताले सीमा नाघेको हो त्यो बुझ्न सकिएको छैन।

अझै यो संख्या एक हजारभन्दा बढीले बढ्ने अनुमान गरिएको छ। यो सँगै एनआरएनको नाम र शान मात्र होइन यसले गरेको कामको पनि मूल्यांकन भएको अड्कल गर्न सकिन्छ।

जसले जे भने पनि एनआरएनए सबै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको साझा संगठन हो। तर, यसले गरेका काम र कमाएको नामलाई आम नेपालीमाझ लैजान नसक्दा संस्थामाथि औला उठाउनेको पनि कमी छैन।

एनआरएनको विधानमा राजनीतीक परिदृष्यलाई अंगाल्न नपाइने भने पनि यसका स्टेकहोल्डरलाई भने विधानले छोएको छैन।

एनआरएन अस्ट्रेलियाको सदस्यता अहिले रोमान्चक मोडमा अगाडि बढेको छ। सदस्यताको म्याद सकिन हप्ता बाँकी छँदा १ हजार हाराहारीमा रहेको संख्या ह्वात्तै बढेर ६ हजार नाघिसकेको छ।

आज आइतबार राति १२ बजेसम्म सदस्यता बन्ने अन्तिम म्याद तोकिएको छ। अबको केही घन्टा भित्र यसको संख्या सात हजार काट्ने अनुमान सहजै गर्न सकिन्छ।

यसरी पाँच दिनमा ६ हजार सदस्य बढ्नुमा केही रहस्य लुकेको छ। चुनाव हो सबैलाई लाग्छ, जित्नका लागि भोट चाहिन्छ, भोटर सजिलै पाइदैन। सदस्यता बन र मलाई भोट हाल भन्ने परिस्थिति कठिन हुन्छ, सदस्यता बनाइदिएमा भोट पनि पाइने आशमा नाता गोता, भाइ बन्धुहरुको सदस्यता बनाउने क्रमले संख्या बढेको हुनुपर्छ।

‘विचारलाई बिधानले छेके पनि वातावरण बनाइदिन राजनीतिक आस्थाले ठूलो काम गरेको छ। जसले जे भने पनि नेपालकै मोडलमा आस्थाका झन्डा मन भित्र बोकेर एनआरएनको बागडोर सम्हाल्ने प्रचलनलाई विधानले रोक्न र छेक्न सक्दैन,’ एक भुक्त भोगीले सेतोपाटीसँग भने, ‘यसले पनि आफ्नो टिम वा विचारलाई जिताउन एकथरी मानिस अन्तिम समयमा लागि पर्छन् र सदस्यतामा एकाएक ह्वात्तै बढ्छ।’

मानिसले चाहे पनि नचाहे पनि यो प्रवासको नेपालीहरुको सत्ता नै हो। यसमा राज गर्ने इच्छा जो कोहीलाई हुन्छ। केही पर्‍यो र घटना घट्यो भने मानिसलाई चाहिने एननआरएन नै हो। पछिल्ला समयमा अस्ट्रेलियामा देखिएका सामाजिक कार्यले पनि यसको पुष्टी गरेको छ। तर, स्वस्फूर्त सदस्यता बन्ने विषयमा मानिसबीच अझै आलटाल देखिन्छ।

यसमा एनआरएनएले आफ्ना कार्यक्रमहरुलाई लक्षित समुदायमा पुर्‍याउन नसकेको हो की भन्ने भान पनि परेको छ। तर सदस्यको सवालमा नैराश्यताको खोजी यसको मूल उद्धेस्य बन्नुपर्छ।

संस्थाको गरिमा र महत्व भनेको यसप्रतीको आम मानिसको लगाव र आवद्धतानै हो। तर आवद्धताका सवालमा कमजोर देखिदै आएको एनआरएनएको सदस्यता यसरी अन्तिम समयमा आएर चुलिनुले फरक कोण र अलग धारतिर यसलाई धकेल्ने संकेत गरेको छ।

अस्ट्रेलियाको सवालमा यसरी एनआरएनको सदस्यता बढ्दै गर्दा राजनीतिक संगठनहरुको प्रभाव र सत्ताको चाहनालाई स्पष्ट रूपमा उजागर गरेको छ।

सदस्यताको सवालमा ब्यापारिक घराना लगायत पार्टीका भातृ निकायहरुको स्वार्थ पनि जोडिएको छ। एनआरएनलाई प्रवासको सत्ताका रुपमा नेपाली समाजले अंगालेको कुरा यसैबाट छर्लङ्ग हुन्छ।

यसरी तीन दिनमा पाँच हजार सदस्य थपिने कुराले एनआरएनएको लोकप्रियता बढेको हो या सत्ता प्राप्तीको खेलमा कुप्रथाले जन्म लिएको हो हेर्न बाँकी छ।

‘यो कुनै पनि हालतमा स्वस्फूर्त सदस्यता बढेको होइन, यो यहाँका राजनीतिक पार्टीका भातृ संगठनले आफ्नो टिमलाई जिताउन तयार पारेको रणनीतिको प्रतिफल हो,’ स्थानीय वकिल खिलेन्द्रराज तिम्सीनाले सेतोपाटीसँग भने,‘शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्र ८ सय सदस्य बढेका छन्। यो कुनै पनि हालतमा एनआरएनप्रतिको आकर्षण होइन।’

एनआरएनको गतिबिधि ब्यपारीक प्रयोजनसँग पनि जोडिएको भएर यहाँ संस्था मात्र होइन केही शैक्षिक परामर्शदातासमेत हात धोएर हजारौ डलर लगानी गरिरहेका छन्।

यता एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल नेपालीको अन्तिम समयमा मात्र काम गर्ने बानीले यस्तो भएको दाबी गर्छन्। ‘यसरी संख्यामा हवात्तै वृद्धी हुने कुरा नेपालीका लागि ठूलो होइन, हामी सबै अन्तिम समयमा सदस्य बन्ने गर्छौ,’ उनले भने,‘तर कोही कोहीले आफन्त र आफ्ना परिवारका सदस्यलाई पनि समेट्ने क्रममा संख्यामा बढेको हुनसक्छ।’

यसअघि पनि ६ हजारको हाराहारीमा सदस्यता रहेको अस्ट्रेलियाको एनआरएनमा यस पटक महत्वपूर्ण पदका आकांक्षी अन्य राज्यका भएकोले त्यता  उत्साह थपिएकोसमेत सुरेन्द्रले बताए।

उनले यसरी अन्तिम समयमा सदस्यता यसरी थपिँदा शंका गर्ने ठाउँ रहे  पनि यसलाई स्वभाविक प्रकृयाका रुपमा लिनुपर्ने सिग्देलको तर्क छ।

प्रतिकृया दिनुहोस