पीटर काका...

  • Get News Alerts

पीटर हो उनको नाउँ। अन्दाजी ६५ माथिको उमेर होला । बाबु बाजे नेदरल्यान्ड्सतिरबाट अस्ट्रेलिया झरेका। झर्रो शब्दमा भन्ने हो भने उनी अस्ट्रेलियाका पक्का अजी।

जिन्दगीको अर्थ र अस्ट्रेलियाको जिवनशैलीबारे उनको गजबको तर्क छ। काममा छलकपट छैन, करिब ३५ वर्षदेखि एउटै ब्यापारिक उद्योगमा पूर्णकालिन जागिरे छन् पीटर। जीवनमा धेरै मोज पनि गरे अनि भोज पनि खाए पीटर काकाले। तर पछुतो छैन, एकल जीवनसँग। पीटरको फरक तर्क छ, नारी र सारीसँग पैठाजोरी खेल्न कठिन छ यहाँ। बैंशमा पीटर काकाले के के गरेनन्। कहिले आफैं हराए, कतै अरूलाई हराउन लगाए। दारू र चारूमा उनको कयैन पल अविस्मरणीय बनाए। पुराना दिन सम्झने प्रयास गर्दा पनि फुरूङ्ग हुन्छन् पीटर काका।

एक्काइसौं सताप्दीको अस्ट्रलियामा पीटरलाई यो आधुनिकताले बढी पिरोलेको छ। उनी मोबाइल बोक्दैनन् अहिले पनि भन्छन्, ‘यो आधुनिकताको नाममा थोपरेको भुलभुलैया हो। मानिस घरबार, परिवार अनि साथीभाई होइन यसैमा पसेको छ अनि फसेको पनि। घरमा हेर, बारमा हेर अनि ट्रेनमा हेर वा बसमा हेर मानिस मोबाइलमै ब्यस्त छ अनि अस्तव्यस्त पनि। ट्रेनमा त कुरै नगरौ सधै ब्रेन खराब गर्न तल्लिन छन्,’ पीटर काकाको तिखो ब्यङ्ग्य छ। उनी घरमा भाइ, आमासँग टेलिफोनमा कुरा गर्छन् तर ल्यान्डलाइनमा मात्र।

एकाबिहानै काममा आउँदै गर्दा पीटरलाई एउटै कुराले पिरोल्छ, त्यो हो- मानिसहरूको चिच्चाहट। मानिस यति ब्यस्त भएकी अस्ट्रेलियामा खाना, गाना बजाना र काम पनि ट्रेनमै गर्न थाल्छन्। बढ्दो आप्रवासीको जगजगी उनलाई पनि भित्रैबाट मन परेको छैन।

हुन पनि उनले नबुझ्ने कयैन भाषाहरू हरेक दिन सुन्दा उनलाई पट्यार नै लागिसकेको छ। जो मानिस जहाँबाट आए पनि सबैले बुझ्ने अंग्रेजी बोले त भइहाल्छ नी। उनको सोझो ठम्माइ हो।

 हुन त पीटर काकाले एक दिन निकै भावुक भावमा भनेका थिए-यो अस्ट्रेलिया यस्तो देश हो ,यहाँको जीवनशैलीमा बचाउने र कमाउने भन्ने कुरोको कुनै महत्व नै छैन। कमायो, खायो, मोजमस्ती गर्‍यो, सक्यो यही हो धेरै अजीको लाइफ स्टाइल। वर्षमा यसो एक महिने बिदामा घुम्नका लागि गरिने जम्मा मात्र बचत खातामा रह्यो भन्ने त्यसलाई सफल मान्नुपर्छ।

एक साता काम गरेन भने अर्को साताको जोहो नहुने देश हो यो। यहाँ जीवनको रंग कर्मसँग जोडिएको हुन्छ। हप्तामा आउने कमाइले बिदाका दुई दिनलाई रंगिन बनाउन सके सफल मानिन्छ यहाँ। हुनत हाम्रो जस्तो परम्परा र रितिथीतीले उनिहरुलाई छाडेको धेरै भइसक्यो । बाबुआमाको सम्पतीलाई आफ्नो नठान्ने , शेष पछी दिए खाने नदिए माग्न नजाने परम्पराले स्वतन्त्र जिवनशैलीमा ढालेको पनि छ यीनलाई।

लगभग ७० को उमेरमा पनि पीटर डेरामा बस्छन्। उनीसँग घर छैन , थियो बाबु आमाको । तर धेरै भयो भाडामा बसेको। जिन्दगीलाई घामछायाझै मान्ने पीटरको आधा कमाइ त भाडामा सकिन्छ। बाँकी बचेको रकम , बियर बार र फील्ममा। हप्तामा चारदेखि पाँच वटा फील्म हेर्छन् उनी। भन्छन् जीवन भुल्ने फरक फरक शैली हुन्छ म प्राय भूतको र अन्य फिल्म हेर्न रुचाउँछु।

काममा प्रमोशनका अफर पनि उनले नपाएका होइनन्, तर उनी भन्छन्, ‘माथिल्लो पोष्टमा पैसा त्यती फरक हुँदैन तर तनाव भने ज्यादा। त्यसैले ब्यवस्थापकीय जिम्मेवारी मेरो रोजाइमा परेन। सामान्य जागिर नै उनको यौवन र जीवनको कमाइको माध्यम बनेको छ।

जीवनलाई फरक कोणले सोच्छन् पीटर काका। एकदिन उनले भने, ‘यहाँ अर्को हप्ता मर्छु भन्ने थाहा छ भने पनि यो हप्ता काम गर्नुपर्छ किनभने बाचेको दिन त खान र सुत्नु पर्‍यो नी। काम गर्दा गर्दै भाँचिएको खुट्टा प्लास्टर गरेर ट्याक्सीमा अफिस आएका पीटरको स्वभाविक पीडा थियो यो। मलाई साह्रै घत लाग्यो, एक छिन सुने अनि भावुक बनायो उनको शब्दले। सानोमा निकै सोच्थे, अमेरिका अस्ट्रेलिया कस्तो हुँदो हो, खैरैको देशमा भैरैको जीवन कस्तो होला। डलरको पगरी र चील्ला कारको सवारी अनि समुन्द्रका फोटा र बडेमानका भोटा देखेर कहिले पुगिएला जस्तो लाग्थ्यो विदेश। सपना र विपनाका बिचमा हावा र कावा खेल्दै अस्ट्रेलिया त आइयो। तर पीटर काकाका बचनवाणले पिरोल्छन् मलाई। परिवार, छोरा छोरी घरबार र डलरको कारोबार। खोइ यसले सन्तुष्टी देला त जीवनमा। 

कता कता मुलुक र माटोको सम्झना ताजा आउँछ। लाग्छ हामी त साह्रै भाग्यमानी। कमसे कम ६ महिना पेट्रोल र ग्यास नपाए पनि खुसी र सुखीसँग बाच्ने नेपाली। फेरि पनि आकर्षणको भाव किन घट्न सकेको छैन। जीवनको अर्थ र मूल्यको खोजी किन गर्दैनौ हामी। थुप्रा प्रश्न तेर्सिए तर काठमाडौंको धुलो र राजनीतीको चुरोले छायामा पारेझै बिलायो पनि।

प्रतिकृया दिनुहोस