न्युजिल्यान्ड र अस्ट्रेलियाका खेलाडीलाई हराउँदै अशोकले नेपाललाई स्वर्ण दिलाए

  • Get News Alerts

नेपाली खेलाडी अशोक खड्काले अस्ट्रलियाको गोल्डकोस्टमा भएको गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन शनिबार स्वर्ण पदक जितेका छन्। अस्ट्रेलियाको सुन्दर पर्यटकीय नगरी गोल्डकोस्टमा भएको प्रतियोगिताको पुरूष एकल पुम्सेमा अशोकले नेपाललाई स्वर्ण दिलाएका हुन्। उक्त स्पर्धामा विभिन्न १४ राष्ट्रका १४ खेलाडी सहभागी थिए।

अशोकले सबै प्रतिद्वन्द्वीलाई पछि पार्ने क्रममा १० पूर्णाङ्कमा सर्वाधिक ९.१६ अंक ल्याए। न्युजिल्यान्ड र आयोजक राष्ट्र अस्ट्रेलियाका खेलाडी क्रमशः दोस्रो र तेस्रो भए।

गोल्डकोस्ट तेक्वान्दो संघको आयोजनामा भइरहेको प्रतियोगिता सोमबारसम्म जारी रहनेछ। उक्त प्रतियोगिता नेपालबाट सहभागी हुने अशोक एक्ला खेलाडी हुन्। आयोजक गोल्डकोस्टले अशोककै नेतृत्वमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) लाई सहयोग स्वरुप १० थान किक प्याड समेत उपलब्ध गराएको छ ।

प्रतियोगितामा भाग लिनुअघि सिड्नीमा भएको  सेमिनारमा पनि अशोक सहभागी भएका थिए। अशोकले जितपछी विदेशी भूमीमा मुलुकका लागि पदक दिलाउन पाउँदा गौरब लागेको सेतोपाटीलाई बताए।

प्रतिकृया दिनुहोस