अस्ट्रेलिया भनेर मख्ख नपर्नुहोस्

  • Get News Alerts

केही दिनअघि म एक  मित्रको घर गएको थिएँ । उनको घरमा नेपालबाट भर्खरै पढ्न भनेर आएको भाइ  देखेँ। अनि प्रसङ्गवश मित्रसँग कुरा निकाले– ‘भाइ त नयाँजस्तो छ नि !’ । मित्रले मेरो जवाफलाई हो भन्दै केही कुराहरू कोट्याउन थाले – ‘हेर्नुस् न ऊ भाइ आएको त भर्खर चार दिन जति भयो । आउनासाथ एयरपोर्टबाट भाइले फोन गरेर दाइ म त एयरपोर्ट आइसकेँ तपाई कहिले लिन आउनुहुन्छ भन्दा पो म त छक्क परेँ !’

कुरोको चुरो खोज्दै जाँदा कहानी अर्कै रहेछ । त्यो भाइले नेपालमा जुन कन्सल्ट्यान्सीबाट अप्लाई गरेको रहेछ त्यसले बस्ने ठाउँ खोजिदिएको अनि एयरपोर्ट पुग्नासाथ घरभेटी नै तिमीलाई लिन आउँछ त्यसैले तिमी ढुक्क भएर बस भनेर भनेको रहेछ । कोही आफन्तहरू नभएको सो भाइ कन्सल्ट्यान्सीको कुरामा विश्वास गरेर ढुक्क भएको रहेछ । यता ती मित्रको घरमा एकजना केटाको लागि कोठा खाली भएकाले कोही आउलान् र भाडामा दिउँला भनेर इन्टरनेमा विज्ञापन हालेका रहेछन् । अनि त्यो कन्सलटेन्सीले त्यो भाइका लागि कोठा बुक गरेको रहेछ तर उता भाइलाई भने एयरपोर्टमा नै लिन आउँछन् भनेर झुठो कुरा समेत भनिदिएछ । काममा हुँदा फोन आएपछि छक्क पर्दै ट्याक्सीमा आउनका लागि सल्लाह दिएछन् र ठेगाना एसएमएस गरेर पठाएछन् । आफ्ना आफन्तहरू कोही अस्ट्रेलिया नभएकोले बल्लतल्ल ट्याक्सीमा सो भाइ आएर केही घन्टा कुरेपछि बल्ल उनीहरूको भेट भएछ ।

हाम्रो कुराकानी सुनिसकेपछि त्यो भाइले दुःखेसो पोख्दै भन्यो – ‘हेर्नुस् न दाइ ! एयरपोर्टमैं झर्दावित्तिकै यो विरानो ठाउँमा पहिलो झट्का पाइयो । अरू कति पाउनुपर्ने हो कुन्नि ?’

नेपाली कन्सल्ट्यान्सीले विद्यार्थीलाई कति हल्का रूपमा लिन्छन् भन्ने एक मात्र उदाहरण हो यो । विद्यार्थी विदेशी भूमिमा टेकेपछि दुई/चार वर्ष आउँदैनन् र त्यसपछि आए पनि के नै गर्छन् र ? भन्ने खालको मानसिकता उनीहरूको रहिआएको छ । त्यसैले उनीहरूका लागि सबैभन्दा ठूलो प्राथमिकता भनेको विद्यार्थी पठाएबापत् यहाँका कलेजबाट पाइने कमिशन हुने गर्छ अरू सबै कुराहरू भनेका तपसिलका कुरा मात्रै हुन्छन्।

दुःखद् कुरा त यस्ता कन्सल्ट्यान्सीलाई नियमन गर्ने वा कारवाहीको दायरामा ल्याउने कुनै त्यस्तो निकाय अहिलेसम्म खडा भएको छैन भने विद्यार्थीहरू पनि विदेशमा आउनुपूर्व कन्सल्टेन्सीले भनेका कुराहरूलाई एकपटक आफैंले सम्पर्क गरेर निक्र्योल गरेमा यस्तो अवस्था आउने थिएन । यहाँ आइसकेपछि भने विद्यार्थीहरु अरू विभिन्न समस्याबाट ग्रसित हुन थालेपछि बितेका कुरालाई वास्ता नगर्ने वानीले पनि यस्ता विडम्बनापूर्ण घटनाहरू अझै घट्दै जाने सम्भावना देखिन्छ ।

दोस्रो झट्का कोठा

कतिपय नेपाली विद्यार्थीहरूले राम्रोसँग बुझेर कोठा वा बस्नको व्यवस्था नेपालबाटै गरेर आउँदा कमसेकम बस्ने ठाउँ र खानाको ठूलो समस्या भोग्नु पर्दैन तर कतिपय विद्यार्थीहरूले अलि हल्का रूपमा लिएर ‘गएपछि त पाइहालिन्छ नि’ भन्ने मानसिकताका साथ समेत आएका छन् र आएपछि बस्ने ठाउँ नपाएर विचल्लीमा समेत परेका छन्। ‘गएर पाइएन भने दुई/चार दिन होटलमा बसौँला अनि कोठा त पाइहालिन्छ नि’ भन्ने किसिमको मानसिकताका साथ आएका केही नेपाली विद्यार्थीहरूले यहाँ आएर केही दिन र हप्ता मात्र होइन कोहीकोही त महिनादिन सम्म पनि बस्ने ठेगान नभएर बिचल्लीमा परेको खबर यदाकदा सुनिएको छ ।

हालसालै मेरा एक टाढाका आफन्तले अस्ट्रेलियाको भिसा लागेकाले कोठा खोजिदिन आग्रह गरे । हुन्छ भनेर इन्टरनेटमा राखिएका विशेष गरी नेपालीहरूका खाली कोठाका विज्ञापनहरू हेर्दै फोन गरेँ। शुरुमा एउटा नेपाली महिलाले उठाइन् र एउटा कोठा अर्को नेपालीसँग शेयर गर्नका लागि खाली रहेको बताइन्। अनि मैले मेरो भाइ पर्ने नेपालबाट अर्को हप्ता आउँदैछ भनेपछि उनले कोठा दिन हिच्किचाइन् । पछि बुझ्दै जाँदा भर्खर नेपालबाट आएका विद्यार्थीलाई भाडामा दिइयो भने कोठा फोहोर हुन्छ अनि शुरुमा आउने वित्तिकै काम पाएनन् भने भाडा समेत उठाउन अलि गाह्रो पर्छ अनि काममा लगाइदिनका लागि आफूले सहयोग गर्नुपर्छ अनि सबै झन्झट आफैंले व्यहोर्नुपर्छ भन्ने मानसिकता उनको रहेछ।

यस्तो कुरा सुनेपछि आफैंलाई नेपाली हुनुको अभिमानभन्दा पनि संकीर्णता महसुस भयो । शायद उनी पनि कुनै वेला त्यस्तै समस्याबाट गुज्रिएको हुनुपर्छ तर नयाँ आउने पुस्तालाई शिक्षा दिएर वा सिकाएर समस्या समाधान गर्नुभन्दा समस्याबाटै टाढा भागेर समाधान खोज्ने नेपाली मानसिकता र प्रवृत्ति विदेशी भूमिमा यत्रतत्र छ । यो अहिलेको विदेशमा बस्ने नेपाली समाजको एक यथार्थ र विडम्बना हो ।

तेस्रो झट्का काम

विदेशमा काम छ त सबथोक छ यदि काम छैन भने केही छैन, संसारै अन्धकारसरह हुन्छ । पढ्नका आएका विद्यार्थीहरूको मामिलामा यो कुरा झन् लागू हुन्छ । एकातिर पढाइ अर्कोतिर सेमेष्टर सकिनासाथ बुझाउनुपर्ने फिसको टेन्सन अनि विदेश आउँदा लागेको ऋण । जसोतसो गरेर यदि काम पाइहाले भने काम र पढाइमैं सीमित जिन्दगीको अर्को पाटो शुरु हुन्छ । नत्र कतिपयलाई काम पाउने आशमा अनेकौं लोभ, लाञ्छना र मोहहरू देखाएर कुलतको बाटोमा फसाउने प्रयत्न पनि यहाँ यदाकदा भएका भेटिन्छन् ।

विद्यार्थीले काम पाउन कति कठिन छ भन्ने कुरा थाहा पाउन धेरै टाढा पनि जानु पर्दैन। फेसबुकमा वा केही लोकल वेबसाइटहरू जहाँ कामका विज्ञापनहरू प्रेषित गरिन्छ त्यहाँ यदि कुनै काम छ भनेर विज्ञापन हालियो भने केही घण्टाभित्रमा कति मान्छेले फोन गर्छन् वा कामको लागि अप्लाई गर्छन् भन्ने कुरा त्यहाँको कमेन्ट बक्समा हेर्नबित्तिकै थाहा हुन्छ । नेपालमा छँदा कहिल्यै गर्दिन र कुर्सीमा बसेर गर्ने खालको मात्र काम गर्छु भन्ने मानसिकता बोकेकाहरू पनि केही हप्ताको हनिमुन पिरियडपछि ‘जस्तो काम पाए पनि गर्छु’ मा झरिसकेका हुन्छन् ।

हालसालै नेपालबाट आएकी एउटी छिमेकी बहिनीले काम पाउने आशामा अनेकौं प्रयास गरिरहेकी थिइन् । कतै केही मेसो भएको थिएन । यहाँका लोकल वेबसाइट, फेसबुकका विज्ञापनदेखि लिएर अरू धेरै प्रयत्नहरू गरिरहेकी थिइन् । त्यत्तिकैमा उनलाई कामको लागि अफर भनेर म्यासेज आयो । उक्त म्यासेजमा घण्टाको ३० देखि ३५ डलर दिइने अनि काम जति दिन गरे पनि हुने भनिएको थियो । उनी मख्ख हुँदै त्यो काम गर्ने ठाउँको ठेगाना पत्ता लगाइदिनका लागि मलाई अनुरोध गरिन् । अनि मैले ठेगाना हेरेर अलि विस्तृत रूपमा जानकारी लिउँ भनेर वेबसाइटमा गएर खोजतलास गरेपछि थाहा पाएँ कि त्यो काम उनले खोजेकोजस्तो नभएर कुनै अश्लील कार्यमा प्रयोग गरिनका लागि थियो।

घुमाउरो पारामा गरिएको विज्ञापनको भाषा नबुझ्ने हो भने उनीजस्ता काम नपाएर पीडित भएका कोही पनि चेलीको जिन्दगी अँध्यारो कुनामा धकेलिन कत्ति पनि बेर लाग्दैन भन्ने नमूना र चेत थियो त्यो ।

विद्यार्थीले विदेशी भूमि टेक्नासाथ पाउने शुरुवाती झट्काका नमूनाहरू मात्र हुन् यी । अरू वेदना र दुःखकष्टहरू विद्यार्थी कालभर आइ नै रहन्छन् । तर पनि नेपालीहरूले धैर्यता, साहस र दुःखलाई दृढ अठोटका साथ डटेर सामना गर्दै अगाडि बढेका अनेक उदाहरण पनि छन् । दुःख छ तर दुःख खपेर, सहेर एकदिन सुख पाउने चाहनाका साथ आएका विद्यार्थीहरूले आज सफलता पाएका अनेकौं कथाहरू पनि छन् । जति पनि आज समाजमा सफल भएर उभिएका छन् तिनले पनि शुरुवाती दिनमा त्यस्तै दुःख भोगेका थिए । फरक त मात्र मानसिक इच्छाशक्ति र दृढ संकल्पले पारेको हो ।

प्रतिकृया दिनुहोस