घले दम्पतीको सम्पत्ति बढ्यो, अष्ट्रेलियाका धनीको सूचीको १ सय १ औंं स्थानमा

  • Get News Alerts

शेष घले र जमुना गुरूङ यसवर्ष पनि अष्ट्रेलियाका २ सय धनी व्यक्तिको सूचीमा पर्न सफल भएका छन्।

नेपाली मुलका घले दम्पत्ति गतबर्षको भन्दा ५ स्थान माथि उक्लिदै यस बर्ष क्रमश: १ सय १ र १ सय २ स्थानमा पर्न सफल भएका हुन्। अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिआरडब्लुले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी ब्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको छ।

शुक्रबार प्रकाशित सूची अनुसार अष्ट्रेलियामा स्थापित घले दम्पतीको सम्पत्ति ६ सय ४७ मिलियन अष्ट्रेलियन डलर बराबर छ। पत्रिकाका अनुसार उनीहरुको कुल सम्पत्ति एक वर्षको अवधिमा १० दशमलव ४ प्रतिशतले बढेको छ। गत वर्ष उनीहरुको कुल सम्पत्ति ५ सय ८६ मिलियन डलर थियो।

प्रवासी नेपालीहरुको संगठन एनआरएनको केन्द्रिय अध्यक्ष समेत रहेका घलेको मुख्य ब्यवसायको रुपमा मेलबर्नमा रहेको शैक्षिक संस्था मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी हो भने त्यस बाहेक घरजग्गा लगायतका ब्यवसायमा समेत उनी सफल बनेका छन्।

उक्त पत्रिकाका अनुसार उनले मेलबर्नको भिक्टोरिया मार्केटमा दुई वटा भवनमा ४७० अर्पाटमेन्ट र २ सय १० कोठा भएको होटल निर्माणका लागि अनुमति लिइसकेका छन्।

नेपालमा गएको महाभुकम्प पश्चात अधिकांश समय नेपालमै बिताएका उनीहरुले भूकम्पपीडितहरुलाई बारपाकमा निर्माण गर्ने भनिएको १ हजार घर निर्माणमा लागिपरेका छन्। उनीहरुले नेपालमा पनि अरबौं रुपैयाँको लागतमा होटल निर्माण शुरु गर्ने बताईसकेका छन्।

करिब दुई दशकअघि बिद्यार्थीको रुपमा आएका घलेले शुरुवाती समयमा सामान्य बिद्यार्थी सरह नै काम गरेका थिए।

एनआरएनमा दोस्रो कार्यकालको नेतृत्व सम्हालिरहेका घलेको इन्ष्टिच्युटमा विजनेश, आइटी, एकाउन्टिङ्ग लगायतका विषयमा स्वदेशी र विदेशी गरेर सयौं बिद्यार्थीहरु अध्ययनरत छन् ।

 

प्रतिकृया दिनुहोस