प्रवासमा मौलाएको  ‘कपीपेस्ट’ राजनीति

  • Get News Alerts

प्रवासमा नेपालीहरूको एउटा साझा कथन छ, ‘मुलुक बिगारे नेताले ,देश बिग्रियो राजनीतीले।’ झट्ट सुन्दा हो पनि नहोस् कसरी, हरेक दिन हरेक समाचारमा कुनै न कुनै राजनीतिक दलका नेताकै कर्तुत छापिन्छ। तर, प्रवासमा बसेर मुलुक बिगार्ने नेताहरूलाई जतासुकै सराप्नेको चाला देखेर पनि उदेक लाग्न थालेको छ।

एकातिर कुरै पिच्छे नेपाली राजनीतिलाई गाली गर्छन्, अर्को तिर त्यही राजनीतिको बुइँ चढेर आफू बुर्कुसी मार्छन।

२०६२/६३ को जन-आन्दोलनपछि मुलुकमा देखिएको अधिकारको हानाथापमा मानिसले आफ्नो मुख्य पहिचाननै बिर्सने र बिभक्त मानसिकता बोकेर हिड्ने प्रचलन बढेको छ। हो, सिमान्तकृत,जनजाती र दलित अथवा थिचो मिचोमा परेका समुदायलाई अधिकार दिलाउने सवालमा सबै एकमत हुन जरूरी छ, तर त्यसका नाममा समाजलाई चिरा चिरा पारेर र मुलुक टुक्रयाउने खेलमा भने हामी सामेल भने पक्कै हुनु हुँदैन।

नेपालका राजनीतिक दल र नेताले आफ्नो क्षणिक स्वार्थ पूरा गर्न वा आवेगमा गरिने निर्णयले धेरै पटक समाजलाई बिभिन्न पाटा र वर्गमा बिभक्त पार्ने खेल हुने गरेको छ। पछिल्लो परिदृष्यमा नेपालमा अधिकारको नाम र दाममा हुने गरेको खेलले समाजमा थुप्रै घट्नाहरु घटेका छन्। देश बिगार्ने खेलमा हाम्रो देशको राजनीति र नेताको जिम्मेबार ठहर गर्ने प्रवासी नेपालीहरू पनि मुलुकको कपीपेस्ट राजनीतिबाट टाढा छैनन्। उनीहरू मुखले जे कुरा गर्छन् ब्यवहारमा उतारेको पाइँदैन। नेपाल छाडेर प्रवासमा बस्ने ५० औं लाख नेपाली फेरि पनि नेपालको कपीपेस्ट राजनीतिको छायाँमा मडारिएका छन्। प्रवासमा यतिखेर खोलिएका बग्रेल्ती नेपाली संस्थाहरुले पनि यसलाई प्रमाणित गरेको छ। मुखमा एउटा कुरा र ब्यवहारमा अर्को कामले पनि प्रवासमा नेपाली समाज विभक्त भएको हामीले पाएका छौ। भेटघाट र भेलामा दल र नेता सराप्नेहरु उनीहरूको भ्रमणमा पछ्यौटे लागेर चाकरीमा पुगेको दृष्य हेर्न लायक हुने गर्छ। नेपालमा भएका र खोलेका सबैखाले दल र संघ संगठनको भातृसंगठन खोलेर प्रवासमा पनि नेपालीले एकथरी रमितानै देखाएका छन्।

दलका नेतालाई गाली गर्नेहरू आ-आफ्ना विचारका नेतालाई लिन विमानस्थलमा घुइँचो लाग्ने र आफ्नो प्रभुत्व जमाउन पुच्छर बन्ने परम्पराले प्रवासलाई पनि नराम्ररी सताएको छ। चाहे अमेरिका होस या युरोप वा एसियाली राष्ट्र तथा अस्ट्रेलिया। जहाँ जहाँ नेपालीको पहुँच पुगेको छ त्यहाँ, कांग्रेस, कम्युनिस्ट, माओवादी र अन्य दलका भातृ संगठन सक्रिय छन्। आफ्नो पहिलो पहिचानका रुपमा रहेको नेपालीत्वलाई यस्तै यस्तै संघ संगठनले छोपेका छन् र समुदाय अनेक नाम र विचारमा विभक्त पार्न थालेका छन्।  कांग्रसी, एमाले, माओवादी, जनजाती, मधेसी, कास्केली र बाहुन र मगरातका नाममा बिभक्त गरेर नेता बन्ने ठेकेदारले प्रवासलाई पनि मुलुकको बेथिति राजनीतिको छायाँमा पारेका छन्।

एनआरएन अर्थात गैह आवासीय नेपाली संघको  नेपालीको एउटा छाता संगठन विश्वभर देखिए पनि यसले पनि सबैलाई समेटन र सम्वोधन गर्न सकेको छैन। प्रवासमा बिश्वासिलो साझेदार साबित भए पनि यसमा पनि राजनीतिक धार र समूहले कब्जा गर्ने परम्पराको सुरूआत भइसकेको छ।

यस्तै यस्तै रापमा अस्ट्रेलियाको नेपाली समाज पनि अछुतो भने देखिएको छैन। नेपाली राजनीतिक दल र संघ संगठनहरुको नक्कल गर्दै अस्ट्रेलियामा मात्र करिब ५ दर्जन नेपाली संस्था दर्ता भैसकेका छन्।

अस्ट्रेलियाको सिड्नीमा प्रवासी नेपाली मन्च (एमाले) जन प्रगतिशिल मन्च, अस्ट्रेलिया (माओवादी)जन सम्पर्क समिति (नेपाली कांग्रेस) नेपाल तराई संघ (मधेशी), भर्खरै खुलेको नेपाल समाजवादी समाज, अस्ट्रेलिया, नेपाल आदिवासी जनजाती महासंघ–(जनजाती) गोर्खा नेप्लीज समाज, नेपाल अस्ट्रेलिया प्रजातान्त्रिक मन्च, नेप्लीज अस्ट्रेलियन संघलगायतका कयौं संगठनहरु सक्रिय छन्।

यती मात्र होइन, भुगोलका आधारमा खोलिएका झापाली समाज, बाग्लुङ समाज, तनहुँ समाज, रूपन्देही समाज, कास्की समाज, गैडाकोट समाज, चितवन समाजलगायतका समाजहरुले पनि हामीलाई कता कता बिभक्त पारेको हो की भन्ने भान हुन थालेको छ।

हुन त यस्ता संघ संस्थाले आ आफ्ना क्षेत्र र समाजको विकास र बिस्तारमा सहयोग नपुर्‍याएको पनि होइनन्।  मुलुकको कला संस्कृति र भुगोल चिनाउने सवालमा यस्ता संस्था उपयोगी प्रमाणित हुँदै आए पनि राष्ट्र र राष्ट्रियताको सवालमा नेपालीलाई चिनाउन साझा संस्थाको अभाव भने नेपालीले महसुस गर्न थालेका छन्।

त्यती मात्र होइन अचेल अस्ट्रेलियामा खुलेका बग्रेल्ती संघ संगठनहरुले बिभिन्न सहयोग जुटाउने नाममा हप्तै पिच्छे सांगीतिक मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्ने गर्छन्। यस्ता संघ संगठनले कलाकार त ल्याउँछन् नै तर कार्यक्रमपछि त्यसको हिसाब किताब भने सर्वाजनिक गर्ने गरेको पाइदैन ।

प्रवासमा नराम्रो प्रवृत्तिको नक्कल गर्ने परम्परा बढेको चिन्तित देखिन्छन् सीड्नीमा कानुन ब्यवसायी खिलेन्द्र तिम्सिना। ‘खोइ कसले बोल्ने, सात समुन्द्र पारी आएर पनि राजनीति गर्नेहरूकै बोलवाला छ, राजनीतिले समाजलाई नराम्ररी सताएको छ। हामीले प्रवासमा आएर नयाँ शिप, प्रविधि र काम सिक्न भन्दा नेपालकै गलत संस्कार भित्र्याउने होडबाजीमा लागेका छौ,’ तिम्सिनाले सेतोपाटीसँग भने।

प्रवासमा हामी जुन भेग र जस्तो संस्कारवाट आए पनि हामी पहिलो नेपाली हौ र हाम्रो पहिलो पहिचान नेपाली हुनुपर्छ। यहाँ त कांग्रेसी, एमाले र माओवादी, झापाली र पाल्पाली भनेर चिनिन होडबाजी लागेका छ। सात समुन्द्र पार आएर राम्रो कुराको नक्कल गर्न सक्नु पथ्र्यो तर त्यसो हुन सकेको नसकेको गुनासो तिम्सीनाले सेतोपाटीसँग गरे।

राजनीतीक र जातीय अनि क्षेत्रिय रुपमा च्याउँ झै संस्था उम्रिन थाल्न हाम्रो पहिचानको लागि उचित नभएको उनको तर्क छ।

‘हुन पनि हो, शुभ लाभको खेलमा लागेकाहरूका लागि संघ संगठन कमाइ खाने भाडो र चिनिने माध्यम पनि नबनेको होइन, समाजमा चिनिने र धन्धामा गनिने भएपछि पनि प्रवासमा धमाधम संघ संगठनहरु खुल्न थालेका छन्’ उनले भने।

यस्तै पुराना पत्रकार भरतराज पौडेलले बिभिन्न नाम जोडेर खोलिएका संघ संस्थाप्रति तिखो टिप्पणी गर्दै भन्छन्, ‘नेपालमा आफ्नो पहिचान बनाउन नसक्ने र चर्चामा आउन चाहनेका लागि प्रवास अहिले गतिलो फोरम बनेको छ। संघ संस्था समाजसेवा र मुलुकको पहिचान भन्दा पर गएर ग्ल्यामरको रुपमा भित्रिएको छ प्रवासमा,’ उनले भने।

स्वच्छ पारदर्शि ढंगले संस्थाको विकास भए मात्र देश र नेपालीको हित हुने पौडेलको ठहर छ।

आस्था र विचारका आधारमा खोलिएका संघ संस्थाले समुदाय, नातागोता र साथी भाइबीच आपसी सम्वन्धमा समेत असर पारेको भरतले बताए। मुलुकको राजनीति जति कान्ला र पाटामा बिभक्त भए पनि प्रवासमा पुगेपछि हाम्रो पहिलो थर नेपाली हो। प्रवास बसाइको पहिलो पाटो र थरका रुपमा हामीलाई सबैले नेपाली भनेर चिन्ने गर्छन् ,न त बाहुन, क्षेत्री, नेवार, लिम्बु वा पहाडी, मेधसी अथावा चुच्चे र थेप्चे।

हामी नेपाली, हाम्रो नेपाल कति मिठो शब्द, रचना अनि शारांश।  नेपालको झन्डा बोक्ने र सीमा भित्र समेटिनेको लागि यो भन्दा मिठो शब्द के हुन सक्ला?

प्रतिकृया दिनुहोस