बचाउनेहरूको विचार गरौं

  • Get News Alerts

यो लेख नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, भुकम्पमा दिलोज्यान दिएर खटेका अन्य उद्धारकर्ताहरू र भुकम्पमा सोझै नपरेका तर आफन्तहरु भुकम्पमा परेकाहरुको बारेमा सोचेर लेखिएको हो। हामीले प्राकृतिक विपत्ती पश्चात पीडितहरुमा उत्पन्न हुन सक्ने विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरूबारे नियमित रूपमा छापाहरूमा पढ्दै आएका छौं।

यस लेखमा खासै चर्चा नगरिएको उद्धारकर्ता र पीडितहरुसंगै बसोबास गर्ने र हेरविचार गर्ने व्यक्तिहरूमा अल्पकालिन देखि दीर्घकालिन कस्ता खाले मनोवैज्ञानिक असरहरू उत्पन्न हुन सक्छन् भन्नेबारे चर्चा गरिएको छ।

यस विषयको चर्चाका लागि म आफ्नो क्लिनिकमा नियमित रुपले उपचार गराइरहेका दुई व्यक्तिहरूको उदाहरण दिन चाहन्छु। यो उदाहरण ति व्यक्तिहरूको अनुमति पश्चात मात्र यस लेखमा प्रस्तुत गरिएको हो।

दुबै व्यक्तिहरु सन् २००९ मा अस्ट्रेलियाको भिक्टोरियाको उत्तरपूर्व पहाडी भागमा लागेको भीषण आगलागीसंग सम्बन्धित छन्। मानसिक भावना, वेदना र पीडाहरु संसारमा जहा का मानिसमा पनि उस्तै हुन्।  प्राकृतिक प्रकोपपछिको मानवीय पीडा जुन देश या समुदायमा पनि उस्तै हो। एक ठाउँ को अनुभवले अर्को ठाउं का मानिसहरुलाई शिक्षा दिन सक्छ।

पहिलो व्यक्ति, पचास वर्षीय पुरुष– युनिभर्सिटीका एक कर्मचारी, जो आफैं पनि पीएचडी गर्दै थिए। उनी आफू आगलागिमा परेका थिएनन् तर आगलागि भएको क्षेत्रमा बसोबास गर्ने आफना सासु–ससुरा खोज्दै सोही रात घटनास्थल पुगेका थिए। सासु–ससुराको कुनै अत्तोपत्तो थिएन। फोन गरेको– स्वीच्ड अफ भन्ने सूचना दियो। उक्त स्थानमा शरीर जलेका अनौठा गन्ध आइरहेको थियो। उनी पुग्दा चकमन्न राती थियो– टर्चबाट धेरै कुरा देख्न सकेनन् तर जति देखे, केही बाँकी नभएको प्रष्ट थियो।

सासु–ससुरा जीवित छन् कि छैनन् भन्ने थाहा पाउन अरु दुई दिन लाग्यो। उनीहरुलाई सुरक्षित स्थानमा लगिएको रहेछ। फोन छुटेकाले सम्पर्क गर्न नसकेका रहेछन्। त्यसको सात महिनासम्म सासु– ससुरा उनीहरु संग बसे। ससुराको मानसिक अवस्था नराम्रो थियो। झर्किने र आत्तिने गर्थे। सासु ससुरासंगै बसुन्जेल ऊ उनीहरुलाई ढाढस दिने र उनीहरूको नयाँ बासस्थानको व्यवस्था गर्नतिर लाग्यो। जब उनीहरु सरेर गए, उसले त्यसपछि आफू पूर्ण रुपमा थकित र रित्तिएको अनुभव ग¥यो। त्यसबेला झण्डै एक वर्ष अध्ययन गर्न सकेनन्। ‘दिमागले काम गर्दैनथियो’ उनले भने। ध्यान दिन सक्दैनथिए। मनमा नानाथरी कुरा खेल्थ्यो। एक वर्षपछि पार्ट टाइम अध्यापन गर्न लागे। तर पीएचडी जारी राख्न सकेनन्।

पहिले निकै तीक्ष्ण उनी, सामान्य बौद्धिक काम गर्दा पनि निकै मानसिक थकावट हुन्थ्यो। उनकी श्रीमतीले भनिन्, उहाँ पहिले निकै फुर्तिलो र प्रशन्न चित्त मान्छे, अहिले त आफ्नो छाया जस्तो मात्र हुनुहुन्छ। राम्रो निन्द्रा नपर्ने, खाना पनि नरुच्ने र जबर्जस्ती ठूस्नुपर्ने अनि आफूलाई घिसारेर हिडेको जस्तो अनुभव हुने गरेको उनले सुनाए। पहिला किन उपचार नगराएको भन्ने प्रश्नको जवाफमा उनले भने, ‘म त आगोलागिमा परेको थिइन नि, मैले कुन मुखले उपचार खोज्नु।’ अहिलेको मानसिक अवस्थाको कारण उनमा लाज र आफैले आफैलाई ठीक पार्न नसकेकोमा ग्लानी प्रष्ट देखिन्थ्यो।

थप जाचको क्रममा उनको समस्याको अर्को पाटो पनि भेटियो जुन पहिले उनले कसै संग चर्चा गरेका थिएनन्। उनी सकेसम्म आगलागीको क्रममा आफूले भोगेका घटनाहरुको बारेमा सम्झन चाहदैन थिए। माथिको कुरा वर्णन गर्दा पनि उनी पटक पटक रोए। गला थुप्रै पटक अवरुद्ध भयो। पटक पटक उनको स्मृतिमा आफू गएको डढेलो लागेको स्थानको दृष्य एक्कासी आइदिन्थ्यो। यो दृष्य यति स्पष्ट थियो कि ६ वर्ष पछि पनि हिजो भएको जस्तै लाग्थ्यो। आगलागि भएको ठाउं तिर त उनी जादै जादैनथे। र टिभीमा आगलागी मात्र होइन कुनै पनि प्राकृतिक विपत्ती परेको हेर्न सक्दैनथे। टीभी बन्द गर्थे या च्यानल परिवर्तन गरिदिन्थे। पार्टीमा जान छोडिदिए किनकि बार्बक्यु गर्दा मासु डढेको गन्धले उनलाई सोझै डढेलो लागेको स्मृतिमा पु¥याइदिन्थ्यो। तर माथि भनिएझै लाजले आफ्नो अप्ठ्यारो कसैलाई भन्दैनथे। यसरी समाजिक अवसरहरुमा सम्मिलित नहुदा उनले आफू श्रीमतीप्रति बोझ भएको ठान्न थाले। उनको ग्लानी झन् बढ्यो। झन्डै ६ वर्षको भित्री तड्पाइपछि बल्ल उनले आफ्नो अवस्थाबारे श्रीमतीलाई भने। श्रीमतीले गहभरी आसु पार्दै आफ्नो लोग्नेको अवस्थाबारे थप सूचना दिइन– जब उनका श्रीमान गला भारी महसुस गर्दै केहीबेर विश्राम लिन्थे।

 

दोस्रो व्यक्ति, ५८ वर्षीया महिला– भिक्टोरियाको आपत्कालिन सेवाकी एक कर्मचारी। २००९ को डढेलोको समयमा उनी ड्युटीमै थिइन्। उनको काम सो क्षेत्रमा कार्यरत चारवटा टोलिहरूको संयोजन गर्नुथियो। उनीले डढेलोले एकपछि अर्को गर्दै बस्तीहरु जलाएको आफ्नो कम्प्युटरको स्क्रीनमा हेर्दै आपत्कालिन सेवाका अन्य कर्मचारीहरूलाई सूचना सम्प्रेषण गर्थिन। कहा कति मानिस फसेका छन् या मरे, उनले पहिले आफू थाहा पाएर अनि सम्प्रेषण गर्थिन्। त्यो कोलाहलको अवस्थामा आगोलागीको लगत्तै उनले आफन्तहरूलाई मृतकहरुलाई राखिएको शबगृहमा लैजानु पथ्र्यो। यी केही दिनहरु उनका लागि यति कठिन भए अन्ततः काम गर्न नसक्ने ठानिन्। उनको अवस्था देखेर उनलाई हेडक्वार्टरमा प्रशासनिक काम गर्नेगरी सरुवा गरियो। विस्तारै उनको अवस्था सामान्य हुँदै  गयो। तर उनी आगोलागी सम्बन्धी कुराकानी र समाचारबाट टाढै बस्थिन्। उनको समस्या तब फेरि सुरु भयो जब उनलाई एउटा नयाँ  तालिमको लागि पठाइएको थियो–जहाँ तालिम सञ्चालकहरूले उनको अनुभवबाट अरुले लाभ प्राप्त गरुन् भन्ने हेतुले उनको अनुभव राख्न भने।

जब उनले आफ्नो २००९ को अनुभव सुनाउन थालिन, त्यसपछिदेखि उनको दिमागमा २००९ को स्मृति एकदमै ताजा भएर आयो। दिमागमा हरदम रोइरहेको र राती सपना पनि आगोलागिकै देख्न थालिन्। मन हरदम आत्तिने, काममा ध्यान दिन नसक्ने र क्रमिक रुपले थकावट पनि बढ्दै जान लाग्यो। कामै गर्न नसकेपछि उनी आफ्नो चिकित्सकको सल्लाह अनुरुप मानसिक रोग विशेषज्ञसंग सल्लाह लिने निर्णयमा पुगिन्। यति बीचमा भने उनी रक्सीको सहारामा पुगिसकेकी थिइन्।

माथिका दुबै व्यक्तिहरू आगोलागिको समयमा शारीरिक भन्दा पनि भावनात्मक रुपले बढी संलग्न थिए। सोझो हिसावले सोच्दा उनीहरुलाई कुनैपनि मनोवैज्ञानिक असर नपर्नुपर्ने हो भनेर सोचिएला। उनीहरुले पनि त्यस्तै नै सोचे। सल्लाह लिनु त परै जाओस, आफूलाई परेको मनोवैज्ञानिक समस्याको बारेमा कसैलाई बताउन पनि लाज माने। फलतः वर्षौसम्म भित्रभित्रै तड्पीरहे। दुबैले बेलाबेलामा मर्नुप¥यो कि क्या हो भनेर पनि सोचे। बेलाबेलामा अब म यत्तिकै खेर गएर मर्छु होला भन्ने पनि ठाने।

माथि उल्लेखित दुबै व्यक्तिहरूको समस्या अरु मानिसहरूलाई परेको विपत्तीको सामिप्यको कारणले उत्पन्न भएको हो। उनीहरु आफू सोझै विपत्तीका शिकार थिएनन्। प्राकृतिक प्रकोप पश्चात पीडीतहरूको उद्धारकालागि परिचालित हुने नेपालका सेना तथा प्रहरीका जवानहरूले झन कस्ता–कस्ता दृष्यहरु देख्नु या अवस्थाहरु भोग्नु प¥यो होला। मानविय विनाशले ल्याएको मृतक तथा घाइतेहरूको आफन्तको हृदयविदारक भावनात्मक अवस्थामा आफ्नो भावना दबाउँदै  कसरी ढाढस दिनुप¥यो होला र त्यसपश्चात एक पछि अर्को उद्धारतर्फ लाग्नु प¥यो होला। सबैले नायकको रुपमा चित्रित गरेका उनीहरूलाई आफूलाई मनोवैज्ञानिक रुपले बलियो देखिनुपर्ने एक नदेखिदो दबाब पर्न जान्छ। उद्धारकर्ताहरूमा धेरैलाई कुनै पनि मानसिक समस्या नदेखिएला– तर कतिपयलाई माथि वर्णन गरिएजस्तो मनोवैज्ञानिक समस्याहरु उत्पन्न हुन सक्छन्। पहिलो उदाहरणमा समस्या प्राकृतिक प्रकोप लगत्तै सुरु भएको छ भने दोस्रो उदाहरणमा समस्या ६ वर्षसम्म सुषुप्तावस्थामा रहेर त्यसपछि सो स्मृति ताजा पार्ने एउटा सामान्य झै लग्ने घटनाबाट पुनर्जागृत भएको छ। यस्ता मानसिक अवस्थाहरु विभिन्न प्रकारका हुन सक्छन्।

डिप्रेसन, आत्तिने रोगहरु र पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर बढी मात्रामा देखिन्छन्। कतिपय व्यक्तिहरु रक्सीको कुलतमा पनि पर्दछन्।  पीडित जस्तै उद्धारकर्ता पनि आत्महत्याको दर बढि पाइएको छ। शुरुमा धेरैमा देखिने मन आत्तिने, रिंगटा लाग्ने, निंद्रा नलाग्ने, दिमागमा घाइते या मृत्तकका अनुहार र शरिरको चित्र आइरहने केहि दिन या हप्ताको लागि हुनु सामान्य हो। तर लामो समयसम्म यस्तो भइरहेमा बिशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ। त्यस्तै शुरुमा मानसिक अवस्था सामान्य भैसकेपछि फेरि बल्झेर आएमा पनि बिशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ।

महाभूकम्प जस्ता प्राकृतिक बिपत पछिको पुनस्र्थापनामा पीडितको मानसिक अवस्थाको सहि पहिचान र उपचार धेरै महत्वपूर्ण पक्ष हो। तर हामीले उद्धारकर्ता पनि जोखिममा भएको कुरा बुझ्नु पर्छ।  यदी तपाई आफै या आफन्त या साथी उद्धारकर्ता भएको अवस्थामा आफ्नो या साथीको मानसिक अवस्थामा ध्यान दिनु होला। माथि पनि भनियो मानसिक भावना, वेदना र पीडाहरु संसारमा जहा बसेपनि उस्तै हुन्। यो विकसित देशका सुखमा मात्तिएका पीडा खप्न नसक्नेहरूको मात्र समस्या होइन। अन्य धेरै समस्याहरू संग जुझिरहेको गरीब देशमा मानसिक समस्यालाई कम महत्वपूर्ण ठान्नेहरु पनि धेरै छन्। तर मनको पीडाले कति  गाह्रो हुन्छ त्यो त पीडा हुनेलाई नै थाहा हुन्छ।

यस्ता मनोवैज्ञानिक समस्याहरुको उपचार छन्। समस्या पर्ने सबैलाई भावनात्मक साथको त जरुरत त हुन्छ नै, धेरैलाई काउन्सिलिंग या परामर्शको जरुरत पर्छ त केहिलाई औषधि कै आवश्यकता पर्छ।  यस लेखको उद्देश्यचाही उद्धारकर्ताहरूलाई पर्न सक्ने अल्पकालिन देखि दीर्घकालिन मनोवैज्ञानिक समस्याको बारेमा जानकारी दिनु र लाज एवं ग्लानीबाट माथि उठेर सहायता लिन प्रेरित गर्नु हो।  

प्रतिकृया दिनुहोस