क्यानाडामा नेपाली नयाँ बर्षको उपलक्ष्यमा भव्य सांगितिक कार्यक्रम

  • Get News Alerts

नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा क्यानाडाको एडमन्टन स्थित वी एण्ड द वल्र्ड सेन्टरको आयोजनामा अप्रिल ८ मा सांगितिक कार्यक्रम सम्पन्न भयो। संस्थाले नेपाली भाषा, कला, संस्कृतिलाई सम्बर्धन र संरक्षणको लागि विगत ५ वर्ष देखि संचालन गरिरहेको गुरुकूल पाठशालाको सहयोगार्थ र नेपाली भाषीहरु बीच शुभकामना आदान प्रदानकालागि उक्त कार्यक्रम आयोजना गरेको थियो।

गुरुकूल पाठशालाका विद्यार्थीहरुले पियानोको धुनमा नेपाली राष्ट्रियगान गाएर कार्यक्रमको शुरुवात गरेका थिए। संस्थाका कार्यवाहक अध्यक्ष सर्जु रञ्जितले उपस्थित सबैलाई स्वागत गर्दै नयां वर्ष २०७४ को शुभकामना व्यक्त गर्नुभएको थियो। गुरुकूल पाठशालाकी शिक्षिका कादम्बिनी न्यौपानेको नृत्य निर्देशनमा विद्यार्थीहरुले आँखैमा राख्छु मेरो देशमारुनी नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई विशेष र भव्य बनाउन नेपालदेखि आएका लोकगायक बद्री पंगेनीले आफ्ना चर्चित लोकगीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको विषेश आकर्षणको रुपमा स्थानिय कलाकारहरु यशु लम्साल र मोनिका लामिछानेले नृत्य प्रस्तुत गरेका थिए भने राजु गड्तौलाद्वारा संचालित तेक्वान्दो डोजोका प्रशिक्षार्थीहरुले कला प्रर्दशनी गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि क्यानाडाका भौतिक पूर्वाधार तथा समुदाय मन्त्री अमरजीत सोहीले विदेशमा बसेर पनि आफ्नो भाषाको सम्बर्धन र संरक्षणका लागि अहम् भूमिका खेलेकोमा वी एण्ड द वल्र्ड सेन्टरलाई धेरै धेरै बधाई र सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्षको शुभकामना सन्देश दिएका थिए। कार्यक्रममा अल्वर्टा प्रान्तिय सरकारका तर्फबाट विधायक रोड लोयलाले शुभकामना सन्देश दिदै भने ‘नेपालीहरुले आफ्नो कला, संस्कृति र परम्परालाई अनुसरण गर्दै पुस्तान्तरणको बाटोमा हिडेको देख्दा असाध्यै खुशी लागेको छ।’

त्यस्तै एडमन्टन नगर पार्षद मोहीन्दर वाङ्गा र स्थानीय नेपालीहरुद्वारा संचालित संस्था नेपाली लिट्रेरी क्लब अफ अल्वर्टाका अध्यक्ष डा. नारायण पोखरेल, नेपाली क्यानेडीयन सोसाइटी अफ एड्मन्टनका पूर्व अध्यक्षद्वय डा. आई बहादुर गुरुङ्ग, र रामेश्वर अधिकारी, नेवा कल्चरल सोसाइटी अफ अल्वर्टा अध्यक्ष डा. हेमन्त जोशी, हिमालय रक्कि स्पोर्टस क्लबका अध्यक्ष डा. हुकुम आचार्य, एक्सन फर हेल्थी कम्युनिटीका प्रतिनिधी सुरज खतिवडा, नेप्लीज क्यानेडीयन कल्चरल फोरमका अध्यक्ष मधु सुदन पान्डे, कम्पास सेन्टर फर सेक्सुअल वेलनेसका प्रतिनिधी डा. अब्योला बान्कोले अदेकुन्ले, नेप्लीज स्कलर्स एसोशिएसनका सुदीप सुवेदी लगायतका प्रतिनिधिहरुले कार्यक्रममा शुभकामना सन्देश दिनु भएको थियो।

वी एण्ड द वल्र्ड सेन्टरको पहलमा नेपालमा गएको विनाशकारी भुकम्पको बेलामा रु. ४२ लाख भन्दा माथिको सहयोग संकलन गरि नेपालको मकवानपुरमा १९ वटा घर र गोरखा जिल्लामा ७ वटा भन्दा बढी विद्यालय पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्थानिय स्वयम् सेवक मार्टिन फ्लिन्ट, शिला फ्लिन्ट र कासिम कासिमलाई विषेश धन्यवाद सहित कदर–पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा लोगगायक बद्री पंगेनीलाई सेन्टरका तर्फबाट कदर पत्र प्रदान गरिएको थियो। सेन्टरले हिमालयन पेट्रोएटस मार्फत नेपाली बालबालिकाहरुलाई विगत २ वर्ष देखि फूटबल सिकाउदै आएका स्वयम्सेवी प्रशिक्षण तथा व्यवस्थापन गर्ने शिशिर भुषाल, गौरव रेग्मी, दीपक अधिकारी र रिम्सा दाहाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रमको उद्घोषण मनिता थापा र संयोजन संस्थाका सदस्यता तथा कोष विकाश निर्देशक ज्ञानबीर थापाले गरेका थिए।  

  

   

प्रतिकृया दिनुहोस