लिभरपूलमा नेपाल अध्ययन दिवस सम्पन्न

  • Get News Alerts

ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलको आयोजनामा बेलायतको लिभरपुल जोन मोर यूनिभर्सिटीमा नेपाल अध्यायन बृहत नेपाल दिवस सम्पन्न भएको छ।

बेलायत, नर्वे लगायतका प्रसिद्द विश्वबिद्यालयका नेपाली तथा विदेशी मुलका  प्राध्यापक तथा प्राज्ञिक व्यक्तित्वहरुले नेपाल सम्बन्धी खोजमुलक प्रस्तुती दिईरहँदा कार्यक्रमस्थल नेपालमय भएको थियो।

गत अप्रिल १४-१५ मा आयोजित नेपाल अध्ययनको उक्त कार्यशाला  दिवसमा  नेपाल सम्बन्धी  बिबिध बिषयमा २३ वटा शोधपत्र प्रस्तूत गरिएको थियो।

उक्त अवसरमा युनिभर्सिटी कलेज लन्डनका डा. तेजेन्द्र फेरालीले नेपालको जनयुद्व र शैक्षिक नेतृत्वको दुर्दशा, म्यानचेस्टर युनिभर्सिटीका डा. दामोदर खनाल नेपालका शिक्षण संस्थामा पिछडिएका बालबालिका माथिको असर र डा. विभा सिम्खडा लगायतले नेपालमा मानसिक स्वास्थ्य र नर्सिङ शिक्षाको बारेमा सोधपत्र प्रस्तुत गरेका थिए।

लन्डन स्कुल अफ ईकोनोमिक्सकी पुनम यादवले नेपालमा महिला हिंसा, लिभरपुल जोन मोर युनिभर्सिटीका विदेशी प्राध्यापकले नेपालमा नेपालमा जनयुद्व पछिको सामाजिक परिवर्तन लगायतका विषयमा शोधपत्र प्रस्तूत गरेका थिए भने ग्लास्गो युनिभर्सिटीकी कुमुद राणाले तेस्रो लिंगी पहिचान अन्तर्गत आफ्नो प्रस्तूती दिएकी थिईन ।

कार्यक्रमको अर्को सत्रमा  अक्स्फोर्ड विश्वविद्यालयका द्वय डा. कृष्ण अधिकारी र प्रो. डेविड गेल्नरले दक्षिण एसियाली परिवेशमा समाजशास्त्री वोर्डूको डिस्टिङक्शनको प्रयोग; र क्म्प्लुटेंसे दे म्याड्रिड विश्वविद्यालय, स्पेनकी आन्द्रेय दे ला रुविया गोमेज-मोरानले सन् १९५० को दशकमा आधुनिक नेपाली पहिचानमा पश्चिमी संस्कृतिको प्रभावबारेमा शोधपत्र प्रस्तुत गरेका थिए।

डा. कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न दोस्रोदिनको प्रस्तुतीमा लिभरपुल युनिभर्सिटीका डा. हेमराज शर्मा , प्रोफेशर पदम सिम्खडा, सी एन एस युकेका डा. चन्द्र लक्सम्बा, जोन मोर युनिभर्सिटीका एक नारायण पौडेल, ए बर्डीन युनिभर्सिटीका यज्ञ प्रसाद सुबेदी , वेस्ट अफ इंगल्याण्ड युनिभर्सिटीका डा. पुष्पराज पन्त , ब्रिस्टल युनिभर्सिटीकी जुली मिटन लगायतले नेपालका बिबिध बिषयमा शोधपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी शोधपत्र प्रस्तुतीका अन्य सहभागीमा रोयल बोटानिकल सोसाईटीका डा. कोलिन ए पन्ड्री, ओस्लो युनिभर्सिटी नर्वेका मिकेल भिन्डेग , स्वांजी युनिभर्सिटीका रबिन्द्र न्यूपाने,सोलिडारिटी इन्टरन्याशनलका कृष्ण उपाध्याय , गेसोका चन्द्र बहादुर गुरुङ लगायत रहेका थिए ।

कार्यक्रमको अन्तिम सत्रमा नेपालको भूकम्प र विनाशपछिका प्रयासहरूको बारेमा सावर्जनिक छलफल चलाइएको थियो । कार्यक्रमको अन्तिम सत्रमा  प्रो. गेल्नरको अध्यक्षतामा डा . कृष्ण अधिकारी र डा . पार्करले आफ्नो प्रस्तुती दिएका थिए । कार्यर्क्रममा जोन मोर युनिभर्सिटीका भक्त गुरुङ लगायतले युकेमा नेपालीहरुको अवस्था लगायतका बिषयमा आफ्नो प्रस्तुती दिएका थिए ।  कार्यक्रममा भूकम्पको असरमा केन्द्रित वृत्तचित्रहरु र पोस्टर हरु  प्रस्तुत गरिएको थियो ।

बिगत १४ बर्ष देखी हरेक बर्ष आयोजना हुदै आएको नेपाल अध्ययन दिवस नेपाल सम्बन्धी रुची हुनेहरुको जमघटमा बिभिन्न अनुसन्धानको प्रस्तुती र प्राज्ञिक बहसको युरोप क्षेत्रकै एक मात्र प्ल्याटफर्म रहेको जनाकारी काउन्सिलका महासचिव डा. कृष्ण अधिकारीले दिएका छन ।

काउन्सिलले नेपाल अध्ययनका  अलावा नेपालमा आयोजना हुने समाज शास्त्रीय सम्मेलनको सहआयोजकको भूमिका निभाउदै आएको छ । नेपालको भूकम्प पछि पनि काउन्सिलले अन्तरार्ष्ट्रिय रुपमा सहयोग जुटाउन पहल गरेको थियो भने हालैको नेपालको नाकावन्दीमा सहजता ल्याउन अन्तरार्ष्ट्रिय दवाव सृजना गर्न आफ्नो सकृयता बढाएको थियो ।

प्रतिकृया दिनुहोस