‘अनावश्यक प्रशासनिक झमेलानै नेपालमा लगानीको बाधक’

  • Get News Alerts

लगानी सरलीकरणमा सरकार क्रियाशील छः मन्त्री  जोशी

नेपालमा लगानीबारे लन्डनमा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा लगानीकर्ताहरुले नेपालको अनावश्यक प्रशासनिक झमेला नेपालमा लगानीका लागि बाधक रहेको बताएका छन्। लण्डन दूतावासमा जारी सप्ताहव्यापी दुई सय वर्षगाँठ समारोहको छैठौं दिन आइतबार गैरआवासीय नेपाली र विदेशी लगानीका लागि नेपालमा रहेका अवसर र चुनौतिबारे भएको बृहत छलफल कार्यक्रममा लगानीकर्ता हरुले यस्तो धारणा व्यक्त गरेका हुन्   ।

कार्यक्रममा उद्योग मन्त्री नविन्द्रराज जोशीले एन आर एन लगायतका लगानीकर्ता हरुको चासोलाई ध्यानमा राखेर नेपाल  सरकार समग्र लगानी प्रकृया सरलीकरणमा क्रियाशील रहेको बताएका थिए।

मन्त्री जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले नेपालमा विदेशी लगानीसंग सम्बन्धित बहुआयामिक पक्षहरु समेटेको कार्यपत्र प्रस्तुत गरे ।

काठमाडौंस्थित द ब्रिटिश कलेजका कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष कंडेलले नेपालमा व्यवसाय सञ्चालन गर्दा सामना गर्नुपर्ने अनावश्यक प्रशासनिक झमेला, झञ्झटिलो प्रक्रिया तथा नीति नियमहरुबारे मन्त्री जोशीको ध्यानाकर्षण गरे ।

विश्वका धेरै समृद्ध देशहरुले विदेशी लगानीलाई आकर्षित गर्न लगानीमैत्री नीति नियमहरु अभ्यास गरेका छन्, कंडेलले भने, पहिला त हाम्रो नीति नै परिमार्जन हुनु आवश्यक छ । लगानीकर्तालाई नै निरुत्साहित गर्ने अनावश्यक झमेलाहरु नहटाएसम्म हामीले अपेक्षा गरेअनुसारकै लगानी भित्रिन अफ्ठेरो छ ।

बेलायती सरकारको सहयोगमा निर्मित नेपालकै पहिलो हाइड्रो प्रोजेक्ट, बेलायती लगानीका स्टान्डर्ड चार्टर बैंक, युनिलिभर जस्ता कम्पनीहरुले नेपालमा पाएको सफलताको उदाहरण प्रस्तुत गर्दै कंडेलले नेपालमा प्रशस्तै सम्भावना रहेको र नीति नियमका केहि झमेलाहरु सच्चाइएको खण्डमा यसबाट देशले ठूलो लाभ लिन सक्ने विश्वास पनि व्यक्त गरे ।

एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुंगले नेपालमा गैरआवासीय नेपालीको लगानीबारे एक कार्यपत्र प्रस्तुत गरे । एनआरएनहरु नेपालमा लगानी गर्न निकै ईच्छुक रहेको तर लगानीको सुरक्षाबारे अझै पनि विश्वस्त हुन नसकेको उनले बताए ।

एनआरएन युरोप क्षेत्रीय संयोजक कुल आचार्यले एनआरएनहरुको लगानीलाई प्रोत्साहित गर्न नेपाल सरकारले थप कसरत गर्नुपर्ने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथी तथा उद्योगमन्त्री जोशीले सरकारले एनआरएन तथा विदेशी लगानीलाई उच्च प्राथमिकतामा राखेर सोहिअनुसार नीति नियम तथा प्रक्रियाहरु सुधार गर्दै गइरहेको बताए ।

सरकारको मुख्य लक्ष्य नै कसरी विदेशी लगानी बढाउने र प्रक्रिया सहज बनाउने भन्ने रहेको मन्त्री जोशीले बताए ।

आर्थिक समृद्धिको मुद्धामा नेपालको सरकार तथा सबै राजनीतिक दल एकै ठाउं उभिएर प्रतिबद्धता गरेको स्मरण गर्दै उनले यसबाट लगानीको वातावरणमा ठूलो सहयोग पुगेको धारणा राखे ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले पनि विदेशी लगानीलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र नेपालमा लगानीका सहज तथा सुरक्षित वातावरण रहेको बताए ।

कार्यक्रममा नेपालमा लगानी गरिसकेका र गर्न ईच्छुक बेलायती तथा नेपाली लगानीकर्ता, विभिन्न एअरलाईन्सका प्रतिनिधी, विदेशी कुटनीतिक नियोगका प्रतिनिधी लगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस