म्यानचेस्टर आतंकवादी हमलामा २२ को  मृत्यु, दर्जनौ घाईते, नेपाली सुरक्षित

  • Get News Alerts

बेलायतको म्यानचेस्टरमा गए राति भएको आतंकवादी हमालामा २२ जनाको मृत्यु भएको छ। अमेरिकन गायक एरियाना ग्राण्डको सांगीतिक प्रस्तुती सकिएलगत्तै कन्सर्टबाट बाहिरिने क्रममा भएको आत्मघाति हमलामा दर्जनौ घाईते भएका छन्।

हजारौको संख्यामा कन्सर्ट हेर्न पुगेका विशेष गरेर युवा पुस्ताका दर्शकमाथि भएको उक्त हमलापछि बेलायतमा सुरक्षा सतर्कतालाई उच्च बनाइएको छ। म्यानचेस्टरको भिक्टोरिया रेल स्टेशन नजिक भएको उक्त घटनामा ५९ जना घाईतेहरुको शहरका बिभिन्न अस्पतालमा  उपचार भईरहेको बिबिसीले जनाएको छ।

बेलायतमा भएको यो आतंकवादी घटनाको अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प, युरोपियन यूनियन लगायत विश्व समुदायबाट कडा भ्रत्सना भएको छ ।

कतिपय केटाकेटीकोसमेत मृत्यु हुनेगरी भएको यो घटनालाई बेलायती प्रधानमन्त्री टेरेसा मेले अत्यन्तै क्रुर र अमानवीय भएको बताएकी छन्।

घटना पछि बेलायतका प्रमुख पार्टीहरुले आसन्न आम निर्वाचनको चुनावी अभियान स्थगित गरेका छन्।

यसैबीच एकल आत्मघाती संदिग्ध मुस्लिम आतंकवादी हमलाकारीको बेलायतका सुरक्षा अधिकारीहरुले आक्रमणकारीको पहिचान आफूसँग भएको हुनसक्ने बताएका छन्।

कन्सर्ट गायिका एरियाना ग्राण्डले हिजोको घटनाले आफू क्षतविक्षत बनेको बताएकी छन्।

नेपालीहरु सुरक्षित

म्यानचेस्टर हमलामा कुनै नेपालीहरू  नपरेको  बेलायतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका प्रवक्ता शरद राज आरणले दूतावास  स्थानीय नेपालीहरूको सम्पर्कमा  समेत रहेको र बेलायती अथोरिटीबाट समेत नेपालीहरु प्रभावित नबनेको जानकारी प्राप्त भएको बताए।

यसगरी सेतोपाटीसँगको सम्पर्कमा म्यानचेस्टरका स्थानीय ब्यावसायी तथा समाजसेवी चन्द्र केसीका अनुसार शहरमा सुरक्षा व्यवस्था निकै कडा तुल्याईएको छ। ‘अहिलेसम्म कुनै नेपाली घटनामा परेको जानकारी छैन। तर, म्यानचेस्टर सिटीमा अहिले अत्यावश्यक बाहेकको यात्रा तय नगर्दा राम्रो हुन्छ,’ केसीले भने।

प्रतिकृया दिनुहोस