के रहेछ नयाँ शक्तिमा नयाँ?

  • Get News Alerts

नेपाली भूखण्डको करिब चार हजार वर्षभन्दा लामो इतिहाँस पल्टाएर हेर्ने हो भने विभिन्न काल खण्डमा विभिन्न बंश र ब्यबस्था अनेक उतारचडावहरु झेल्दै, धेरै चोटी एकीकृत र विभाजित भए।

वर्तमान नेपाल लगभग अठारौँ सताब्दीको मध्य देखि सुगौली-सन्धी सम्म पुगेर भौगोलिक एकीकरणको प्रक्रिया टुंगिएको थियो। त्यस समयअबधि भित्र नेपाल राज्यमा विभिन्न नयाँ कार्यका लागी विभिन्न नयाँ शक्ति कुनै न कुनै नाम र एजेन्डा लिएर जन्म भए।

भिन्न-भिन्न समयमा प्रजापरिषद, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओबादी, मधेसी,आदिबासी, जनजाति, थारु, महिला, दलित, मुस्लिम सबै नयाँ एजेन्डा लिएर तत्कालिन राजनीतिमा नयाँ शक्तिको रुपमा निर्माण भएका थिए र उनीहरुले तत्कालिन नेपाली राजनीतिमा गरेको योगदानको हामीले कदर गर्नै पर्छ। त्यो अवस्थामा जे-जस्ता राजनीतिक समूह र दलहरु जन्मिए ती सबैले नेपालको राजनीतिक इतिहाँसलाई अगाडीl बढाउन योगदान गरे।

विभिन्न शक्तिले नेपालको राजनीतिलाई कठिनतम गोरेटाबाट धकेल्दै यहाँसम्म पुर्याए। तर त्यसो भन्दैमा हामिले संधै भरि तिनै इतिहाँस र बीर गोर्खाली गाथा गाएर, उनीहरुकै ब्याज खाएर बस्नु हाम्रो मुर्खता हो। समय परिवर्तनशील छ र हामी मानवहरु पनि समयको माग संगै परिवर्तन हुन सक्नुपर्छ।  नत्र डार्विनले भनेको जस्तै हामी र हाम्रो सभ्यता पनि लोप हुनसक्छ।

अब नेपालको राजनीति आधुनिक युगमा प्रवेश गरिसकेको छ। ‘नेपालको संविधान (२०७२)’ मा लोकतन्त्र, गणतन्त्र, संघियता, सामाजिक न्याय, समाबेशिता, समानुपातिकता जस्ता आधुनिक नेपालका मागहरु नीतिगत रुपमा पुरा भएको पनि एक वर्ष पुरा भैसकेको छ र यो हाम्रोलागि गौरवको विषय हो।

नयाँ संविधानले नेपालका अधिकांश गतिरोधहरु अन्त्य गर्न सहयोग गर्छ। संविधान भनेको कुनै पत्थरमा लेखिएको सिलालेख होइन र यसलाई समय र जनताको माग अनुसार समय समयमा परिमार्जन र संशोधन गर्न सकिन्छ। हामीले लामो संक्रमणकाल पार गर्दै एउटा ठूलो उपलब्धि हात त पारेका छौँ तर यो नै हाम्रो अन्तिम लक्ष्य र उपलब्धि भने होइन। हामीले एउटा रोडम्याप मात्र तयार पारेका छौँ र यसको कार्यान्वयन गर्नु हाम्रो सामु अबको ठूलो चुनौती हो।

अब कुरा गरौँ ‘नेपालको संविधान २०७२"लाई पूर्णता दिन अहम भूमिका खेलेका डा. बाबुराम र उनको नयाँ भिजन सहितको नयाँ शक्तिको। दस वर्षे जनयुद्व र त्यसपछिको लामो संक्रमणकाल माओवादी पार्टी भित्र रहेर नेपालको प्रधानमन्त्री जस्तो गरिमामय पद समेत सम्हालिसकेका उनले अचानक संविधान घोषणा लगत्तै पुरानो पार्टी र सिद्धान्त त्याग गरेर एउटा नयाँ शक्तिको घोषणा गर्नु हेर्दा नाटकीय लाग्ला। तर निकै लामो गृहकार्य र चिन्तन बिना त्यो सम्भव थिएन।

उनले आफ्नो विभिन्न बक्तब्य र नयाँ शक्ति नेपालको आधार तत्वमा पनि भनेका छन्, ‘जब विगत र आगतबीच अन्तर विरोध हुन्छ, बिगतलाई बधाई दिँदै आगतलाई अंगाल्नु नै श्रेयकर छ।’ यसको मतलब पक्कै पनि उनी आफ्नो बिगतबाट जति सन्तुस्ट हुनुपर्ने थियो त्यति हुन सकेनन तर आफ्नो बिगत र आफूले गरेका कामहरु प्रति पूर्ण असन्तुस्ट पनि छैनन्।

यो कुरा उनले संविधान घोषणा लगत्तै दिएको अभिव्यक्ति ‘संविधान आधा भरि र आधा खाली गिलास जस्तै भएको छ’ भन्ने भनाइबाट पुष्टी हुन्छ।

नयाँ शक्ति नेपालको आधारतत्व र डा. बाबुरामका समय समयमा आउने अभिव्यक्तिबाट के निष्कर्षमा पुग्न सकिन्छ भने, संविधान बनाएर देश राजनीतिक शिखरमा त पुग्यो, तर देशका केही साथीहरु जो संगै यात्रामा हुनुहुन्थ्यो उहाँहरु बाटोमा नै छुट्नु भो, कोही घाइते हुनुभो, कोही नचाहेर नै हात उठाउनु भयो त कसैका खुट्टा तानिए।

त्यसैले ती साथीहरुलाई पनि सँगै माथि पुर्‍याउन र जनता र हजारौँ ज्ञात अज्ञात सहिदहरुले देखेका समृद्धिका सपनाहरु साकार पार्न फेरि शिखर बाट तल झरेर सबै सगँ काँधमा काँध मिलाएर अगाडि बढ्न खोज्दै छ नयाँ शक्ति नेपाल।

हुन त यसभन्दा अगाडि पनि धेरै नयाँ र पुराना पार्टीहरुले जनतालाई मिठा मिठा भाषण र घोषणा पत्रमा ठूला ठूला सपनाहरु देखाएर ‘मनको घीउ सँग तिलको लड्डु’ न खुवाएका भने होइनन्।

बाबुरामकै Grand Design मा बनेको माओवादी पार्टीले पनि जनतालाई धेरै ठूला-ठूला सपनाहरु नदेखाएको होइन। ती सपनाहरु कति पुरा भए कति भएनन् त्यो जनताले अवस्य नियालेका छन्। तर एउटा स्थापित पार्टी र मुखैमा आएको प्रधानमन्त्री पद त्यागेर बिल्कुलै नयाँ सोच र नयाँ भिजनका साथ उनी जनता माझ आएका छन् भने जनताले उनी र नयाँ शक्तिबाट के अपेक्षा राख्ने र उनलाई विश्वास गर्ने आधार के होला?

‘अबको निकास आर्थिक विकास’

‘सम्वृद्धि सम्भव छ हाम्रै पालामा’ जस्ता लोभलाग्दा नाराका साथ जनताहरुको माझ सार्वजनिक बहसका लागि खुल्ला गरिएको नयाँ शक्तिका आधारतत्व भित्र मैले भेटेका केही नयाँ र आशालाग्दा विषयहरू:

१. समानुपातिक/समावेशी/सहभागितामुलक लोकतन्त्र: यसमा एक नयाँ देखिएको विषय ‘बहुदलीय इन्द्रेणी राष्ट्रवाद’ जहाँ नेपालको परिपेक्षमा जातीय राष्ट्रिय विविधता स्वीकार्दै एकल जातिवादी सोच र जातीयतालाई आधार मानेर अलगै स्वतन्त्र राज्य माग्ने पुरातन सोच त्यागेर, नेपाललाई इन्द्रेणी राष्ट्र मानेर विभिन्न रास्त्रियताहरुको पहिचान र अधिकार सहितको स्वायत्त र स्वाशाषित प्रदेशहरु कायम गर्ने प्रबन्ध मिलाउनु पर्छ। 

२. सुसाशन/सदाचार: यसमा नेपालको राज्य प्रणाली र समाज ब्यवस्थामा सुसाशन/सदाचारको किन अभाव रहयो भन्ने प्रस्नको उठानसँगै केही योजना दिइएको छ। राजनीतिलाई एउटा पेशा वा ब्यवसाय नभई स्वेच्छिक सेवाको रुपमा स्थापित गर्ने र राजनीतिकर्मीलाई जीवनयापन र परिवारपालनका निम्ति अलग व्यवसाय/रोजगारी गर्नु पर्ने व्यवस्था लगायत पार्टी भित्रनै कडा अनुसाशन र कानुनी कारबाही गर्ने।

त्यस्तै भ्रस्टाचारबिरुद्ध आम जागरण र प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको अवधारणा पनि नौलो प्रयोग हुनसक्छ। प्रशासनिक कानुनी जटिलता र झन्झट हटाउँदै प्रशासनलाई कर्मचारीतन्त्रबाट कार्यगत एकाइ प्रणाली (Actional Unit System)मा ढाल्ने र हरेक कार्यालयमा हेल्पडेस्क शाखाको व्यवस्था गर्ने पनि एउटा राम्रो पक्ष हुनसक्छ।  

३. समतामुलक समृद्धि: यसमा सामाजिक र आर्थिक दुवै समृद्धिलाई जोड दिएको छ। सामाजिक तर्फ कर तथा राजस्व प्रसासनको आधुनिकीकरण र सवलीकरण जुन अहिले अत्यन्तै दयनीय अवस्थामा छ र देशमा उठ्नुपर्ने करको आधा हिस्सा पनि उठ्न सक्दैन। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, संचारलगायत सबै क्षेत्रमा क्षेत्रगत नीति तथा कार्यक्रम।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संगठनात्मक संरचना सुधार र स्वतन्त्र र प्रभावकारी सेवाकालागि निजामति सेवाबाट अख्तियारका प्रमुख आयुक्तहरुको छनोट। त्यस्तै अख्तियारलाई राजनैतिक हस्तक्षपबाट टाढा रख्नका लागि निस्पक्ष र अधिकार सम्पन्न लोक्पाल (Ombudsman) लाई प्राथमकिता।

आर्थिक तर्फ भौतिक, बातावरण र संस्कृतिक जीवन पद्दतिको बिकास गरि सन्तुलित दिगो विकासको अबधारणा अगाडि सारेका छन्।  यसकालागि उच्च रोजगारीको सृजना, भारत र चीनको विशाल अर्थतन्त्रको मूल्य-शृंखलामा जोडिनेगरि उत्पादनशिल क्षेत्रमा लगानी गर्ने, कृषिमा व्यवसायीकिकरण र आधुनिकीकरण गर्ने।

स्वदेशी, बिदेशी र निजी लगानी आकर्षित गर्ने, कृषि र उद्योगबीचको सम्बन्ध बलियो बनाउने, खॊज, सृजना र आविष्कारलाई प्रोत्साहित गर्ने। राष्ट्रिय गौरवका ठूला योजनालाई उच्च महत्वका साथ राष्ट्रिय योजना बनाएर प्राथमिकताका साथ अगाडि बढाउने। पूर्वाधार निर्माणमा बिसेस जोड दिंदै देशका अधिकतम भाग सडक संजालले जोड्ने र रेल मार्ग निर्माणको कार्यलाई यथासिघ्र पुरा गर्दै दुई छिमेकी बीचको गतिशील पुल बन्ने।

भूमि सुधार र ऐतिहासिक, धार्मिक, साहसिक, संस्कृतिक, कृषि, र प्राकृतिक पर्यटनलाई जोड दिने जुन मुलुकको समृद्धिको मूल मन्त्र पनि हुन सक्छ।

४. समुन्नत समाजवाद: कुनै पनि बिचार, दर्शन, बादहरु मानिसले नै बनाएको हो न की मानिसलाई तिनले, त्यसैले नेपालको कार्यदिशा वाम-लोकतन्त्र हुँदै समुनत समाजवादमा पुग्नु हो भन्ने विचारधाराका साथ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरिएको छ। वाम पन्थ र लोकतन्त्र एउटै अस्तित्वका दुई पाटा भन्दै वाम पन्थलाई एजेन्डा र लोकतन्त्रलाई पद्दतिको उपमा दिएका छन्।

"Think Globally Act Locally" भन्ने अबधारणा अगि सार्दै नेपालको विदेश नीति र विभिन्न राष्ट्र संगका कुटनैतिक सम्बन्धलाई उचाइमा पुर्‍याउने र भारतसँगको व्यापारिक र कुटनीतिक परनिर्भरताको अन्त्य गर्न १९५० को सन्धि लगायत सबै सन्धी सम्झौताहरुको पुनरावलोकन गरेर समयानुकुल परिवर्तन गर्नुपर्ने।

अरूदललाई खराब देखाएर आफू असल देखिने होइन, आफू असल बनेर अरु दललाई पनि असल बन्ने नैतिक दवाब दिने प्रतिबद्द्ता गरेका छन्।  देशमा दलहरु बीचको स्वछ प्रतिस्पर्धाबाटै समुन्नत समृद्धि सम्भव छ भन्दै सबैको सहभागिता, सहयात्रा र योगदानको आवहान गरेका छन्।

अन्त्यमा जति सुकै मिठा र राम्रा प्रतिबद्धता सहितका दस्ताबेजहरु अगाडि आए पनि जनताले चाहने दस्ताबेज भन्दा पनि काम नै हो।  नयाँ शक्ति नेपालबाट कस्ता कामहरु हुने छन् त्यो त भबिष्यले नै बताउँछ।

पोखरा नेपाल

हाल नयाँ दिल्ली भारत

प्रतिकृया दिनुहोस