गोवामा आकस्मिक लाभ सहितिको कला महोत्सव

  • Get News Alerts

भारतको गोवामा ‘सेरिन्डिपिटी आर्ट फेस्टिबल’सुरु भएको छ । उपमहाद्वीपीयस्तरको कलामा छनोट भई नेपालबाट कविराज लामा, किशोर कायस्थ र मेखबहादुर लिम्बू सहभागी भएका छन्। राजनीतिक, सांस्कृतिक तथा आर्थिक विषयमा तयार पारिएका कलाकृति सो प्रदर्शनीमा राखिएको सहभागी कलाकार लामाले जानकारी दिए।

नेपालबाट राजनीतिक विषयमा लामाले विसं २०४६ पछि नेपालमा बनेका प्रधानमन्त्रीका मुहारचित्र र ती नेताका आवाजलाई सेन्सर प्रविधिमार्फत जोडेर कला सिर्जना गरेका हुन्। ‘दिक्क लाग्ने आवाज’ शीर्षकमा लामाले नेताका भाषणलाई डिजिटल प्रविधिमार्फत अभिव्यक्त गरेका छन्।

गत मङ्सिर २८ देखि पुस ७ गतेसम्म गोवामा भइरहेको सो महोत्सव नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि महत्वपूर्ण हुने लामाले बताए।

त्यस्तै कायस्थले काठमाडौंँ उपत्यकाको सांस्कृतिक तथा पुरातात्विक सम्पदालाई भूकम्पअघि र त्यसपछिको अवस्थाका रुपमा तुलना गर्दै २० मिनेटको वृत्तचित्र बनाएका छन्। उनले उच्चस्तरको सङ्गीत र आवाजलाई निकै कलात्मक रुपमा प्रस्तुत गरेका छन्। कायस्थ आफ्ना कलाका बारेमा भन्छन्, “मैले नेपाली संस्कृतिलाई सौन्दर्य भर्ने कोसिस मात्रै गरेको हुँ ।”

कलाकार लिम्बूले नेपालको विद्यमान आर्थिक अवस्था र त्यसबाट समाजमा परेको यथार्थलाई पस्किएका छन्।

प्रदर्शनीमा नेपाली कलाकारको सहभागिताका लागि सिद्धार्थ आर्ट ग्यालरीले संयोजन गरेको छ । नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान ग्यालरीले ३० वर्षदेखि काम गरिरहेको ग्यालरीका निर्देशक सङ्गीता थापाले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस