नेपालमा हुन लागेको निर्वाचनप्रति भारत खुसी

  • Get News Alerts

नेपालमा आगामी साता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ। परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतसँग शुक्रबार नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गरेकी हुन्।

उनले मन्त्री डा.महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकी मुलुक नेपालमा स्थानीय तहको निर्वाचनमार्फत हुन गइरहेको महत्वपूर्ण प्रजातान्त्रिक अभ्यासले भारतलाई अत्यन्त खुसी लागेको बताइन्। उनले नेपालको उक्त निर्वाचनको पूर्ण सफतालको कामना पनि गरिन्।

त्यस क्रममा भारतीय विदेशमन्त्री स्वराजले नेपालको उक्त निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने बताइन्।  त्यस द्विपक्षीय भेटका अवसरमा मन्त्री डा.महतले नेपालको आसन्न निर्वाचनका लागि भारतले पुर्‍याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।

भेटका क्रममा नेपाल भारत सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा हालै सम्पन्न नेपालका राष्ट्रपतिको भारत भ्रमणको बारेमा पनि कुराकानी भएको थियो ।

साथै उक्त भेटका क्रममा द्विपक्षीय सहयोगका आयोजनाहरुका बारेमा समीक्षागर्दै समयमै तिनको सम्पन्नताका लागि उनीहरुले जोड दिएका थिए।

सो भेटमा मन्त्री डा.महतले यसअघि नेपाल र भारतका मन्त्रीस्तरीय बैठकमा भएका सहमतिहरुको कार्यान्वयन गर्न र संयुक्त संयन्त्रको कार्यलाई थप प्रभावकारी रुपमा अघि बढाई आपसी हित प्रवर्धनका क्षेत्रमा कामगर्न सक्नेगरी उपयोग गर्न पनि आग्रह गरेका थिए।

विदेशमन्त्री स्वराजले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका र यसबाट आपसी सम्बन्ध सुदृढिकरणमा थप सघाउ पुगेको धारणा राखेकी थिइन्।

डा.महत शुक्रबार बिहान नयाँ दिल्ली पुगेका थिए। नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैर आवासीय राजदूतहरुको सम्मेलनको उद्घाटनका लागि उनी त्यहा पुगेका हुन्।

कार्यक्रममा विभिन्न मुलुकका ७० भन्दा बढी देशका राजदूतहरुको सहभागिता थियो।  नेपालले पहिलो पटक गर्न लागेको यस सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, परराष्ट्र सम्बन्ध, व्यापार तथा लगानी प्रवर्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदाश बैरागीसहित यस क्षेत्रका नेपाल र भारतका विज्ञहरुको प्रस्तुती रहने छ ।

 

प्रतिकृया दिनुहोस