महिनामा तीन लाख येन कमाउँदा पनि किन दुःखी छन् नेपालीहरु?

  • Get News Alerts

जापान आउने अधिकांशको भनाइ सुन्ने हो भने, यहाँ दुःख शिवाय अरु केही छैन कि जस्तो लाग्छ। खासगरी जापान आएर धेरै गुनासो गर्ने वर्गमा विद्यार्थी भिसाबाहकहरु पर्छन्। त्यसो त धेरै–थोरै गुनासो सबैले गरिरहेका नै हुन्छन्।

यहाँ भेटिने नेपाली युवाहरुमध्ये जापान आएर एकदम ठीक गरेँ भन्ने धारणा बोकेका व्यक्ति विरलै भेटिन्छन्। सधैं गुनासाहरुकै पोको बोकेर भौतारिहेका भेटिन्छन्, नेपाली युवाहरु। वास्तविकतामा, वितृष्णा ओकल्नेहरु मात्र भेटिन्छन् तर पनि जापान आउने नेपालीहरुको संख्यात्मक आँकडा भने केही वर्ष यता ज्यामितीय अनुपातमा बढिरहेको छ।

नेपालमा खासगरी काठमाडौं र काठमाडौं बाहिरका ठूला सहरहरुमा ‘स्टडी इन जापान’ लेखेका होर्डिङ बोर्डहरु नझुण्ड्याइएका घरका भित्ताहरु कमै देखिन्छन्। विद्युतीय तथा छापाका सञ्चारमाध्यमहरुमा सबैभन्दा धेरै विज्ञापन पनि जापान पठाउने कन्सल्टेन्सीकै प्रकाशन÷प्रसारण हुने गर्दछन्। यी सबै परिवेशहरुले जापानप्रति नेपाली विद्यार्थीको बढ्दो आकर्षणलाई प्रष्ट देखाउँछ।

एकातिर बढ्दो आकर्षण र अर्कातिर चर्को असन्तुष्टी। खासमा किन यस्तोे भइरहेको छ त? के जापान आउने विद्यार्थीहरुको यो असन्तुष्टि देखावटी मात्र हो? या जापानप्रतिको आकर्षणचाँहि केवल लहड? जापानकै भोगाइका आधारमा भन्ने हो भनेचाँहि यी दुवै कुरा सत्य हुन्। एकातिर अथाह आकर्षण छ भने अर्कोतिर चरम वितृष्णा।

यसो हुनुको मुख्य कारणचाँहि नेपाली विद्यार्थीको उच्च महत्वाकांक्षा हो। किनकि, जापान पढ्नकै लागि र पढेर एउटा निश्चिित डिग्री लिने भन्ने सोचले जापान आउने विद्यार्थीको संख्या गन्ने नै हो भने हातका पाँच औंला भर्न पनि मुस्किल पर्छ ! यहाँ सबै विद्यार्थी भिसाको बहानामा कमाउने चाहना बोकेर पसेका हुन्छन् र आएर पनि त्यही गर्छन्, जे उनीहरुको ध्येय हो।

जसले गर्दा, नेपालमा सोचेजस्तो जीवनशैली अपनाउन सक्दैनन्। अनि, स्वाभाविकरुपमा वितृष्णा बढ्न थाल्छ। अन्य मुलुकमा विद्यार्थी भिसामा जानेहरुको पढाई सक्काउने र त्यहीँ स्थायी बासोबास अनुमति पत्र प्राप्त गर्ने सपना हुन्छ भने यहाँ आउनेहरुले चाँहि काम गर्ने र टन्न पैसा कमाएर नेपाल फर्कने सपना देखेका हुन्छन्। कारण, जापान आउनुअघि नै उसले भिसा ‘अप्लाई’ गरेको कन्सल्टेन्सी तथा पहिले आएका साथी–भाइबाट यहाँको स्थायी बसोबास अनुमति तथा अन्य सामान्य कानुनी प्रावधानहरुको बारेमा अवास्तविक हल्ला सुनिसकेको हुन्छ।

यसो किन हुन्छ त?

नेपालमा खुलेका अधिकांश कन्सल्टेन्सीका सञ्चालकहरु स्वयं त्यही बाटो अवलम्बन गरी कन्सल्टेन्सी खोल्ने हैसियत बनाएका व्यक्तिहरु हुन्। जसले गर्दा जापानमा लामो समय बस्ने, एउटा निश्चित विषयमा डिग्री हासील गर्ने, राम्रै कम्पनीमा जागिर खाने, यहाँको प्रविधि र सीप स्वदेशमा लगेर केही गरौँ भन्ने भावनाको जागृत हुनै पाउँदैन।

साँच्चै जापानमा आउने नेपाली विद्यार्थीहरुलै पैसा टन्न कमाउँछन् त?

यो पंक्तिकार जापान छिरेदेखि धेरैले सोध्ने गरेको एक मुख्य जिज्ञासा हो। र, यसको उत्तर एकै वाक्यमा भन्ने हो भने, हो मज्जाले कमाउन सकिन्छ, कमाइरहेका पनि छन्। जसको परिणामस्वरुप जापानप्रति वितृष्णा पाल्नेहरु नै यहाँ बस्नका लागि गलतभन्दा गलत बाटो अपनाइरहेका छन्। सामान्यतः विद्यार्थी भिसाबाहक एउटा नेपालीले सरदर महिनाको २ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म कमाउन सक्छ। यहाँ स्कुल शुल्क तथा अन्य सबै खर्च कटाएर पनि वर्षको कम्तीमा १३/१४ लाख रुपैयाँ घर पठाउन सक्छ।

एउटा सामान्य व्यक्ति, जसले नेपालमा महिनाको १० हजारको जागिर नपाएर भौतारिएको थियो, उसले महिनाको यति रकम कमाउन सक्छ भने जापान उसका लागि कसरी नराम्रो भयो?

यहाँ आउनुको एउटा महत्वपूर्ण कारण हो, पैसा। जापान आउनेहरुले अरु केही नदेखे पनि यति चाँहि प्रष्टसँग देखे/बुझेका हुन्छन्। जसले गर्दा जापानप्रतिको आकर्षण दिन प्रतिदिन चुलिएको हो।


आखिर किन वितृष्णा पैदा हुन्छ त?

अब आफैं सोच्नुहोस्, एउटा विद्यार्थी जो हरेक दिन विद्यालय जान्छ अनि ४ देखि ५ घण्टा स्कुलमै रहन्छ। उसले त्यति रकम कमाउन कति घण्टा काम गर्नुपर्ला र कति घण्टा आराम गर्ला? किनकि, टोकियोमा बस्ने एउटा विद्यार्थीले ‘पार्टटाइम’ काम गरेर पाउने सरदर तलब प्रतिघण्टा १ हजार येन हो। त्यसैले उसले पैसा त कमाउँछ तर अध्ययन, साथीभाइ, रमाइलो, भेटघाट सबैकुरा गुमाउँछ।

जसले उसलाई जापानप्रति नकारात्मक धारणा बनाउन बाध्य तुल्याउँछ। अझ उसलाई त्यतिखेर झन् दुःख लाग्छ, धेरै काम गरेकै कारण उसको भिसा थपिँदैन। अनि, डिपेन्डेन्टमा ल्याउन खोज्दा पनि सम्भव हुँदैन। त्यसपछि हो, उसले जापानलाई गाली गर्ने।

अन्त्यमा,
जापानमा साँच्चै राम्रोसँग पढ्ने र उच्च डिग्री हासील गर्ने हो भने धेरै सम्भावनाहरु छन्। र, केही नेपालीले त्यो सम्भावनालाई वास्तविकतामा उतारेका पनि छन्। तर त्यो संख्या निकै कम छ। त्यसैले, जापानमा विद्यार्थी पठाउने संस्थाहरुले म्यानपावर कम्पनीले गर्ने काउन्सेलिङ होइन, साँच्चै शैक्षिक परामर्शदाता संस्थाले गर्ने काउन्सेलिङ गर्नु आवश्यक छ। परिणामस्वरुप जापान आउनेको संख्या भलै १÷२ प्रतिशत घट्ला तर, यहाँ आउनेको मनमा यति धेरै वितृष्णा बढ्ने छैन। यसो भएमा जापानमा नेपाली विद्यार्थीप्रति अरुले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने छ।

प्रतिकृया दिनुहोस