क्याक्टसको झाडी झैं भएको छ मान्छे

  • Get News Alerts

दुई दसकपछि भएको स्थानीय चुनाव र आफ्नो विवेकपूर्ण मताधिकारको प्रयोगपछि फेरि नेतृत्वगणको आश र भरोशामा राष्ट्रमा थप सकारात्मक परिवर्तन आउँछ कि भनेर नतिजा सुन्न धैर्यताका साथ प्रतिक्षारत हामी जनता वास्तवमै रोजाइको कुनै विकल्प नभएका जस्ता निरिह पनि बनेका छौं।

परम्परा छोड्न पनि नसक्ने र नयाँ बाटो रोज्न पनि नसक्ने दोधारका पनि हामी नै हौँ। सकुन्जेल सराप्ने विकास भएन भन्ने र चुनावमा फेरि तिनैलाई जिताएर पठाउने पनि त हामी नै हौँ। परिवर्तन चाहने तर परिवर्तनको लागि नयाँ सोचका साथ नयाँ आयाममा हिंड्न नसक्ने पनि त हामी नै हौँ। कुरा खुब गर्ने तर ब्यबहारमा उतार्न नसक्ने खुबी पनि त हामी मै छ।

दाहिने हातमा समस्या पर्‍यो भने हामी के गर्छौं ? देब्रे हात काटेर फाल्छौं ? अवश्य फाल्दैनौं ,हामी डाक्टर कहाँ देखाउन जान्छौं। तर जीवनमा हामीले देखेका र भोगेका समस्यामा सही उपाय हामी किन खोज्दैनौं? किन डाक्टरको खोजी गर्दैनौं? किन दाहिने हात र देब्रे हातको सम्बन्ध जस्तै हाम्रा जीवनका र हाम्रा राष्ट्रका समस्यामा उपाय खोज्दैनौं हामी? किनकी हामी हृदयबाटभन्दा बढी मष्तिस्कबाट चल्छौं। मष्तिस्कले हामीलाई यति घुमाई सक्यो कि के गर्दै छु र किन थाहा पाउन छोडिसक्यो मानिसले। यसैको परिणती हो आज राष्ट्रले, व्यक्तिले र समाजले भोगेको दुर्दशा।

प्रकृतिले हामीलाई मस्तिष्क र हृदय दुबै दिएको छ भने किन हामी हृदयको प्रयोग कम गर्दछौं? बिहान उठेदेखि राति सुत्ने बेलासम्म हाम्रा कर्म र क्रियाकलापको स्मरण गर्यौं भने हामीलाई थाहा हुन्छ हामी मष्तिस्ककै इशारामा बढी चलेका हुन्छौं। मानिसले अचम्म मान्नुपर्ने कुरा छैन मष्तिस्कको पछि नलागौं भन्दा किनकी इतिहास साक्षी छ -मेडम क्युरीले जब आफ्नो अनुसन्धानबाट थकित भएर बिश्राममा बस्नु भएको थियो तब रेडियम पत्ता लगाउनु भएको थियो।

हाम्रा सन्त,ऋषिमुनिहरुले मनको पार गएर नै ज्ञान प्राप्त गरेका थिए। एउटा कबिले मन भन्दा पर गएर ,हृदयको तलबाट मात्र कविता लेख्न सक्दछ। कुनै नृत्यांगना होउन्  या गायक, खेलाडी होउन्  या गायक मन भन्दा पर पुगेर हृदयको तलबाट ध्यान केन्द्रित भएर आफ्नो प्रतिभामा केन्द्रित भएका हुन्छन्। त्यतिबेलाको स्थिती शान्त, प्रेमल र करुणादायी हुन्छ ,नकारात्मक काम उसले गर्न सक्दैन। वर्षेनी एकदिन बिश्व शान्ती दिवस भनेर मनाईन्छ। भित्रको शान्ती कायम राख्न यही मनको पार जाने कला अपनाउनु जरुरी छ। प्रत्येक व्यक्तिको भित्र शान्ती घटित नहुँदा सम्म राष्ट्र र समाज अनि बिश्वमा शान्ती आउदैन। प्रेमको उर्जा नबग्दा सम्म हृदय सक्रिय नहुदा सम्म शान्तिको अनुभूति गर्न सकिन्न। तर आजको मानिस टाढाबाट खुशी छ, नजिक आउदा दूखी छ, क्याक्टसको झाडी झैं भएको छ मान्छे ,कतै हराइरहेको छ मान्छे।

मानिस बाहिर देख्दा खुशी र सुखी छ भित्र भित्रै खोक्रो र दूखी छ। मानिस आफ्नो मानवियताको गुण भने भुल्दै छ तर विश्वासको आश्वासन र विकासको भजन गाउँन छोडेको छैन। अनि चुनाव द्वारा नै किन नहोस् राजनेता, प्रधानमन्त्री , सम्पन्न र धनवान बन्न खोज्दै छ। स्वयं भित्रको प्रतिभा र स्वभाव गुमाउदै छ आयातित इर्ष्या र लोभमा बाँचेको छ। मानवीयता नै सबै भन्दा ठूलो सम्पन्नता हो भनेर पाठ सिक्ने कहिले ? जीवनको उत्तरार्दमा पछुताउनेहरुको कमि छैन यहाँ। पन्चतत्वको शरीर कुन सेकेन्डमा पन्चतत्व मै मिल्दछ ठेगान छैन र पनि सेकेन्डको महत्व छ भन्दै अनैतिकता र अराजकता अनि अरुलाई दूख दिन पछि परेको छैन मानिस। अरुलाई दूख दिएर भएपनि ,अरुको लुटेर भएपनि, चुनावमा धादली गरेरै भएपनि बाहिरको खोक्रो सम्पन्न बन्नु नै छ मानिसलाई।

मानिसले मानिसलाई नै ठग्छ। आत्म सन्तुष्टिको बिज्ञान खोज्दैन। समय अनुसार चल्दैन। आफ्नो सम्बन्ध र प्रेमको ख्याल गर्न बिर्सन्छ। व्यस्त छ मानिस अनाहकमा बाहिरी सुख अरुलाई देखाउन। भित्री शान्ती र खुशी अनि प्रेम भुलेको छ। कोडा-कचेराको चिन्तामा जीवनमा पाएका बहुमुल्य हिराहरु गुमाएको पत्तो छैन। जुन कुरा पैसा र पदको  अभावले  महसुस  गरेको  छ त्यो  अभाव  दुइ   कौडी   बराबर  पनि छैन। यो थाहा नपाउदा सम्म भौतारिन्छ मानिस। हात नहुनेलाई थाहा छ हातको महत्व। कान नसुन्नेलाई थाहा छ कानको महत्व र आँखा नहुनेलाई थाहा छ आँखाको महत्व। स्वस्थ शरीर , प्यारा परिवार , मित्रवत दौतरी , मायाँ गर्ने मान्छेको महत्व ख्याल गरेको छैन।

जब जीवनको भागदौडबाट थाकेपछि यी कुराको महसुस हुन् थाल्दछ त्यतिबेला सम्म जीवनबाट यी कुराहरु छुटिसकेका हुन सक्दछन्। जीवन कर्महरुको शृंखला हो। तिनै कर्मको फल जीवनको भोगाई हो। कस्ता कर्म रोज्ने ,कस्ता सम्बन्ध रोज्ने ,दूखी हुने कि सुखी र आनन्दित अनि मन मस्तिष्कले चल्ने कि हृदयले रोजाई आफ्नै हातमा छ। आफू भित्र नियालेर हेर्दा हामीलाई राम्रो र मित्रवत  सम्बन्ध , असल र संस्कारिक परिवार, बाहिरी सम्पन्न होइन भित्री सम्पन्नता चाहिएको छ। तर के का लागि यत्रो होडबाजी गर्दै छन् मानिसहरु ? राजनीतिमा होस या सामाजिक सेवामा , शैक्षिक सेवामा होस या धार्मिक सेवामा भिडन्त र प्रतिष्पर्धा मात्र भेटिन्छ। कसको लागि लड्दै छन् ? कसको लागि घुष पैठारी हुँदै छ ? कसको लागि तानातान र हानाहान हुँदै छ ? आखिर के प्राप्त गर्न चाहन्छ मानिस ?

सन्त कवीरले त्यसै भन्नु भएको छैन -

बुरा खोजन मै चला, बुरा न मिलिया कोई।

जो अंतस देखा आपणा, मुझ सा बुरा न कोई।।

प्रत्येकले आफ्नो भित्र नियालेर हेर्ने बेला आएको छ। आफ्नो भित्र हेर्ने कला बिर्सनु नै अशान्ति र अन्यौल अनि राजनीतिक खेल बनेर प्रस्तुत हुनु हो। ठगेर र लुटेर कमाएको करोडौं सम्पत्तिले भन्दा परिश्रम र मिहिनेतले कमाएको जाउलो धेरै स्वादिलो हुन्छ ,स्वाद लिनेहरुलाई थाहा होला। भाडभैलो र तछाड मछाडले जितेको चुनाव र पदीय मर्यादा भन्दा स्वतन्त्र आफ्नो खुट्टामा बाच्नुको स्वर्गीय आनन्द उसलाई थाहा छ जसले स्वयं भित्र हेर्ने कला जानेको छ।

मानिस हुनुको गरिमा पनि यसैमा छ कि आफ्नो  जीवनको बारेमा निरन्तर चिन्तन गरुँ, सोचूँ , विचारुँ र सत्य पत्ता लगाउने कोसिस गरुं। हामीलाई विचारको क्षमता शायद यसै कारणले दिईएको छ कि बाँच्नुको, कर्म गर्नुको उद्देश्यको बारेमा विचार गर्न सकुँ। तर, हामीले हाम्रो जीवन जीउने शैली, जीवनलाई हेर्ने दृष्टिकोणलाई केलायौं भने पाउँछौ  कि दैनिक कमाउने, खाने,ठग्ने ,पद आर्जन गर्ने र परिवार बसाउने क्रममै हाम्रो समय सकिन्छ, र जिउनुका मुलभूत कुराहरुमा हामी प्रवेश गर्ने नै सक्दैनौं। केहि व्यक्ति जो अलिकति भए पनि आँफूलाई नियाल्ने कोसिस गरे ति मध्ये पनि अधिकांश सिद्धान्त, दर्शन र वाद–विवादको जालमा बेरिएर जीवनको गहिराईलाई नै नछोईकन समाप्त भए। वास्तवमा जीवनको गहिराईमा प्रवेश गर्न नसक्नु नै हाम्रो दुःख, पीडा, तनाव एवं सन्तापको कारण हो। आफ्नो जीवनको गहिराईलाई पहिचान गर्न नसक्नेले कदापी राष्ट्रको मर्म र गहिराई बुझ्न सक्दैन।

राष्ट्र र मुलुकलाई झन भन्दा झन अन्यौलता र गरिबीमा धकेल्ने जिम्मेवारी तिनैलाई जान्छ जसले आफ्नो जीवन नै दुइ कौडीको कोडा -कचेरामा राष्ट्रको सार्वभौम माथि खेलबाड गरेका छन्। क्याक्टसका झाडी हुन् तिनीहरु जसलाई टाढाबाट देख्दा राम्रो लाग्छ तर नजिक जादा छोए काँडा बिझ्छ ,न छुन सकिन्छ, न भित्र सजाउन सकिन्छ।

प्रतिकृया दिनुहोस