सोभियत नेताका सन्तानहरूको नियति

  • Get News Alerts

झट्ट सुन्दा अनौठो लाग्छ, तर जीवनमा कहिल्यै परिवार र सन्तानको चाहना नदेखाएका अत्यन्त सरल र त्यागी नेता सुशील कोइरालाको असामयिक निधनपछि नेपालको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली काँग्रेसमा पारिवारिक विरासतको चर्चा सुरु भएको छ।
 
तानाशाही शासकहरूले प्रायस् आफ्ना सन्तान र नजिकका आफन्तहरूलाई उनीहरूको योग्यता नभए पनि आफ्नो प्रभावका भरमा शासनको बागडोर सुम्पन वा आफ्नो उत्तराधिकारीको रुपमा स्थापित गर्ने प्रयास गरेको हामीले देखेका छौं। उत्तर कोरिया त्यसको ज्वलन्त उदहरण हो। 'संसारमै ठूलो' प्रजातन्त्रको दुहाई दिने भारतको राजनीतिमा वंश परम्पराको प्रभाव हामीले देखेकै छौं। प्रजातान्त्रिक शासन पद्धतिको अग्रणी मानिने अमेरिकामा समेत राष्ट्रपति र सिनेटमा निर्वाचित हुनका लागि पुर्ख्यौली बिरासतले काम गर्ने चलन छ। तर चरम अधिनायकवादको अभ्यास गरेको सोभियत संघका शीर्ष नेताहरू पारिवारिक बिरासतको मामलामा आश्चर्यजनक ढंगले अपवाद रहे।
 
यस लेखमा सोभियत संघको उच्च नेतृत्वमा पुगेका केही व्यक्तिहरूका सन्तानहरू अहिले के गर्दैछन् र कहाँ बस्छन् भन्ने कुराको छोटो चर्चा गर्ने प्रयास गरिएको छ।
 
लेनिन: सन्तानको विषयमा भ्लादिमिर लेनिनको इतिहास संक्षिप्त छ। लेनिन र नादेज्दा क्रुप्सकायाका कुनै सन्तान भएनन्। सन्तान नहुनुमा लेनिनको स्वास्थ्य समस्या प्रमुख कारक थियो भन्ने गरिन्छ।
 
स्टालिन: जोशेफ स्टालिनकी छोरी स्वेतलाना अलिलुएभाको भारतीय कम्युनिस्ट नेता ब्रजेश सिंहसँग मस्कोमा उपचारका क्रममा रहँदा प्रेम सम्बन्ध गाँसिन गयो। उनीहरूसंगै बस्थे तर स्वेतलानालाई ब्रजेश सिंहसंग विवाह गर्ने अनुमति दिइएन। सन् १९६७ मा ब्रजेश सिंहको मस्कोमा निधन भएपछि उनको अस्तुलाई गंगामा सेलाउने बहानामा स्वेतलाना भारत गइन् र दिल्लीको अमेरिकी दुताबासमा राजनैतिक शरण लिन पुगिन्। सन् १९७० मा अमेरिकी नागरिकसंग बिबाह गरेपछि उनले आफ्नो थर र नाम समेत परिवर्तन गरेर ‘लाना पिटर्स’ राखेकी थिईन्। सन् २०११ मा अमेरिकामा नै उनको निधन भयो। स्वेतलाना अस्थिर मनस्थितिकी थिइन्।
 
उनी सानै छँदा उनकी आमा नादेज्दा अलिलुयेभाले आत्महत्या गरेको घटनाले गर्दा उनको बालसुलभ मनोविज्ञानमा नराम्रो असर परेको थियो। पछि वयस्क हुँदै जाँदा आमाले आत्महत्या गरेको नभई स्टालिन स्वयंले उनको हत्या गरेको भन्ने हल्ला फैलन थालेपछि बाबुप्रति उनमा चरम घृणा र उपेक्षाभाव उत्पन्न भयो। उनले लेखेको पहिलो पुस्तक ‘ट्वेन्टी लेटर्स टु अ फ्रेन्ड’ त्यति बेला निक्कै चर्चित भयो। उनले १९८४ मा छोरी सहित मस्को फर्केर पुनस् सोभियत नागरिकता ग्रहण गरेकी थिइन्, तर त्यहाँ पनि उनी  स्थिर भएर रहन सकिनन। कहिले क्याम्ब्रिज (बेलायत) त कहिले  (जर्जिया) हुँदै अन्तत: सन् २०११ मा अमेरिकामा नै उनको निधन भयो। रुसी भाषा नजान्ने अमेरिका निवासी स्टालिनकी नातिनी क्रिस एभान्स अमेरिकाको पोर्टल्यान्ड सहरमा कपडा पसल चलाउँछिन् भन्ने समाचार पढिएको थियो।  
 
स्टालिनका जेठा छोरा याकोब जुगासभिली युद्धबन्दीका रुपमा रहँदा हिटलरले लालसेनाको सामान्य अफिसर याकोबलाई नाजी फिल्डमार्शलसंग साट्ने प्रस्ताव गर्दा स्टालिनले त्यसलाई ठाडै अस्विकार गरे भनिन्छ। याकोबको ब्रान्डेनबर्गस्थित ज्याक्सनहाउसेन नाजी कन्सन्ट्रेसन क्याम्पमा निधन भयो। उनका अर्का छोरा भासिली जुगासभिली अल्कोहलको कुलतमा फसेका थिएँ। बाबुको मृत्युपछी सन् १९६२ मा  ४० वर्षको उमेरमा जेलमा नै उनले मृत्युवरण गरे।
 
ख्रुस्चेभ: निकिता ख्रुस्चेभका छोरा सेर्गेंइ ख्रुस्चेभ सन् १९९१ देखि रुसी नागरिकता त्यागेर अमेरिकामा बसोबास गर्छन्। मेरा मित्र  जुगल भुर्तेलले केही वर्षअघि उनीसंग ब्राउन युनिभर्सिटीको कुनै विभागमा भेटेको प्रसंग सुनाएका थिए। ख्रुस्चेभकी नातिनी निना ख्रुस्चेभाले केही समय कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गरेकी थिईन्। हाल उनी न्युयोर्क विश्वविद्यालयको अन्तराष्ट्रिय विभागमा प्राध्यापन गर्छिन् र विभिन्न पत्रपत्रिकामा रुसका बारेमा लेखिरहन्छिन्।
 
ब्रेझनेभ: लियोनिद ब्रेजनेभलाई पनि सन्तानका तर्फबाट कुनै सुख प्राप्त भएन। उनका छोरा युरी ब्रेजनेभलाई बाबुको मृत्युपछि वैदेशिक व्यापार मन्त्रालयमा सहायकमन्त्री हुँदा भ्रस्टाचार गरेको अभियोग लागेको थियो। गुमनाम जीवन बिताउदै सन् २०१३ मा उनको निधन भयो। ब्रेझनेभका पनाती दमित्री अक्सोफोर्ड विश्वविद्यालयमा अध्ययन गर्छन्। ब्रेजनेभकी छोरी गालिना ब्रेज़नेभालाई सोभियत संघबाट ठूलो मात्रामा हीरा तस्करी गरेको अभियोग लागेको थियो। महंगा लुगाकपडा, गहना र पुरुषहरू उनका कमजोरीहरू मानिन्थे। छोरीको विलाशी जीवनशैली र आदतबाट ब्रेझनेभ आजित भइसकेका थिए। जीवनको उत्तरार्धमा गालिना अल्कोहलको चरम कुलतमा फसेकी थिईन्। मानसिक अस्पातालमा उपचारकै क्रममा सन् १९९८ मा उनको निधन भयो।
 
आन्द्रोपोभ: युरी आन्द्रोपोभकी प्रथम पत्नीतर्फका छोरा भ्लादिमिर आन्द्रोपोभ चोरीको आरोपमा २ पटक जेल परेका थिए। ३५ बर्षको उमेरमा उनको मृत्यु भयो। युरी आन्द्रोपोभकी नातीनी तात्याना अमेरिकाको मायामी सहरमा नृत्यसम्बन्धी विषयमा अध्यापन कार्यमा संलग्न छिन्। उनका भाइ कन्स्तानटिन पनि मायामीमै बस्छन्।
 
चेर्नेन्को: सोभियत कम्युनिस्ट पार्टीका पाचौं महासचिव कन्सान्टिन चेर्नेन्कोका छोरा अल्बर्ट चेर्नेन्को एक समाजशाष्त्री थिए। आफ्नो करियरको पूर्वार्धमा तोम्स्क प्रान्तीय राज्यको कम्प्युनिस्ट पार्टी संगठनमा सहायकका रुपमा केही समय काम गरे पनि उनी बढी जसो अध्ययन(अध्यापनमा नै सक्रिय रहे। तोम्स्क राजकीय विश्वविद्यालयमा विभागीय प्रमुखका रुपमा लामो समय सक्रिय रहँदै सन् २००९ मा उनको निधन भएको थियो।
 
गोर्बाच्योभ: अन्तिम सोभियत राष्ट्रपति मिखाइल गोर्बाच्योभकी छोरी ईरिना भिर्गान्स्काया सन्फ्रान्सिसको, अमेरिकामा आफ्ना पिताको नाममा रहेको 'गोर्बच्योभ फन्ड' चलाउँछिन् भने गोर्बच्योभकी नातिनी सेनिया पिर्चेन्को हाल जर्मनीमा बस्छिन्।
 
अन्य नेताहरू: सोभियत कम्युनिस्ट पार्टीका महासचिबका सन्तानहरू मात्रै नभएर त्यति बेलाका अन्य शीर्ष नेताका सन्तानहरू समेत अहिले पश्चिमी मुलुकमा स्थायी रुपमा बसेका छन्।  सोभियत कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य र लामो समयसम्म पार्टीका मुख्य योजनाकार मानिने मिखाइल सुस्लोभकी छोरी माईया मिखाईलोभ्ना आफ्ना पति र दुई छोराका साथमा विगत २५ बर्षदेखि स्थायी रुपले अस्ट्रियामा घरजम गरेर बसेकी छन्।
 
आफ्ना पिताहरूको सपनाको संसारमा नबसेर अमेरिकातिर पलायन हुने प्रचलन सोभियत नेताका सन्तानहरूमा मात्रै सिमित रहेन। अन्य साम्यवादी मुलुकका नेताका सन्तानहरूमा पनि यो चलन  कायमै रह्यो। उदाहरणस्वरूप क्युबाका राष्ट्रपति  फिडेल क्यास्ट्रोकी छोरी अलिना फेर्नान्डेस अमेरिका पलायन भईन। त्यहीं बसेर उनले आफ्ना पिताको स्वप्न देशको उछित्तो काडिरहेकी छिन्।
 
सोभियत नेताहरूले जनताहरूलाई बाड्ने गरेको सबैभन्दा ठुलो सपना थियो -उज्ज्वल साम्यवादी भविष्यको निर्माण। निकिता ख्रुस्चेबले सोभियत कम्युनिस्ट पार्टी महासचिवको हैसियतले पार्टीको बाइसौं महाधिवेशनमा प्रतिवेदन पेश गर्दै भनेका थिए: ‘वर्तमान सोभियत पुस्ताले साम्यवादी समाजमा जीवनयापन गर्ने छ’। यसैगरी सबै कम्युनिस्ट नेताहरूले भन्ने गरेका थिए स् ‘हामी उति गतिलो जीवन बिताइरहेका छैनौं, तर हाम्रा सन्ततिहरू साम्यवादमा बाँच्नेछन् अर्थात् भौतिक सुखसमृद्धिको उच्चस्तरीय जीवनको उपभोग गर्नेछन्’। सोभियत नेताहरूले देखेको साम्यवादी देशको सपना पुरा नहुँदै चरम आर्थिक संकटको सिकार भएर सन् १९९१ मा सोभियत संघ बिघटन हुनपुग्यो। सोभियत संघमा साम्यवादी व्यस्थाको अन्त्य भए पनि अल्बर्ट चेर्नेन्को बाहेक अन्य सोभियत नेताका सन्तानहरूले आफ्ना बाबुका सपना अझै पुरा हुने सम्भावना भएका साम्यवादी मुलुकहरू चीन, उत्तर कोरिया र क्युबाजस्ता देशहरूतिर पलायन हुन मन पराएनन्। धेरै जसो आश्चर्यजनक ढंगले ुदुश्मनु घोषित गरिएको अमेरिका तिरै हानिए।
 
बीसौं शताब्दीको बीचको ७० वर्षसम्म विश्वको सबैभन्दा विशाल देशको सर्वेसर्वा भई सोभियत नेताहरूले सबै जनतालाई एउटा स्वप्निल संसारतर्फ डोहोर्‍याउने प्रयास गरेका थिएस् समान सामाजिक प्रतिष्ठा र अधिकार, आफ्नो र संतानको सुनिश्चित भविष्य, पूर्ण मानव अधिकार सहितको सुखी जीवन र संसारैभरि साम्यवादी समाजको स्थापना गर्ने। तर सोभियत सत्तामा सबै उल्टो भयो: कम्युनिष्ट पार्टीको चरम ब्युरोक्रेसी, पार्टीको उच्च तहमा साम्यवाद र आम जनताको तहमा शोषण र दमन।   
 
तरपनि आम रुपपमा के देखिन्छ भने लेनिनदेखि गोर्बाच्योभसम्म सबै सोभियत नेताहरू अत्यन्त शक्तिशाली हुँदाहुँदैपनि सन्तानलाई पद र प्रतिष्ठा दिलाउने कुरामा बाँकी विश्वका धेरै देशका नेताहरू भन्दा विपरित देखिए। पार्टीभित्र नजिकका कमरेडसंग नजिक वा टाढा हुनु स्वाभाविक हो,तर कुनै पनि सोभियत नेताहरूले आफ्ना सन्तानहरूलाई उनीहरूको क्षमताभन्दा बढी जिम्मेवारी दिएर राजनीतिमा वा राज्य संरचनाको उच्च पदमा स्थापित गराउने प्रयास गरेनन्, जुन उनीहरूले चाहेका भए सहजै गराउन सक्थे। तर ईतिहासको बिडम्बना नै मान्नु पर्छ सोभियत शीर्ष नेतृत्वमा रहेका कतिपय व्यक्तिका सन्तानहरू सोभियत सत्ताले साम्राज्यबादी भन्दै दुत्कार्ने गरेका तिनै पुंजीबादी मुलुकमा आफ्ना पिताहरूका सबै सपना पुरा हुने विश्वास गरेर अहिले पलायन भएर बसेका छन्। यो सायद अर्को रमाइलो बहसको विषय हुन सक्छ।  
 

प्रतिकृया दिनुहोस