घुस्याहा कर्मचारीहरुलाई पाल्न किन पठाउने रेमिट्यान्स?

  • Get News Alerts

कुनै समय कुख्यात अपराधी चाल्स सोभराजले भनेका थिए, 'त्रिभुवन बिमानस्थलबाट हात्ती पनि छिराउन सक्छु।' साच्चिनै जताततै दलालीहरुले भ्वाङ पारेर उदाङ्गो बनाएको त्यो बिमानिस्थलबाट हरेक अबैध र गैरकानुनी चिज सजिलै संग छिराउन मिल्दो रहेछ।

चाहे सिरिया लगाएत अन्य युद्धग्रस्त देशमा बेचिएका नेपाली चेलीहरु हुन्, चाहे भिजिट भिषामा खाडी आएर अल्पत्र परेका युवाहरु। हरेक नेपाल आमाका सन्तानहरु त्यै बिमानिस्थलका धुर्त कर्मचारी र दलालीहरुले बनाएको हात्ती समेत छिराउन मिल्ने बाटो हुँदै बेचिएका हुन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर यो कुरा हरेक पटक खुल्ला किताब जस्तै छर्लङ्ग हुदै आएको छ।  

नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले केही दिन अगाडि त्रिभुवन बिमानिस्थको गोल्डेन गेटबाट झन्डै ३३ किलो सुन पक्राउ गर्यो। युएईबाट एयर अरेबियाको जहाज मार्फत नेपाल पुर्याईएको ठूलो परिमाणको सुनलाई बिमानिस्थलको भन्सार पास गरेर बाहिर निस्कदै गर्दा प्रहरी अनुसन्धान ब्युरोले पक्राउ गर्यो। पक्राउ पर्ने ब्यक्ति सुन भरिया रहेको र उनले यो भन्दा अगाडि पटकपटक गरेर झन्डै तीन सय किलो सुन नेपाल भित्र्याईसकेको भनेर बयान दिएको कुरा बाहिर आएको छ।

बिदेशमा बसेर गैरकानुनी हुन्डीको ब्यापार लगाएत सुनको तस्कर गर्नेहरुको लस्कर लामै छ। छुट्टीमा घर जादै गरेका नेपालीलाई काँचो सुन भिराई केही बाटो खर्च दिएर सुनको तस्करी गर्ने तस्करहरु छ्यापछ्याप्ती भेटिन्छन्। 

पछिल्लो समय नेपाल सरकारले बिदेशबाट नेपाली श्रमिकले ल्याउने गरेको काँचो सुनमा बन्देज लगाएपछि आफ्नो घर परिवारका लागि भनेर केही ग्राम काँचो सुन लाने गरेका लाखौं श्रमिकहरुको बाटो त रोकियो होला तर,केही तस्करहरुको बाटो भने कहिल्यै बन्द हुन सकेन।

कारण- सरकारी दाल चामल खाएर देशलाई नै खोक्रो बनाउन त्रिभुवन बिमानिस्थलमा जागीर खाई तस्करहरुका सहयात्री बनिरहेका कर्मचारीहरु। त्यसको यौटा गतिलो उदाहरण अस्ति भर्खरै प्रकाउ गरिएको सुन कान्डलाई हेरे पुग्छ। जबकी यो भन्दा अगाडि तिनै कर्मचारीको मिलेमत्तोमा सयौ तोला सुन बाहिरी सकेको छ भने,यो पटकको ३३ के.जी सुन पनि भन्सार पास भएर बाहिरी सकेको थियो। भलै प्रहरीलाई कसैले सुराकी दिएर त्यो सुन भन्सार बाहिरबाट प्रकाउ गर्न प्रहरीको अनुसन्धान ब्युरो सफल भयो।

त्यो त यौटा संयोगबस् प्रहरीलाई कसैले पहिले नै सुराकी दिएको कारण पक्राउ गर्न सफल भएको घटना हो। तर प्रतेक दिन त्यसैगरी बिमानिस्थलका कर्मचारी र केही प्रहरी मार्फत सेटिङ मिलाएर अबैध रुपमा कति मात्रामा बिदेशबाट सुन नेपाल भित्रिन्छ होला? अनि राज्यले कति नोक्सानी ब्यहोर्नुपर्छ होला? यसको एकिन जानकारी यात ती तस्करहरुलाई थाहा छ,यात बिमानिस्थलका केही दलाली कर्मचारीहरुलाई। जस्ले पटकपटक राज्य र सुरक्षा निकायको आँखा छलेर देशको अर्थतन्त्रलाई डामाडोल पार्नेगरी दैनिक करोडौं समानहरु भन्सार छलेर भित्र्याउने गर्छन् अनि आफ्नो गोजी भरेर राष्टलाई खोक्रो बनाइरहेका छन्।

केही समय पहिले मैले यिनै सुन तस्करहरुको बारेमा सेतोपाटिमै 'मलाई तस्करको बारेमा बोल्नु छैन' भन्ने शीर्षकको यौटा लेख लेखेको थिए। लेख लेखे पश्चात धेरै जनाको यौटै प्रतिकृया आएको थियो। 'तस्करीहरुले बिमानिस्थलका कर्मचारी संग सेटिङ मिलाएर किलोका किलो सुन लान्छ्न, तर हामीले घरपरिवारको लागि  एकदुई तोला काँचो सुन लिएर जादा सरकारले आँखा गाड्छ।' 

आज मलाई कताकता त्यस्तै महसुस भएको छ। जस्ले बर्षभरी दुख गरेर घर फर्कदा एकदुई तोला काँचो सुन लिएर जान्छ र उस्लाई भन्सार बिभागका कर्मचारीले पक्राउ गर्छन्। त्यो केवल राज्यलाई आफुले राम्रो संग आफ्नो डिउटी निभाईरहेको छु भनेर देखाउन र अर्कोतर्फ ठुला तस्कर संग मिलेर आफुले गरिरहेको दुई नम्बरी सेटिङका बारेमा ध्यान नजाओस् भन्नेमा मात्रै रहेछ भन्दा म गलत हुँदैन होला।

होईन भने त्यत्रो अबैध ३३ किलो सुन बिमानिस्थलको भन्सारबाट सजिलै संग कसरी बाहिरिन  सक्छ? यदि नेपाल प्रहरीको अनुसन्धान बिभागले सुराकी मार्फत थाहा नपाएको  भए अरु बेला जस्तै गरि यो पटकपनि त्यो त्यत्तिस किलो सुन सजिलै संग उम्कन सक्ने रहेछ हैन त?

अनि जनताले कसरी बिमानिस्थलका कर्मचारीमाथी औला नठड्याउने? सुन तस्करदेखि मानव तस्करका हरेक घटनाको सेटिङ बिमानिस्थलकै कर्मचारी मार्फत नै हुने गर्छ भनेर जनताले कसरी संङ्का नगर्ने  ? म यसको जवाफ तिनै बिमानिस्थल भित्र बसेर सरकारी तलब भत्ता खाईरहेका कर्मचारी मार्फत आओस् भन्ने चाहान्छु।

बर्षभरी परदेशमा काम गरेर घरपरिवारको लागि भनेर कामदारहरुले लाने गरेको केही ग्राम सुनलाई सजिलै संग देख्न सक्ने आँखा भएका बिमानिस्थलका केही घुसखोरी कर्मचारीहरुले यति ठूलो परिमाणको अबैध सुन बाहिरीदा किन देखेनन्। अनि कसरी आरोप नलगाउन् नजताले कि, पहिलेनै तस्करहरुले ती कर्मचारीहरुको आँखालाई पैसाको बिटोले छोपीदिएका हुन्छन् भनेर? संकाको घेराभित्र राख्ने थुप्रै ठाउँ छन्।

एकातिर देशको अस्तब्यस्त राजनीति, अर्कोतर्फ काठमाडौ सहर भन्दापनि अव्यवस्थित देशको एकमात्र अन्तरास्ट्रिय बिमानिस्थल। न कुनै कर्मचारीले आफ्नो दायित्व बोध गरेर काम गर्छन् न सरकारले तिनिहरु माथी निगरानी राख्दछ।

युवा बेच्न खोलिएका पाँचतारे शैलीका मेनपावर देखि सुन तस्कर अनि मानव तस्करहरु संग मिलेर देश लुटिरहेका यी कर्मचारीहरुको पहिचान कहिले र कस्ले गर्ने? सधैंभरी असुरक्षित बिमानिस्थलको सूची भित्र पर्ने एकमात्र अन्तरास्ट्रिय बिमनिस्थललाई कहिँले सम्म दलालीहरुको लागि सुरक्षित बिमानिस्थल बनाईरहने?

हरेक नेपालीको साझा प्रश्न हो यो। तर दुर्भाग्य यो प्रश्नको जवाफ न त यो देशलाई पालैपालो आफ्नो खुशी चलाई रजाई गरिरहेका लाचारी र निरीह  नेताहरु संग छ। न त यो राज्यको ढुकुटीबाट आफ्नो र आफ्ना परिवारको पेट भरिरहेका बिमानिस्थलका उपल्लो तहमा बसेका सरकारी कर्मचारी संग नै छ।

देश छोडेर परदेश पसेका लाखौ नेपालीको रेमिटानस् ले धानिरहेको देशको अर्थतन्त्रलाई  तिनै देशका सरकारी कर्मचारीको मिलेमतोमानै रास्ट्रलाई करोडौं नोक्सान हुनेगरी बिमानिस्थलबाटै कालो धन्दा चलाइरहँदा  देशको कानुनले छुन सक्दैन भने,यो देशका जनताले कस्तो भबिश्यको चित्र कोरेर बस्ने? सरकारले अपराधीहरुलाई छुनै नसक्ने हो भने, हरियो राहदानी बोकेर बिदेशी जमिनलाई आफ्नो पसिनाले सिंचाइ गरिरहेका जवानहरुले यी र यस्तै धुसखोरी कर्मचारीहरुलाई पाल्न किन पठाउने रेमिटान्स?

 

प्रतिकृया दिनुहोस