दिपक, तिमी मर्द की नामर्द?

  • Get News Alerts

अरुका बारे खासै चासो नराख्नु, कसैले हेल्लो भन्दा फिस्स हाँसी हाई भन्दै मित्रवत ब्यवहार गर्नु, सिमीत मान्छेसँग मात्र सम्पर्कमा रहनु, आफ्नो सम्झिनेलाई ज्यान दिन पनि तयार हुनु यी सबै गुण अस्मिताका हुन्। ऊसँग मेरा अधिकाशं आनीबानी मिल्छन्। त्यसैले त हामी वर्षौंदेखि निकट छौं।

अस्मिता र मेरो भेट एक कार्यक्रममा भएको हो। पेशा विल्कुलै फरक, भेट पनि पातलै हुन्थ्यो तर विस्तारै हामीबीच निकटता बढ्दै गयो। कयौं पटक एक अर्काका दुःखमा अंगालो मारेर रोयौं। सयौं पटक खुशीले बुर्कसी मार्दै सँगै नाच्यौं। साना ठुला कुरा आपसमा बाड्यौं। गफ गरेर कहिल्यै नथाक्ने जोडी मध्ये एक हामी पनि हौं।

चिटिक्क परेको शरिर, हरक्षण ओठमा मन्द मुस्कान, गाजलु आँखा ....मोरी लोभलाग्दी नै छे। 'ओई यतिविधी राम्री नबन न मलाई इष्र्या नै लाग्यो भन्या' घरी घरी म उस्लाई जिस्काउँछु। ऊ पुर्वेली म पश्चिमेली, पेशाले अस्मिता बैंकर हो म शिक्षिका तर हामीबीचका धेरै भावनाहरु मेल खान्छन्। त्यसैले पनि होकी यति धेरै माया मोह। शनिबार आयो की त मेरो कोठमा नत्र उसको कोठामा अड्डा जम्थ्यो हाम्रो। कुरै नसकिने के।

एक दिन अस्मिताको फोन आयो। ओई आज तेरो फुर्सद के छ?

४ बजेसम्म त म स्कलु मै हुन्छु शनिबार नै भेटौं न हुन्न? मैले सोधेको प्रश्नमाथी टेकेर उसले ओभर टेक गर्दै भनी 'अँह हुन्न। तँ लाई नभनी नहुने छ। प्लीज के।'

'त्यसो भए ५ बजे है ग्रीन क्याफे है त।'

'ओके' उसले फोन राखी।

पौने ५ बजे नै म क्याफे पुगिसकेकी थिएँ। कुर्न भनेपछि फेरी....एक एक मिनेटमा घडी हेरे हुँला। २ कप चिया पिएँ। बल्ल सवा ५ बजे ऊ क्याफे आइपुगी।

कति कुराउन सकेको? भेट्न हतार भाको मान्छे आफैं ढिला अझ, म जङ्गीए। सरी के। आज सरप्राइज छ तँलाई भन्दै फकाइहाली नी मोरीले।

'ए आउन बस। ऊ मेरो मिल्ने साथी, मैले भन्या थिएँ नी जिग्री क्या।' एक युवकलाई मेरो परिचय अस्मिताले नै गराई। म त अक्क न बक्क। आँखाले इशारा गरे, 'ओई को हो?'

ऊ दिपक, हामी अफिसमा सँगै काम गर्छौ। कस्तो लाग्यो तँलाई?  म त लाजले रातो न पिरो भएँ। अब बोल्न त के इशारा पनि गर्न सकिन। अरे सरप्राइज यार। आई एम इन लब.... कस्तो लाग्यो तँलाई?

अस्मिताले यसो भनिरहँदा दिपक पनि रातोपिरो भइसकेको थियो। मलाई चैं रिस उठ्यो ..'ओई सब कुरा भन्ने यो चैं किन लुकाकी?'

'अरे पहिलै भने पछि पनि सजप्राइज हुन्छ त यार .. के हो के तँ?'

हामी तिनै जना हाँस्यौ। १ कप चिया पिएर घर फर्कियौं। 

दुवै जना एक अर्कालाई खुब माया गर्थे। अफिस सँगै जान्थे, सँगै फर्किन्थे। विस्तारै सँगै बस्ने, मिलेर खाना बनाउने अनि सरसफाई गर्ने इत्यादी। मलाई देख्दा यस्तो लाग्थ्यो की यीनीहरु स्वर्गीय आनन्द लिइरहेका छन्।

करिब २ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत पनि गरे। केही वर्षमै अस्मिता आमा बनी। जीवन खुशियाली मै बिताइरहेका थिए। अस्मिता अत्यन्तै मेहनती र जिम्मेबार थिई। अफिस प्रशासनले उसको मेहनतको कदर गर्यो। ऊ बैकको शाखा प्रमुख भई। यो खुशियाली पनि हामीले भब्य मनायौं।

विस्तारै दिपक एक्लै अफिस जाने, साथीभाईसँग बाहिर बस्ने, आए पनि मदिरा पिएर मध्य रातमा आउने गर्न थाले। घरमा झगडा मात्रै गर्ने अनि अफिस गयो कि बोल्दै नबोल्ने दिपकको यस्तो ब्यवहारले अस्मिता डिप्रेशनको शिकार भैसकेकी थिइ।

बेला बेलामा अस्मिताले गुनासो गर्थी –'जागिर छोड मात्र भन्नुहुन्छ, त्यस्तो राम्रो जागिर किन छोड्नु, परिवार, बालबच्चा सबै मिलाएर नै अफिस गएकी छु। सबै राम्रो भैराछ।' प्रायः भेटमा उसको गुनासो यहीं हुन्थ्यो। उ मेरी मिल्ने साथी। जिवनका यतिका वर्ष उसका धेरै सुख र दुख मेरो जिवनका अभिन्न अंग बनेका छन्। उसमाथी आइपर्ने दुखलाइ मैले मेरो दुख जस्तै सम्झन्छु।

उसलाइ पनि भनेकी थिए 'दिपकलाई एकदिन भेटेर सम्झाउँछु।'

भेटेर कुरा गरौंला, सम्झाउँला भनेको दिपक मलाई देख्यो की तर्किएर हिड्ने। अति नै भएपछि एक दिन दिपकलाई भेट्न अफिस मै गएँ। यसपाली पनि तर्किन नखोजेका त कहाँ हुन् र तर सकेनन्। म रिसको झोंक मै थिए। चर्काचर्की नै भयो।

दिपक के हो तिम्रो पारा ?

उनी मेरो प्रश्नको जवाफ दिन आवश्यक ठानेनन्।

म आवेग मै थिएँ।

नबोलेर समस्या समाधान हुँदैन। किन यस्तो ब्यवहार गर्दै छौ? यो अस्मिताका लागि अन्याय होइन? 

'अब अस्मितासँग मेरो जीवन चल्दैन' फुलुक्क मेरो मुखमा हेरेर उनले जवाफ दिए ।

किन? अस्मिताले केही गल्ति गरी?

'म मर्द हुँ, बुढी छोरा छोरी पाल्न सक्छु। यो सामर्थ्य छ मसँग। यो कुरा उसले बुझ्ने होइन। गरिगए बुझ्ने होइन। धेरै पटक जागिर छोड भन्या मान्ने होइन ...शाखा प्रमुख भएकी किन छोड्थी उसले ... आखिर म कर्मचारी न परे। कि मान्थी मेरो कुरो।'

'अस्मिताले ज्यान पाल्नको लागि मात्र होइन बिहे गरेको। प्रेमिल जीवन जिउन हो। चाहे त्यो भावानात्मक होस या आर्थिक, उसले तिम्रा हरेक सुख दुःखमा साथ दिन चाहान्छे।' 

'बुढी म्यानेजर, म क्यासियर भएर एउटै अफिसमा काम गर्नलाई म नार्मद हो र?' यसो भन्दै दिपक अफिसबाट बाहिरीए।

पुसमाघको मौसम जस्तै मेरो मन चिसियो, चैतको हावाहुरी झैं खल्बलियो पनि। त्यसपछि फेरी मैले दिपकलाइ भेटने मौका पाएकी छैन। कुनै दिन दिपक बाटोमा भेटीए भने सोध्नलाइ एउटा प्रश्न तयार पारेर राखेकी छु 'दिपक, श्रीमतीको योग्यता र अस्तित्व स्वीकार गर्न नसक्ने तिमी मर्द की नामर्द?'  

प्रतिकृया दिनुहोस