म अङ्रेजिमा लेख्न नजान्ने, तिमि नेपालीमा लेखेको नबुझ्ने...

  • Get News Alerts

प्यारो बाबु निर्वाण आमाको तर्फवाट  धेरै धेरै माया र आशिर्बाद!

हामी यहाँ सञ्चै छौ। त्यहां तिमीहरुलाई कस्तो छ? आशा छ, तिमीहरु सबैलाई आरामै छ। चारवटा प्लेन चढेपछी बल्ल हिंजो बिहान काठमाडौं अइपुगियो। थकाई ज्यादै लागेको छ शायद एक दुई दिनमा ठीक हुन्छ होला। त्यहाबाट हिंडेदेखिनै तिम्रो अनुहार आँखा भरी आइरह्यो। खै किन हो कत्ती कुरा भन्न मन लागेको थियो तिमीसँग तर प्रायस् सबै मनमै अड्किरह्यो। कहिले र कसरी मनका कुरा तिमीसँग बांडौ भनी सोच्दा यो कागजमा लेखेर पठाउने निर्णय गरे।

बाबु, तिमी अमेरिका जानु अघी तिमी म संगै मेरो खाटमा सुत्ने गर्थ्यौ। मैले भनेका कथा सुन्दै निदाउथ्यौ। तिम्री ममीले भात खुवाउंदा खांदैन थियौ र भन्ने गर्थ्यौ 'हजुरआमाले खुवाए मात्र खान्छु।' अनी दौडदै मेरो कोठामा आउंथ्यौ।

हरेक शनिबार पशुपति नाथ गएर आउँदा तिमीलाई मनपर्ने जेरी स्वारी ल्याउंथे गौशाला चोकको मिठाइ पसलबाट। अनी आगनमा गएर आफ्ना साथीहरुलाई सुनाउने गर्थ्यौ, 'मलाई मेरो आमा कत्ती धेरै मन पर्छ।' तिमी मसँगै टिभी हेर्थ्यौ, खेल्थ्यौ अनी ममी ड्याडिले ल्याइदिएको चकलेट मलाई नबांडी खांदैन थियौ। तिम्रो सातौ जन्मदिन मनाएपछी भोली पल्टै तिमी ममी ड्याडी सँग अमेरिका गयौ। जाने बेलामा आमा पनि हिंड्नुस्न भन्दैथ्यौ। म भने तिमीसंगको बिछोड सहन नसकी मुन्टो फर्काएर रुंदै थिएं। मैले म अल्ली पछी आउंछु तिमी जादै गर अहिले भनेको थिएं।

तिमीहरु गएपछी घर सारै शुन्य भयो निर्वाण। कहिले अमेरिका गएर तिमीहरुलाई भेटौ जस्तै भयो। कहिले तिमीलाई काखमा राखौ जस्तै हुन्थ्यो। तिमीलाई भेट्न दिन गन्दै गन्दै चार बर्ष कटाएं। चार बर्ष पछी म पनि अमेरिका आउन पाउने भएं। अनी दंग परे।

मलाई अमेरिकाका ठुला ठुला घर, अनी मोटर गाडी हेर्ने रहर थिएन। मलाई त पहिला नेपालमा हुंदा जस्तै मेरो सानो निर्वाणलाई समातेर वस्ने रहर मात्र थियो। तर सबै कुरा सोचे जस्तो कहाँ हुंदोरहेछ र! तिमी हुर्केर ठुलो एघार बर्षको भएछौ। स्कुलबाट आएपछी 'आमा खाजा खान्छु भोक लाग्यो' भनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर तिमी नबोली आँफै फ्रिज र प्यान्ट्रीबाट खाजा झिकेर खांदै धेरै जसो कम्पुटरमा खेली बस्ने भएछौ।

कहिल्यै काही टिभि हेर्न वस्थ्यौ। न कहिले 'आमा कस्तो लागिराख्याछ हजुरलाई अमेरिका' भनेर नै सोध्यौ न कहिल्यै आमा कथा सुनाउनुस् न नै भन्यौ। उमेरको फरकले गर्दा यस्तो भएको हो भनौ भने पल्लो घरमा तिमी संगैको तिम्रो साथी रवि अहिले पनि हजुरबा हजुरआमाकोसंगै लुटुपुटु भएर बसेको छ।

त्यहां, तिम्रा ड्याडी ममिको मिहेनत र परिश्रमले जिबनस्तर  उकासिएको देखेर मनमा शान्ती त लाग्यो तर कहिले काही तिमीले अङ्रेजी उच्चाहरणमा बोलेका टुटे फुटेका वाक्य ले मनमा काउकुती लगाइरहन्थे। तिनै काउकुतीसँग भएपनी तिमी नजिकिएको आभास त गर्दथें।

तिमीले बोलेको सुन्नै गार्हो, त्यसमाथी अङ्रेजिमा बोलिदिदा त कुरै बुझ्दिन थिए। त्यती बेला मलाई अमेरिका बोझ हुन्थ्यो। घांटिमा केही अड्किए झैं हुन्थ्यो। श्वास फेर्न गाह्रो भए झैं हुन्थ्यो। मेरो नाती मसँग टाढा भए झैं हुन्थ्यो। नेपाल र अमेरिका बिचको पुल कहिले नजोडीने भयो भने जस्तै लाग्थ्यो। म दुई चार अक्षर सम्म चिनेकी, ६/७ कक्षा सम्म मात्र पढेकी,  मान्छेले कसरी तिम्रा कुरा बुझौं?

बाबु निर्वाण, मैले सुन्ने गरेको थिए, त्यहां नेपाली पढाईन्छ रे कता हो कुन्नी। तिमीलाई पढ्न मन नलागे पनि मलाई सम्झेर नेपाली पढने गरीदेउ। जहाँ तिम्री हजुरआमा हजुरबुवा बसेका छन् त्यस ठाउंको बारेमा, त्यहां बोलिने भाषा र रहन सहनको कुरा पढाईन्छ अरे त्यस कक्षामा।

आशा छ तिम्रा कर्तब्यनिश्ठ आमा बाले यस बिषयलाई अरु कुरा जत्तिकै प्राथमिकता दिएर मेरो नेपाली पढाउनस सहयोग गर्नेछन।

दुई बर्षपछी आउंदा म तिमीसँग नेपालीमै बोल्ने इच्छा छ। तिमीले नेपाली बोलेको हेर्ने इच्छा महत्वपुर्ण कुरा होइन। तिमिले नेपाली बुज्यौ भने तिमी मेरो मनलाइ शान्ती मिल्ने छ। अब अमेरिका आउँदा  टिभीमा आएका कुरालाई नेपालीमा मलाई बुझाईदिने बन्न सके। छिमेकिले अङ्रेजिमा बोलेका कुरा मलाई नेपालीमा बुझाईदिने हुन सके। र मैले फेरी आफ्ना संस्कार सम्बन्धी कथाहरु सुनाउदा तिमी बझ्ने हुन सके...।

 

प्रतिकृया दिनुहोस