प्रवासमा ८ महिने नेपाली वालकको मृत्युले ल्याएको तरंग

  • Get News Alerts

ठ्याक्कै नाम जस्तै 'अविरल' कहिल्यै नखुल्ने गरी निदाएका आँखाले धेरै प्रश्नहरुका वर्षात गरीरहेका थिए। निर्दोष अनुहार उठेर बोलिहाल्छ कि जस्तो देखिने त्यो ८ महिने बालकको त्यो बाकस भित्र कैद मृत शरीरका तस्बिरहरुले केही दिन अघि सामाजिक सञ्जाल भरिए।

धेरै अनलाइन खबरमा ती तस्बिरहरु नियालेकी थिए मैले। सबै भन्दा पहिला त त्यो समाचारको हेडलाइन मेरो आकर्षणको केन्द्र बनेको थियो। ८ महिनाको नेपाली नानीको पोर्चुगलको स्कूल मा निधन, 'आठ महिना' या आठ वर्ष म पूर्ण रुपमा कन्फ्यूजनमा परे, समाचार खोलेर पढे त्यहांका तस्बिरहरु नियाले म स्तब्ध बने अरु जस्तै।

यस्तो समाचारमा मन नपग्लीने केवल मानव रुपी दानवका मात्रै त हुने हुन आखिर। तर सँगसँगै मेरो दिमागमा अनेक सोचाइले डेरा पनि जमायो। बच्चा जन्माउनु रहर हो कि बाध्यता अहिलेका बाबु आमा को? कयौं पटक आफै सँग सोधे मैले।

'बच्चाको मृत्युको खबर ले आमा बेहोस' यो वाक्यले ममा कुनै सहानुभूति जागेन, आठ महिनाको बच्चालाई एक मिनेट अरुको साथमा छोडेर आनन्द सँग बस्न नसकेकी मलाई त्यत्रो बच्चा चाइल्ड केयरमा छोड्ने कुरा पटक्कै रुचेन।

हुन त मैले यस्ता कुरा गर्दा बाध्यताका कुरा अघि सारेर मलाई गलत पनि ठहर्याईन सकिन्छ तर गहिरिएर सोच्दा सबै भन्दा ठूलो बाध्यता त त्यो नानी जन्माउनु मा देखे मैले। हुने हुनामी टारेर टर्दैन सायद अवीरलको भागमा त्यतिनै बांच्न लेखेको थियो तर सरसर्ती समाचार हेर्दा म यति लेख्न विवस भए।

अभाव को सँग हुंदैन? कमाउन मन कसलाई हुंदैन? अहिलेका व्यस्त बाबुआमाले सहज बोल्ने गरेको कुरा 'तिनैको लागि त हामि यति दुख गरिरहेछौ',यो भित्र नजानिदो दोष थोपरिएको भेट्छु म। यसै पनि आमाबुबा को ममताबाट वञ्चित नानीहरू नजान्दै दोषी पनि बनिरहेका हुन्छन।

अबिरलको मृत्यु के कसरी भयो छानबिनको माग गर्दै रोइरहेका उनका बुवाआमा र सोकसन्तप्त परिवारको पीडा माथि उनिहरुलाइ जस्तै मलाइ पनि दुख छ। यस्तो पीडा सँसारमा कसैलाइ नपरोस, सन्तान गुमाउनुको पीडा मृत्युदण्डको सजाय भन्दा पनि असह्य हुन्छ। त्यो अबोध बालकको फूलैफूल ले छोपिएको शरीरको खुल्ला अनुहार भित्र थूप्रै असन्तुष्टि र गुनासोहरु भेटे मैले।

उचित शिक्षादीक्षा दिनु अनि आफ्ना सन्तानको हरेक इछ्या पूरा गरिदिनु साथै उसको भबिस्य राम्रो बनाइदिनु यो हरेक अभिभावकको रहर सपना मात्र नभइ कर्तव्य पनि हो।

तर यही कुरालाई निहु बनाएर उसले पाउनु पर्ने सबै भन्दा ठूलो कुरा 'माया' अनि 'कीयर' यसबाटै वञ्चित गराउनु त्यति उचित हो जस्तो लाग्दैन।

त्यो अबिरलको बन्द आँखाले हरेक बच्चाको आवाज बोलिरहेको महसुस गरेकि थिए मैले ती तस्बिरहरुमा। आफ्नो पहिलो अधिकार नै हनन गरिएको ठूलो गुनासो पनि।

बुझ्नु जरुरी छ, जबसम्म आफ्नो बच्चाको पहिलो खुसी उसलाई दिन सक्ने अवस्था हुंदैन तबसम्म आफ्नो खुसीको बारेमा सोच्नु स्वार्थीपन भन्दा धेरै केही हुन सक्दैन। अविरल तिम्रो आत्मालाई शान्ति मिलोस।

प्रतिकृया दिनुहोस