यस्तो छ अमेरिकामा वसिरहेका नेपालीहरुको रहनसहन

  • Get News Alerts

अमेरिकालाई भनिन्छ ड्रिमल्याण्ड अर्थात स्वप्नभूमि तथा अवसरको खानी। सुन्दर सपना देख्ने चाहना कसलाई पो हुँदैन? साउथ एसियन रिसोर्स सेन्टर (सारसीया) र सेतोपाटी ग्लोबलले संयुक्त रूपमा गरेको तथ्यांक संकलन एवं बिश्लेषण अनुसार ३ लाख १५ हजार नेपालीहरु यस ड्रिमल्याण्डमा सुन्दर सपना सजाउन आएका छन। सुन्दर सपना देख्न चाहनेहरुको भिडमा साच्चै नै धेरैले आफ्नो सपना साकार पार्न सफल भएका छन भने अमेरिकामा उच्च शिक्षा लिदै गरेका तथा पढाई सकेका नेपालीहरु आफ्नो सपनाको बगैचामा रमाउने तरखर गर्दै छन यस ड्रिमल्याण्डमा।

अमेरिकामा बैधानिक बाटोबाट आएका नेपालीहरु मध्ये धेरै नेपालीहरु डिभी चिठ्ठा मार्फत बसाई सरेका छन। त्यस्तै असाईलमको माध्यमले अमेरिकामा बसोबास गर्नेहरु पनि प्रसस्तै छन। उच्च शिक्षाका लागी अमेरिका आएका नेपाली बिध्यार्थीहरु पनी करीब ६५ हजारको हाराहारीमा भएको (सारसीया) र सेतोपाटी ग्लोबलको तथ्यांकले देखाएको छ। अमेरिकामा काम पाएर आउने बौद्दिक नेपालीबर्गहरु पनी छन तर तिनीहरुको संख्या सबै भन्दा न्यून रहेको ठानिन्छ। त्यस्तै, बिशेष योग्यता वा प्रतिभाका रुपमा अमेरिकामा स्थाई बसोबासको अवसर पाएकाहरु पनि न्यून नै छन।

बैधानीक बाटोबाट अमेरिका आएर बसोबास गर्ने नेपालीहरुको पेशा, ब्यबसाय, रहन सहन र नेपाली समुदायमा उनीहरुको सहभागीताका बारेमा कुनै अध्ययन, अनुसन्धान र तथ्यांक नभएको अवस्थामा यस पंतिकारले करीब एक सय भन्दा बढी अमेरिकाका बिभिन्न नेपाली पेशाकर्मीहरु तथा उच्च शिक्षा लिदै गरेका बिध्यार्थी बर्गसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राय बिचार लिएको थियो। उक्त राय दिनेहरुमा अमेरिकामा ५ बर्ष, १० बर्ष तथा ३० बर्ष सम्म बसोबास गरी अनुभव संगालेका ब्यक्तित्वहरु थिए। प्राप्त बिचारहरुलाइ केलाउदा अमेरिकामा बैधानीक रुपले बसोबास गर्दै आफ्नो कर्म गर्ने नेपालीहरुलाई सरदर चार समूहमा बाँढन सकिने प्रारम्भिक निचोड निकाल्न सकिन्छ।

पाको उमेरमा अमेरिका आएकाहरूको समूह

यो समुह भित्र बिशेष गरी उमेरले करीब ४०(५० बर्षका, नेपालमा केहि रोजगारी गरेका, सरकारी जागिर खाएका, नेपालका कुनै न कुनै राजनैतिक दल सँग आबद्धहरु तथा नेपालमा आफ्नो पहिचान बनाई सकेकाहरु समेत पर्दछन। यस समुहले अमेरिकाको राजनीती र घटनाक्रमलाई भन्दा नेपालको राजनीती र घटनाक्रमलाई महत्वका साथ हेर्दछ र आफ्नो फुर्सतको समयमा नेपालको राजनितीका बारेमा छलफल गर्न रुचाउदछ। अमेरिकामा रहेका नेपालीहरुको कूल संख्याको करिब तीस/चालिस प्रतिशत यस समूह भित्र पर्ने अनुमान छ।

एक अविकसीत मुलुकबाट अत्यन्त विकसीत मुलुकमा बसाई सर्दा अमेरिकाको संस्कार सिक्न, काम गर्न,मनोरन्जन गर्न, घुमफीर गर्न, खानपिन गर्न,बोलिचाली बुझ्न तथा रहन सहनमा भिज्न कठिन हुनुको साथै चाहना र आफ्नो सोचाई  व्यहोरामा परिवर्तन नहुनु  पनि स्वभाबिक नै हो। यी सबै कुराले यस समूहका  मान्छेहरुलाई अमेरिकामा अलिक बढी नै प्रभाव पारेको देखिन्छ। यस समूह भित्रका नेपालीहरु उमेरले पाको हुने भएकाले पढाइ लेखाइ गरी आफ्नो बौदिक गुणस्तरमा बृद्दी गर्दै ब्यक्तित्व बिकास गर्न तर्फ चासो देखाएको पाइदैन। आफ्नो पाको उमेरमा पढेर तालिम लिएर वा अन्य तरिकाले आफ्नो ब्यक्तित्व बिकास गरेर थप  केहि गर्न सकिन्छ भन्ने कुरामा यस समुहका मान्छेहरु बिश्वास गर्दैन। त्यसैले अमेरिका आए पछी यस समुहका मान्छेहरु धेरै कम संख्यामा ब्यापार ब्यबसायमा लागेका छन भने ठुलो संख्यामा आफ्नो उमेरले थेग्ने काम गरेर जीवन निर्वाह गरेको पाईन्छ ।

प्रारम्भिक रुपमा यस समूह भित्र तीन प्रकारका मान्छेहरुको रहन सहनमा अध्ययन गर्न सकिन्छ ।

यो समुहका अनुमानीत आधा जसो मान्छेहरु अमेरिकामा नेपाली भाषीका संघ संस्थामा सहभागिता जनाउने तर्फ रूची राख्ने भेटीन्छन। यो समूह आर्थिक रूपमा सम्पन्न हुदैन तर जिवन निर्वाह राम्ररी गर्न सक्दछ। नेपाल प्रती अलिक बढी मात्रामा चिन्तित देखिने यो समूह नेपालमा आफ्नो परिचय वनाउन सधै आतुर रहन्छ। यस समूहका मान्छेहरु प्राय आफु जस्तै काम धाम गर्ने पेशाका अन्य नेपालीहरु सँग घुलमिल हुन रुचाउदछन।

अर्को अनुमानीत करीब एक चौथाई नेपालमा नाम कमाएका नेता, सन्चारकर्मी, कलाकार, उच्च ओहदामा रहेका सरकारी तथा अर्ध सरकारी कर्मचारी लगायतकाहरु भएको अनुमान गर्न सकिन्छ। अमेरिकामा शिक्षा वा शिप सिकेर अगि बढनु भन्दा जिवन निर्वाहका लागी आफ्नो शरीरले धान्ने जे जस्तो काम पाईन्छ त्यसैमा यस समूहकाहरु लागेको पाइन्छ। नेपालमा हुँदाको आफ्नो पुरानो पहिचानका कारण अमेरिकामा गर्नु परेको सघर्षले आफुलाई हिनताबोध महशुस गरी यो समूह नेपाली समाजमा त्यती खुलेर प्रस्तुत हुन रुचाउदैन। नेपालमा आफुले प्राप्त गरेको पुरानो उपलब्धीको तिर्सना तथा नेपालमा आफ्ना सहकर्मीहरुको बर्तमानको लग्जरियस जिवन शैली देखेर यो समूहकाहरु नेपाल फर्कने सोच बनाउदछ्न तर अमेरिकामा भासिएकोले आफु  फुत्कन नसकेको बताउदछ्न। यो समूह नेपालको बिकास र सम्बृद्दीका लागी अरु झै सदा चिन्तित रहने गरेको पाइन्छ।

त्यस्तै, बांकी अर्को करीब एक चौथाई जती आफ्नो घर गृहस्थी, केटाकेटीको पढाई र हेरचाहमा सदा ब्यस्त रहने गरेको अनुमान गरिन्छ । यो समूह अन्तर्गतकाहरु अत्यन्त इमान्दार, सालीन र मिलनसार स्वभावका पाइन्छन । नेपाली समाजमा यस समूहका बृद्द बृद्दाहरुलाई मान र सम्मानले हेरिन्छ।

यी माथिका तीन वटै समूहका नेपालीहरु प्रबासमा आफ्ना छोरा छोरीलाई नेपाली कला, भाषा, सस्कार र अविभावक प्रतिको कर्तब्य बोध गराउन सदा लागी परेको देखिन्छ।

पाको उमेरमा अमेरिका आएकाहरूको समूहका मान्छेहरु लाई बार्षिक रुपमा छुट्टी मनाउनका लागी अन्य मुलुकहरु तीर घुमफीर गर्न आर्थीक रुपले कठिनाई परेको देखिन्छ । त्यसैले, २(४ बर्षको अन्तरालमा यस समूहका मान्छेहरु नेपाल जान रुचाउछन र आफन्तहरु सँग भेटघाट गरेर फर्कन्छ्न। प्राय आफु सँग छुट्टी मिल्नेहरु र समान प्रकारको काम गर्ने साथी भाईहरुका साथ आफ्नै घरमा बेलुका खान पिनमा रमाउदछन, दुख सुख साटासाट गर्दछ्न र नाच गान गरी मनोरन्जन गर्ने गर्दछन । त्यस्तै, कामबाट बिदाको समस्या र आर्थीक अभावका कारणले यो समूहलाई प्राय  घर बाहिर रेस्टुरेन्टमा खान, क्लब जान, समरमा भ्याकेसनकालागी देश बिदेशमा घुम फीर गर्न कठिनाई पर्दछ।

अमेरिका आएर आफ्नो करियर वनाउने समूह

नेपाली शैक्षिक योग्यताहरुको अमेरिकामा खास कुनै महत्व नहुने हुनाले यस समूह भित्रकाहरु नेपालबाट आएर अमेरिकामा थप शिक्षा, तालिम लिएर आफ्नो बौद्दिक बिकास गर्दै आफ्नो करियर लाई स्थायीत्व प्रदान गर्न सफल हुन्छन। यस समूह अन्तर्गत करीब बिस प्रतिशत नेपालीहरु रहेको अनुमान गर्न सकिन्छ। यस समूहकाहरु क्रमस ब्यापार ब्यबसाय तर्फ आकर्षित हुँदै छन भने कोही डाक्टर, ईन्जीनियर, प्राध्यापक, वकिल, शिक्षक, नर्स, बैज्ञानीक, आर्थीक तथा प्राविधिक बिज्ञ, स्थानीय राजनितिज्ञ आदी जस्ता बिभिन्न क्षेत्रमा आवद्द भएको पाईएको छ।  नेपालबाट अमेरिकामा काम पाएर आएका बौद्दिक बर्ग तथा रोजगारी गर्दै उच्च शिक्षाकालागी अध्ययनरत बिद्यार्थीहरु समेत यस समूह भित्र पर्दछ्न।

अमेरिकाको सामाजिक, आर्थीक तथा राजनैतीक जस्ता बिबिध क्षेत्रमा बढी मात्रामा चासो राख्ने यस समूहका करिव आधा भन्दा वढीले नेपाली भाषीहरूका संघ संस्थामा रूची नलिने गरेको अनुमान गरीन्छ। यस सुमूहकाहरु कोही अमेरिकि राजनितिमा चासो राख्दछन त कोही स्थानीय समाजसेवा तर्फ सहभागीता जनाउदछन। तर, यस समूहका सानो प्रतिशत भने खुलेरै नेपाली संघ संस्थामा चासो राख्ने तथा सहभागीता जनाउने गरेको उनीहरुको संलग्नताबाट भन्न सकिन्छ।  

अमेरिकी संस्कार, रिती रिवाज, भाषा तथा यस मुलूकको कार्य प्रणाली सँग यस समूहका मान्छेहरु घुलमिल भएका हुन्छन। यीनीहरुको सँगत बिशेष गरी आफ्नो पेशा सँग सम्बन्धित ब्यक्तीहरु सँग हुन्छ र यीनीहरुको बिदेशी साथी भाइहरु पनि प्रसस्तै हुन्छन । उनीहरु स्थापित अमेरिकी प्रणालीलाई अनुकरण गर्दछन र यस मुलूकमा मनाईने सबै किसिमका पर्बहरुमा सहभागीता जनाउदछन।

यो समूहका अनुमानीत एक चौथाइ जसो नेपालीहरु आफ्नो पेशामा अत्यन्त ब्यस्त रहने, धेरै भ्रमण गर्ने, फुर्सतको समयमा क्लब जाने वा अन्य मनोरन्जनात्मक क्रियाकलापहरुमा सहभागी हुने तथा पश्चिमा संस्कृतीमा रमाउने कारणले साना केटाकेटीहरुको हेरचाहकालागी नानी वा डे केयरको जिम्मा लगाउदछन। यसबाट बिस्तारै ती केटाकेटीहरुले नेपाली कला, भाषा, सस्कार र अविभावक प्रतिको कर्तब्य बिर्सदै गएको पाइन्छ।

यस समूहका मान्छेहरु आर्थीक रुपले ब्यबस्थीत हुन्छ्न र नेपाली समाजमा सामाजिक रूपले आफ्नो पहिचान वनाउन सफल भएका हुन्छन। बार्षिक रुपमा छुट्टी मनाउनका लागी अन्य मुलुकहरु तीर घुमफीर गर्न आर्थीक रुपले त्यती कठिनाई हुँदैन यस समूहकालाई । बार्षिक रुपमा तलब पाउने पेशावालाहरु धेरैले त तलबी भ्याकेसन बिदा नै पाउछन ।
अमेरिकामा करियरका लागी संघर्षरत विद्यार्थीको समूह

यस समूह अन्तर्गत नेपालबाट अमेरिकामा उच्च शिक्षाका लागी आएका बिद्यार्थीहरु पर्दछन। नेपालबाट अमेरिकामा उच्च शिक्षाका लागी आएका बिद्यार्थीहरु करीब ६५ हजार रहेको सारसीया र सेतोपाटी ग्लोबलको तथ्यांकलाई हेर्दा नेपाली समुदायमा यसलाई ठुलो सख्या मान्न सकिन्छ। अमेरिकाका कूल नेपालीहरुमा करीब बिस प्रतिशतको हाराहारीमा नेपाली विद्यार्थीहरु रहेको अनुमान गर्न सकिन्छ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरु मध्येको बिद्यार्थीहरुको यो समूह अत्यन्त संघर्षपूर्ण जिवन बिताउदछन। यो समूहले अमेरिकामा अरुले झै पुरा समय काम गर्न पाउदैन। करीब दश प्रतिशत बिद्यार्थीहरु छात्राबृती पाएर आएका छन।  अन्य बिद्यार्थीहरु पढाईका लागी नपुग रकम नेपालबाट प्राप्त गर्न सम्भव नहुने भएकाले आफैले ब्यबस्था गर्नु पर्ने बाध्यता छ। यो समूहकाहरु काम गर्दै आफ्नो खर्चकालागी रकम बचत गर्न संघर्षरत हुन्छन।  यो समूहलाई सधै आर्थीक कठीनाईको सामना गर्नु पर्ने भएकाले कलेज अवधी भरी खासै घुमफीर गर्ने र रमाईलो गर्ने अवसर प्राप्त हुँदैन ।

नेपाली मात्र नभएर अन्य मूलुकबाट आएका बिद्यार्र्थीहरुले समेत अमेरिकामा यस्तो संघर्ष गर्दछ्न । आफ्नो मेहनत र परीश्रमले अमेरिकामा उच्च शिक्षा लिने यी बिद्यार्थीहरु प्रसंसाका पात्र हुन। त्यस्तै, यी बिध्यार्थीहरु उच्च शिक्षा लिएर नेपाल फर्केमा भोलीका निती निर्माता, नेता, प्रसासक र सफल ब्यबसायी हुने लक्ष लिन्छन।

डिभी परेर आएकाहरुलाई भने अमेरिकामा धेरै सुबिधा प्राप्त हुन्छ। यीनीहरुलाई काम पाउन कुनै चिन्ता हुँदैन र पढाईमा महत्व दिनेले अमेरिका आए पछी सर्बप्रथम काम गरेर ट्युसन फी का लागी पैसा बचत गर्ने गर्दछ्न। ट्युसन फीकालागी पैसा नपुगे सरकारी कर्जा समेत उपलब्ध हुने हुँदा डिभी भएका बिद्यार्थीहरु अलिक लापरवाह र खर्चालु स्वभावका पनी हुन्छन। अर्का तर्फ केहि डिभी परेर आएका काचो  उमेर र अनुभव कम भएका बिद्यार्थीहरु अविभावकको अभावमा  शुरु शुरुमा पैसा कमाउन सुरु गरेपछी बिलाशी गाडी किन्ने, रेस्टुरेन्टहरुमा खान पिन गर्ने, ब्रान्डेड सामानमा रुची राख्ने तथा घुम फिरमा पैसा खर्च गर्ने स्वभावका पाईन्छन।

उच्च शिक्षाका लागी अमेरिकामा छात्राबृती पाएर आएका बिध्यार्थीहरुको जिवन शैली भने फरक हुन्छ। यस समूहका बिद्यार्र्थीहरु पाको उमेरका, पढाईमा महत्व दिने गम्भीर स्वभावका हुन्छ्न। उनीहरुलाई बस्ने खाने र ट्युसन फीको समस्या हुँदैन। यो समूह पढाई सके पछी अमेरिकामा आफ्नो भविस्य सुनिस्चित गर्न चाहान्छन् र ‘अमेरिका आएर आफ्नो करियर वनाउने समूह’ तर्फ उन्मुख हुन्छ।

नेपालको संस्कार र संस्कृतीलाई बिदेशी सामु चिनाउन अमेरिकाका नेपाली बिद्यार्थीहरुको ठुलो भूमिका रहेको पाईन्छ। दशै, तिहार वा अन्य समारोहमा अमेरिकाका धेरै युनिभर्सिटीहरुमा नेपाली सांस्कृतीक कार्यक्रम गर्ने गरेको पाईएको छ।

नाबालिग पुस्ताहरुको समूह्

अठार बर्ष मुनीका, नेपालमा जन्मेर बाबु आमासँग अमेरिका आएका वा अमेरिका मै जन्मेका नाबालिग बच्चाहरुलाई यस समूह भित्र राख्न सकिन्छ। यस समूह अन्तर्गत करीब तीस प्रतिशत नाबालिग नेपालीहरु रहेको अनुमान गर्न सकिन्छ। यस समूहलाई “आप्रवासी “ पुश्ता मान्न सकिन्छ र  पछिल्ला यी पुश्ताले अबको आप्रवासी नेपालीको परिचय दिने आशा राखिएपनि आफ्नो परिचय घट्ने होकी भन्ने त्यतिकै चिन्ता पनि छ।

यो समूहकाहरु मध्ये अनुमानीत आधा जसो नाबालिगहरुले नेपाली बोल्न जान्दैनन भने एक चौथाइले नेपाली कला, भाषा र सस्कारमा खासै चासो देखाउदैन। तर, अबिभावक र स्थानिय समूदायको प्रयासले करिब एक चौथाई संख्याका नाबालिगहरु आफ्नै घरमा वा स्थानीय तहमा नेपालीहरु द्यारा संचालित नेपाली स्कुलमा सिक्न र पढन जाने गरेको अनुमान गरीन्छ।  

अमेरिकामा नेपाली अमेरिकन भएर कसरि आफ्नो परिचय बचाई राख्ने बारे नेपाली समुदाय बिच आजकाल छलफल, चिन्तन तथा केहि कार्यक्रमहरुको शुरुवात हुनु सकारात्मक प्रयास मानिएता पनी दिगो तथा प्रभावकारी भने हुन सकेको छैन। यसकालागी एक दिर्घकालिन कार्यक्रम ल्याई नेपाली समुदाय बाक्लो भएको स्कुलहरुमा नेपाली शिक्षाको पाठ्यक्रम लागू गर्न सकीए अत्यन्त लाभकारी हुने चिन्तित अबिभावकहरुको धारणा छ।   


प्रतिकृया दिनुहोस