नेपाललाई किन 'डेन्जर जोन'का रूपमा हेर्दैछ अमेरिका?

  • Get News Alerts

दुई महिनाअघि भारत सरकारले आफ्नो राजश्व विभाग अन्तर्गतको गुप्तचर संस्था डिआरआईलाई नेपाल, अमेरिका,सिंगापुर र बेल्जियममा सक्रिय बनाउने निर्णय गर्यो। भारतीय नोटलाई विस्थापित गर्ने योजना अन्तर्गत यो विशेष कार्यक्रम थपिएको समाचार बाहिर आए पनि डिआरआईको महत्वपूर्ण काम वीरगंजमा बसेर नेपालमा हुने आतंकवादसम्बन्धी क्रियाकलापलाई अझै मसिनो रूपमा केलाउनु हुनेछ।

सानो र शान्त मुलुकका रूपमा परिचय बनाएको नेपाललाई आतंकवादविरुद्द लडिरहेको अमेरिकाले गएका केही वर्षयता संवेदनशील मुलुकका रूपमा हेर्दै आएको थियो। आउँदा वर्षहरूमा नेपाललाई आतंककारीहरुले प्रयोग गर्न सक्ने 'डेन्जर जोन'का रूपमा उल्लेख गर्यो भने आश्चार्य नमाने हुन्छ किनकी भारतले यसको पूर्व संकेत दिइसकेको छ।

सहज राजनीतिक  पहुँच, खुला सीमाना र बाहिरी मुलुकको हस्तक्षेपका कारण नेपाललाई आतंकारीले सजिलै प्रयोग गर्न सक्ने बहसले सन २००८ देखि बजार लिन थालेको थियो। डिआरआईकै सक्रियतामा संकलन गरिएको सूचनाका आधारमा ‘हरकत उल अन्सार मुजाहिद्दिन’ समुहले नेपाललाई आफनो ‘हब’ बनाउँदै सक्रिय रूपमा लागिपरेको चेतावनी भारतीय पक्षले त्योबेला नेपाली सुरक्षा संयन्त्रलाई दिएको थियो। पछि सन २००९ मा विकिलिक्सले सार्वजानिक गरेको इमेलले यसलाई पुष्टि गर्यो।

पछिल्ला ८ वर्षमा लश्कर ए तोइवा, भारतीय मुजाहिद्दिन र मध्यपूर्वमा केन्द्रीत आइएसआइएस लगायत अन्य आतंककारी संगठनका योजनाहरु नेपालमा बन्ने गरेका छन् भन्ने कुराको पुग्दो जानकारी अहिले भारतलगायत अमेरिकी गुप्तचर संगठनहरुले संकलन गरेका छन्।

आइएसआइएस लगायत मध्यपूर्वका अन्य मुलुकहरुमा रहेका आतंकादीविरूद्द लडाइँ छेडेको ट्रम्प प्रशासनसम्म नेपालमा हुने आतंककारी गतिविधि र योजना पुगेका छन्। यसको मतलब हो अमेरिकाले अब नेपाललाई 'एलो जोन'बाट 'रेड जोन'का रूपमा हेर्ने तयारी गर्दैछ।

अमेरिकी विदेश मन्त्रालयले सन २०१५ मा एक रिपोर्ट सार्वजानिक गरेको थियो, जसमा भनिएको थियो 'भारतीय मुजाहिद्दिनको सम्बन्ध लस्कर ए तइवा, जैस ए महम्मद र हर्कत उल जिहादसँग छ। भारतीय मुजाहिद्दिनले आफ्नो क्षेत्रलाई नेपालसम्म विस्तार गरेर नेपाललाई  ‘हव’ बनाउँदै छ।’

सन २०१७ को जनवरी १८ देखि २० सम्म काठमाडौंमा भएको इन्टरपोलको एसियाली सम्मेलनले सन २०१५ को अमेरिकी विदेश मन्त्रालयको भन्दा कडा निष्कर्ष निकाल्यो, जसमा भनिएको छ 'नेपाल 'रिस्क-जोन' वाट 'डेन्जर-जोन' तर्फ जाँदैछ।'

इन्टपोलको यो निष्कर्ष आतंककारी संगठनका सदस्यले सन २०१५ देखि २०१६ सम्म नेपालमा बसेर बनाएका योजनाको मोटामोटी नक्साका आधारमा तयार पारिएको थियो। आतंकारीहरुले नेपालमा रहेका कुटनीतिक नियोगका कार्यालयहरुमा समेत आक्रमण गर्न सक्ने योजनाको खाका समेत भारतीय प्रधानमन्त्रीसम्म पुगेको थियो।

मध्यपूर्वमा केन्द्रीत आतंककारी संगठनका ट्वीटर ह्यान्डलिङ समेत नेपालबाट हुन्छ भन्ने कुराको जानकारी भारतीय प्रधानमन्त्री मोदीको टेबलसम्म पुगेको छ अहिले। यति मात्र होइन, जैस ए मोहम्मद नामक आतंककारी संगठनका नेता मौलाना मसुद अजहर लगायतका आतंककारी संगठनहरुमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्न १२ देखि १५ वर्षका युवतीलाई आत्मघाती तालिम दिएर तयार पारिएको जासुसी रिपोर्ट समेत डीआरआई हुँदै भारतीय प्रधानमन्त्री समक्ष पुर्याइएको छ।

सुरक्षासँग संवेदनशील यी यस्ता विषयहरुका बारेमा अमेरिका पनि उत्तिकै जानकार छ।

अमेरिकाले आतंककारी संगठनका सदस्यहरुले आश्रय लिइरहेको विश्वास गर्ने मुलुक पाकिस्तानबाट प्रत्येक महिना मुस्लिम धर्म गुरुको भेषमा नेपालमा आतंकवादी संगठनका नेता आउने गरेको रिपोर्ट भारतीय र अमेरिकी गुप्तचर संगठनको हातसम्म पुगेको छ। आतंककारी संगठनका सदस्यहरू कुन रूट हुँदै कसरी नेपालसम्म आइपुग्छन र कुन रुटको प्रयोग गरेर भारत पुग्छन भन्ने विषयमा भारत र अमेरिकाले बराबर जानकारी राख्छन।

सन २०१६, फेब्रुअरी पहिलो साता भैरहवा नाका हुँदै भारत प्रवेश गर्न लागेका आइएसआएसका तीन जना सदस्य पक्राउ परेपछि यस्ता रहस्यको गाँठो झन खुलेको थियो। पक्राउ परेका जफर मसूद, अशिम उमर र अब्दुल रहमानसँगै काठमाडौंको जामे मस्जिदलाई प्रयोग गरेर बनाइएका आतंकवादसम्बन्धी योजनाका बारेमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी गुप्तचर संगठन जानकार छन्। र, नेपालमा आतंककारी गतिविधि अझ बढ्न सक्ने कुरामा भारत र अमेरिका अहिले एक मत छन।

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले पद ग्रहण गरेको चार दिनपछि मोदी र ट्रम्पबीच वार्ता भएको थियो। टेलिफोन वार्तामा दक्षिण एसियामा फस्टाउँदै गरेको आतंकवादविरूद्ध सहकार्य गरेर अगाडि बढने निर्णय भएको समाचार सार्वजानिक भएको दुई सातापछि राजश्व अनुसन्धान गुप्तचरलाई नेपाल लगायतका अन्य मुलुकहरुमा अझ सक्रिय बनाउने निर्णय भारतीय सरकारले गर्यो।

२०१५ को अमेरिकी विदेश मन्त्रालयको भन्दा संवेदनशील मानिएको इन्टरपोलको एसियाली सम्मेलनको निष्कर्ष र ट्रम्प-मोदी बीच भएको टेलिफोन वार्तापछि भारतले आफ्नो जासुसी संगठनलाई नेपालमा झन सक्रिय बनाउने निर्णय गरेको छ।

यसको अर्थ हो आउने वर्षमा अमेरिकाले नेपाललाई आतंकवादीहरुले प्रयोग गर्न सक्ने 'डेन्जर जोन'का रुपमा राख्न सक्छ।

प्रतिकृया दिनुहोस