हरे फाल्गुनी!

  • Get News Alerts

रातो पोक्चे चिसोले फुटेका गाला भएकी सानी नानीले मलाई चिया दिदै भनिन्, ‘दाइ, चिया!’। मैले चियाको कप समाउदैँ उस्को नेप्टे नाक र चिम्सा आँखा टिपोट गरे। उसलाई त्यसरी त्यहाँ देखेको करिब छ-सात महिना भइसकेको थियो। साहुनी अर्को ग्राहकको अर्डर लिदै थिइन्। उचाहिँ लुरुलुरु जुठा भाडा मस्काउन थाली।

बिहानीको पहिलो कप चियाको सुर्को लिदै सोचेँ, ‘यी नानीको तलब कति होला? तलब नै पनि पाउछिन कि नाइ? मास्टर्स पास गरेको मेरै तलब ता जाबो सोह्र छ, यिनको त भए पनि नगन्य नै होला।‘ मनमनै यस्तो निस्कर्ष निकाले तापनि साहुनीलाई सोध्ने आँट गरिँन। सधै मिलनसार देखिने साहुनीलाई खाँचो नपरेको कुरो सोधेर हाम्रो सम्बन्ध अमिल्याउनु थिएन मलाई।

यस्तैमा खल्तिको फोन भुरभुर गर्दै काम्न थाल्यो। समयको फड्को भन्ने कि के तर पहिले पहिले जस्तो फोनमा रिङटोन फेरिफेरि घन्काउने मेरा दिन रहेनन अब। नचिनेको नम्बरबाट फोन आएको देखेर वास्तै नगरि चियाको मजा लिदै बसेँ। ‘फेरि गर्‍यो भने उठाउनु पर्ला।’ केहि छिन बजेर शान्त भएको फोन फेरि बजेन। सोचेँ, ‘रंग नम्बर’।

म जागिरे स्कुलको छिमेकी पसल थियो यो। चिया, चुरोट, खाजा, चाउचाउ, चकलेट, सब पाउने। स्कुले केटाकेटीहरु खाजा, चुइगम, चकलेट, तितौरा खत्राक-खुत्रुक किन्ने आउथे। तर हामीजस्ता शिक्षक र अन्य कर्मचारी भने बेलाबेलामा धुँवा उडाउदै चिया-खाजाको लागि धाउने गर्‍थ्यौ। मेरोलागि भने एकतमासले बिति रहेको जागिरे जीवन र समयको अल्पविराम विश्राम स्थल थियो त्यो।

मैले चिया पिइसकेको केहि बेरमा जुठो कप उठाउन फेरि त्यहि नानी आई। म अघिजस्तै चुपचाप हेरि मात्र रहेँ। यसपालि चाहिँ उस्ले पनि पुलुक्क हेरि र चिसो टालोले टेबल पुछेर गई। उस्ले भर्खरै हेरेको व्यक्ति सामाजिक शिक्षाको शिक्षक हो भन्ने ज्ञान नि छैन उसलाई। आज भित्र कक्षा आठमा ‘बाल अधिकार’को पाठ पढाउनु छ भुराभुरीलाई। अनि बाहिर चाहि बाल श्रमिकको सेवाग्राहि बनेर अवाक बसेको छु। एक पटक धित्कारेँ आफैलाई। त्यहि आवेगमा चुरोटको ठुटो बेसकन निमोठे एसट्रेमा।

घडि हेर्दा कक्षा लाग्न दश मिनेट मात्र बाँकि रहेछ त्यसैले पैसा तिर्न साहुनीनेर पुगेँ। ‘निमा, एक जार पानी ल्या त पल्लो पसलबाट’, साहुनी कराएको सुनेँ। ‘निमा’ मनमनै नाम दोहोराएँ। पचासको नोट दिदै भनेँ, ‘चिया र चुरोटको’। फिर्ता पैसा समाएर सोलो चपाउदै स्कुलतिर लागेँ। पाले दाइले मुस्काउदै, ‘नमस्ते, राजन सर।‘ भन्नु भयो। म उहाँसँग हात मिलाउदै नमस्ते फर्काएर नौदैखि पाँचको ड्यूटिमा हाजिर भएँ।

माहुरीको हुलझै भुनभुनाइ रहेको कक्षा आठ, म पुग्नासाथ शान्त भयो। लय मिलाउदै सबै विध्यार्थीहरु उठेर ‘शुभ प्रभात, सर’ भने। उनीहरुलाई बस्ने इसारा गर्दै कालोपाटी सफा गरेँ र लेखैँ

पाठ ५

बाल अधिकार

‘क-कसलाई थाहा छ बाल अधिकार के हो भन्ने बारे?’, विध्यार्थीहरुतिर फर्केर सोधेँ। अगाडि बेन्चमा बस्नेहरुबाट थुप्रै हातहरु उठे। मैले भने अन्तिम बेन्चको सार्थकलाई तोकेर सोधे, ‘पाठ पढेर आएको छौ? के हो बाल अधिकार भनेको?’ अलि हच्किदै उस्ले सहि उत्तर दियो। मैले त्यसमा नै थपथाप पारेर पाठ अघि बढाएँ। पाठ सकिनै लाग्दा अनुशाले प्रश्न सोध्न हात उठाइन र सोधिन्, ‘सर, बाल अधिकार सुनिश्चित गर्ने काम कस्को हो?”।

‘निमा’। त्यो प्रश्न सुनेर सोहि नाम मेरो दिमागमा ठोक्किन आयो। मैले उत्तरमा भनेँ, ‘बाल अधिकारको सुनिश्चितता नेपालको कानुनले गर्छ। बाल अधिकारसम्बन्धि विभिन्न अन्तराष्ट्रिय कानुनहरु पनि छन्। बाल अधिकार सुनिश्चित भए-नभएको लेखाजोखा राख्‍ने दायित्व विभिन्न सरकारी निकायहरुमा निहित हुन्छ।‘ ‘अनि नागरिकको दायित्वचै के हुन्छ नि?’, आफैँलाई प्रश्न राखेँ। लगत्तै घण्टी बजेर कक्षा सकिएको सङ्केत गर्‍यो र म अफिस कोठातिर लम्किँए।

निमाको हविगत मेरो बाल अधिकारको पाठमाथि महिसासुर हाँसो हाँस्दै थियो। भारि कञ्चट लिएर अफिस कोठा पुग्नै लाग्दा निमा तल पसलमा टेबल पुछ्दै थिई, मैले फोन झिकेँ र त्यो दृश्य कैद गरेँ। आफ्नो कुर्सीमा अढेस लागेर त्यो तस्बिर निकै बेर नियालेँ। उस्कै उमेरका केटाकेटी तल्लो तलाको कक्षा चारमा पढ्दै गरेको देखेर मन झन उदासिन भएर आयो। हाम्रो अफिस कोठा लामो वैठक हलजस्तै थियो। बीचमा जोडिएका लामबद्‍ध टेबलहरु र तिनका वरिपरि म बसेकोजस्तै अन्य कुर्सीहरु। अलि परतिर पिउने पानीको जार र प्लास्टिकका गिलासहरु थिए। त्यहि नजिकै उभिएर अरु शिक्षक साथिहरु फेसबुकका रमाइला ठट्यौलीहरु साटासाट गर्दै हास्दै गफ्फिदै थिए। मलाई त्यहि हाँसोमा झल्यास्स याद आयो- ‘फेसबुक’।

हतारहतार फेसबुक खोले र हेलो सरकारको भित्तामा निमाको अघि खिचेको फोटो सहित पोष्ट गरेँ। पोष्टको व्यहोरा यसप्रकार थियोः

‘निमा बहिनीको अधिकारको रक्षाको जिम्मा कस्को हो, @HelloSarkar?

तस्विरकी बाल श्रमिकको नामः निमा

मुस्कान क्याफे, नवज्योति उ.मा.वि.सँगै

कालिमाटी-४, काठमाडौं

सम्पर्कः राजन शर्मा (९८५१०-१२३४५)

त्यसपश्चात फोन लक गरेर गोजीमा हाल्नै लाग्दा भुरभुर कम्पन हुन थाल्यो। ‘अघि बिहानकै नम्बर!’। गाँउबाट आमाको फोन रहेछ। दाइले अरबबाट ल्याएको नयाँ फोनमा नयाँ सिम हालेर फोन गर्नु भएको रहेछ मलाई। आमाको आवाज फुरुङ्ग थियो पुतलीझै। मैले सदाझै सञ्चो बिसञ्चो सोधेँ र आमाकै गनथन सुनि रहेँ। अन्त्यमा कुरा सकिनै लाग्दा आमाले भन्नु भयो, ‘सुन् त! मलाई रोगले गालेर केहि गर्न सक्तिन त्यसैले घरको काम गर्न एउटी थरुनी केटी ल्याकी छु। सानी त सानी छे तर म सिपालु बनाइ हाल्छु। नाम चै फाल्गुनी रे। तँ आउदा....’। मैले फोन ढ्याक्क राखेँ। ‘हरे फाल्गुनी!’

प्रतिकृया दिनुहोस