आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै डिएलआर रेलैमा

  • Get News Alerts

आमाको मुख हेर्ने दिन बिशेष

आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै डिएलआर रेलैमा...

यो गीतमा एउटा शब्द परिवर्तन भएको छ। वास्तवमा गीतको त्यो एउटा शब्द गोरखपुर हो। संकलक लक्ष्मी क्षेत्रीको यो गीत लोक गायक लोकबहादुर क्षेत्रीले गायका थिए।

चालिकको दशकमा रेडियो नेपालबाट धेरै नै बज्ने यो गीतका गायकको भने ३२ वर्षको उमेरमा वि.सं.२०५० साल पुस ६ गते  मोटरसाइकल दुर्घटनामा परेर असामयिक निधन भएको थियो। छोटो समयमा लोक संगीतको क्षेत्रमा चर्चाको शिखरमा पुगेका यिनीलाई नेपाली लोकगीतको मोतीराम भट्ट पनि भनिन्छ।

फेरि गीतमा माथी प्रयोग भएको शब्द डिएलआर वेलायतको राजधानी लण्डनमा चल्ने एउटा रेल हो। रेडियो नेपालबाट वाल्यकालमा सुनिरहेको यो गीतलाई सन २००९ ताका सुन्न पाईयो लण्डनकै वूलविचमा।

परिस्थिति पनि यस्तै नै थियो त्यस वेलामा वेलायतमा जाने नेपाली विद्यार्थीहरूको। काम पाउनु त टाढाको कुरा नै हुन्थ्यो भने बस्ने रूम पाए पनि ओहो भाग्य झै हुने थियो। विद्यार्थी भिसामा आएपनि लाग्छ ठुलो सपना देखेर सबैजना जसो साहुको ऋणमा नै आएका हुन्थे।

काम नै नपाएपछि त्यहाँ रूमको भाँडा तिर्न पनि धौ धौ हुने अवस्था थियो। त्यसवेलामा तोकिएको समयमा साहुको ब्याज तिर्न नसक्ने अवस्था थियो। वास्तवमा विद्यार्थी या जुन सुकै भिसामा संसारको कुनै कुनामा जानु अवस्था यस्तै हुनु नै हो।

घरबाट हेर्दा छोरा लण्डन हुन्थ्यो तर छोराको अवस्था भने दर्दनाक। यहि वेदना,पिडाको साँची र सिकार आफु पनि भईयो। आखिर परिस्थिति अनुसार गुज्रनु त छदै थियो। आमा नेपालमा रूनु पर्ने छोरा लण्डन। आमालाई रुनको लागी त परिवार, साथी सँगी छँदै थिए तर छोरा भने रेलमा  रून पर्ने।वास्तवमा विद्वान जोडी पिकोल्टले भने झै दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो। तर मुग्लानमा आमाको काख हुने कुरै भएन।

वास्तवमा लण्डन, न्ययोर्क, टोकीयो, ओस्लो, सिडनी, मेलवर्न लागायत संसारभर पढनजाने विद्यार्थीहरूको शुरूवाती संधर्षका पिडा,कथा,व्यथा र वेदना यस्तै नै हुन। यिनै पिडाहरूमा आमाहरूको तस्विर देखिन्थ्यो।

हुन पनि हो।

आमा संसारको सबैभन्दा पवित्र नाता, पवित्र संवोधन अनि हरेक पलपल मुखमा आउने संझना।  फेरि यतिले मात्रै कहाँ पुग्छ र विद्वान लर्ड ल्याङडेलले भने झै सम्पूण विश्व तराजुको एकापटि र आमा अर्कोपटि हुनुभयो भने पनि विश्वले हार्ने छ।

यस्तो अमुल्य, महान कुरा आफुसँग टाढा हुदाको पिडा कस्तो होला। हामीहरू विदेशमा जुन सुकै भिसामा आए पनि सबै भन्दा सम्झने पहिलो पात्र नै आमा हुन। सायद मुग्लानलाई कर्म भुमि बनाउनु हुर्ने सबैजनाको अवस्था पनि यहि नै हो।

छाती भरि देश बोकेर गाँउ, घरको यादमा परदेशमा पसिना बगाईरहनु पर्ने? थाहा छैन यो यात्रा कहिले सम्म निरन्तर रहने हो। फेरि मातृभूमिमा रहनु हुने आमाहरूको व्यथा पनि उस्तै छ। सन्तानहरूलाई जन्म दियो दु:ख गरेर हुर्कायो।

यसरी हुर्केका सन्तानहरू चर्नको लागी संसारको कुन कुनामा पुग्नु पर्ने? एक पटक साहित्यकार सरूभक्त एवम कवि तिर्थ श्रेष्ठहरूले संचालन गरेको संरक्षण कविता आन्दोलनको क्रममा होला सायद  पर्वतको ग्यादी पुगेपछि कबि तिर्थ श्रेष्ठले त्यहाँ एकजना बृद्द आमा भेटछन। 

आमा हुन साह्रै असजिलो छ

पहाड जस्तो

उचाइमा पुगेर मैदान भैदिनु पर्ने

मैदानमा पुगेर उकालो भैदिनु पर्ने

सन्तानहरु कहाँ पुग्छन्

खोलाहरु जस्तो

सपनाहरु कहाँ पुग्छन्

स्वच्छन्द चराहरु जस्तो

आमाहरु पहाड छेउको

चौतारी हु्न् अभिशप्त छन्

आमा हुन अप्ठेरो छ

आमा हुन पहाड हुन जस्तै गहारो छ।

 यि कविताको अंशहरू भलाकुसारीहरू हुन। यो कवि तीर्थ श्रेष्ठको 'आमा'कविता हो।कालन्तरमा नेपथ्य समुहले यो कवितालाई गीतको रूप दिएको थियो।

वास्तवमा हाम्रो जस्तो देशहरूमा आमा हुन पनि सजिलो त कहाँ छ र? लाग्छ संसारभर नै आमा हुन असजिलो कुरा हो। अहिले फेरि ग्लोबलाइज़ेशनको जमना  र प्रविधिले हामीलाई नजिक बनाएको छ।

यसकारण पनि सन्तानहरू  भूगोलको घेरा तोडेर कर्मको लागी खोलाहरु जस्तै बग्न पर्ने स्थिति छ। आर्थिक समृद्धको लागी जन्मदिने आमालाई छोडन पर्ने र मातृभूमिबाट टाढा रहनु पर्ने वाध्यता छ। हिजो वाल्यकालमा हजुरवाहरू आर्थिक तथा सामाजिक परिस्थितिले गर्दा पहाडबाट तराई झर्नु पर्नेकुराहरू सुनाउनु हुन्थ्यो।

फेरि बाहरूको पालामा आईपुग्दा गोरखपुर रेल चढेर मुग्लानमा काम गरेका कुराहरूबाट सुनेर हुर्कियो। फेरि अक्षर चिनेपछि साहित्यकार लीलबहादुर क्षेत्रीको बँसाई उपन्यास पढियो। यस उपन्यासमा बर्ष २५ का घन बहादुर बस्नेत ,झुमा र मोटे कार्कीहरू सामाजिक एवम आर्थिक कारणबाट सदाको लागी बँसाई सर्नु परेको थियो।

सामाजिक कारणबाट आन्तरिक एवम बाह्य बसाई सराईमा कमि भएता पनि आर्थिककारणले बिदेश पलायन हुने चाप झन झनै बढदो छ। अहिले आर्थिक रूपमा सम्पन्न हुनकोलागी विभिन्न भिसाहरूको वहनामा मुग्लान जाने क्रम बढ्दोछ। फेरि यो  नेपालको एक जिल्लामा मात्रै नभईकन हरेक जिल्लाको अवस्था यस्तै छ। प्राय एक घरबाट एक जना विदेशमै जानु पर्ने अवस्थाछ।यसकारण पनि देशको अर्थतन्त्रमा   रेमिट्यान्सको योगदानछ।फेरि नेपालका हरेक युवाहरू अठार नकट्दै पासपोर्ट बनाउनुको लागी सोच्नु पर्ने अवस्था छ।फेरि पढेर सकिए पनि नसकिएपनि सबै जना युवाहरूको  उत्तर एउटै हुन्छ के गर्ने यहाँ जागिर त उस्तै हो क्यारे उड्नु पर्ला। आखिर वाध्यता पनि यस्तै छ।लाग्छ हामी पासपोर्ट  पुस्ता भएका छौ।

फेरि अर्को थरी पासपोर्ट पुस्ताहरू जो मरुभूमिमा पुगेका हुन्छन उनिहरूको व्यथा झनै दर्दनाकछ।`डन्ट टचमी ओ कविताहरु´ प्रकाशित गरेर "काठको बाकस" कविता संग्रह निकालेका कवि चन्द्र घिमिरेले "काठको बाकस" कविता संग्रह भित्र पढ्दै कहाली लाग्ने यथार्थ कुराहरू पस्केका छन। जुन शब्दहरू यस्ता छन।

आमा हल न चल

निर्यात हुन्छन्

उनका `पासपोर्ट´ धारी

मँहगा छोराछोरी

र आयात हुन्छ

काठको बाकस।

खाईलाग्दो छोरो माइँला

कोक्रो छोडेदेखि

आमा समूहको रिनको बाख्रा चराउँथ्यो

तन्नेरीमा

जुनेलीलाई आलोकाँचो प्रेमपत्र थमाएर

भुर्र उडेपछि

सिसा पुछ्तापुछ्तै

जुनेलीको आँसुले लपक्क त्यो कुसुमे रुमाल

खस्यो सोह्रौँ तलाबाट काठको बाकसमा।

यस्तो कहाली लाग्दो पनि छ जीन्दगीहरू। फेरि संसारका जहाँ सुकै पुग्नेहरुको जीन्दगीहरु लाग्छ जीन्दगी संखुवासभाका स्वर्गीय डिल्ली दमाईले  संकलन गरेका शब्दहरू जस्तै छन। यहि संकलनलाई हाक्पारे शैलीमा नेपथ्य समुहले गायकोछ। जुन गीतका शब्दहरू यस्ता छन।

कोशीको पानी यो जीन्दगानी

सललल जाईजाने हो हजुर

आमाको कोखमा बाँस मात्र लिए नि 

कुन देशको मरण हो हजुर

ओ-आमा,ओ-आमा,माई,माई,

आज आमाको मुख हेर्न दिन। म पनि प्रदेशीएको छु। फेरि म मात्रै नभईकन मेरा उमेर समुहका धेरै जना नै प्रदेशीएका छौ।

भूगोलबाट धेरै टाढा सात समुन्द्रपार भएका छौ। हामीहरू आमाको कोखमा बाँसमात्रै लिएर पार्सपोर्ट पुस्ता भईकाछौ। आमाहरू आमा गाँउ,घर मेलापाता गर्दा रूने फेरि प्रदेशीएका  छोराहरू प्रदेशी रेलमा रूने सबैको अवस्था यस्तै छ। आखिर यो निरन्तरता कहिलेसम्म? आजको यस पवित्र दिनमा हामीसबैले कामना गरौ।जन्मदिने आमाँ सँगै सधैभर रहौं।

 

प्रतिकृया दिनुहोस