सामाजिक सञ्जालमा हल्ला मात्रै गर्ने कि पीडकलाई कारबाही पनि गर्ने?

  • Get News Alerts

केहि वर्ष अगाडि बेल्जियमको गेन्ट सहरमा सम्पन्न एसेण्टा ट्रेड फेयरको बारेमा किचलो बल्झिरहने गर्छ। अब यो घाउ निको भयो भन्ने बेलामा कुनै कुनै तवरबाट यसलाई पुनः अझकल्टो बनाउने काम गरिन्छ। नेपाल र बेल्जियमको ५० औं वर्ष गाँठको अवसर पारेर यो फेयरमा नेपालले विशेष भूमिका पाएको थियो तर यो भूमिकालाई दुरुपयोग गरियो।  जसमा धेरै नेपाली कार्यकर्मको माध्यमबाट युरोपियन भूमिहरूमा जाने र उतै बेपत्ता भए  बिडम्बना अहिलेसम्म यो कार्यको कसैले जिम्मा लिन सकेको छैन।

गत वर्ष यही विषयलाई लिएर पुनः किचलो उत्पन्न भयो ठोस समाधान भने निस्कन सकेन। अर्थात् पुन ब्युताइयो तर सदाका लागि सुताउन सकिएन। यसमा सुरुवाती चरणमा सबैभन्दा महत्वपूर्ण भूमिका अहिलेका एन आर एन बेल्जियम महासचिव लोक दाहालले खेले। उनले त्यो बेला मानव तस्कर भएको प्रष्ट्र पार्दै छानबिन गराउने पर्ने अडान लिए पनि प्रतिवेदन कमिटीले पनि कुनै काम गर्न सकेन। प्रमाण जुटाउन सकेन। अन्तत त्यतिकै थन्किरहेको छ।

यो केस र ६ वर्ष अगाडि सम्पन्न महायज्ञ  कार्यक्रम र त्यसमा गरिएको उधारो दान् बेलाबेलामा निस्किरहने विषय हुन्। उधारो दान बोल्नेहरूले अहिलेसम्म नेपाल हाउस बनाउन लागिपरेका छैनन्। न त् यो बन्नेवाला नै छ। न त् एसेण्टा मेलामा दोषीलाई कारबाहीको दायरामा ल्याउने हिम्मत कसैको छ।

बेल्जियमको नेपाली समाजमा प्रत्येक वर्ष जसो केही न केही घटनाहरू घटिरहेका हुन्छन्। यो वर्ष पनि ३ वटा विषयले अहिलेसम्म प्रमुख स्थान पाए,   विशेषत सामाजिक सञ्जालमा वहसका विषय बने। पहिलो एन आर एन बेल्जियमका अभियन्ताद्वारा गरिएको भनिएको सेक्स स्क्यान्डलले सबैतिर चर्चा कमायो। जसमा उनको हैसियत र स्तरबारे सबैले तल्लो स्तरको प्रतिक्रिया दिए। तर उक्त काण्डमा मुछिएकी भनिने महिलाले र उनको परिवारले कहिँ कतै निवेदन नदिए पछि भने यो विषय कानुनी रुपमा अगाडि जान सकेन।

त्यस्तै गरेर दोस्रो बेल्जियममा बस्ने एक नेपालीले फर्जी युरोको कारोबार गरेको कारण जेलमा परेको भन्ने खबर हावासरी फैलियो। नेपाली समाजमा यसको बारेमा आ-आफ्नै विश्लेषण गरिए। यसमा संग्लग्न भनिएका ब्यक्ति माथि राम्रा नराम्रा दुवै टिका टिप्पणी  गरिए। उनको परिवारको दाबी अनुसार उनी अहिले नेपालमा छन्।

अहिलेसम्मको अन्तिम र अहिले पनि सेलाउन नसकेको पछिल्लो घटना पारिवारिक सम्बन्धसँग जोडिएको छ। जन सम्पर्क समितिका उपाध्यक्ष रहेका कमल सिटौलाले आफ्नै श्रीमतीमाथि अन्याय गरेको आरोप उनकै परिवारबाट बाहिरिएपछि यसले ठूलै चर्चा लियो। कतिपयले पारिवारिक कुरामा हस्तक्षेप गर्न नहुने बताए भने कतिपयले महिला पीडित भएको हुँदा न्याय दिनुपर्ने भन्दै अगाडि छ। यसै क्रममा जन सम्पर्क समितिले दिएको जानकारी अनुसार सिटौलाले आफ्नो पारिवारिक झमेला नटुङ्ग्याउञ्जेल सम्मका लागि उनलाई उनको पदीय कार्य निलम्बन गरिएको छ।

यो विषयमा बेल्जियमबाट कलम चलाउँदै आएकी निलम घिमिरे माथि धम्कि दिएको भन्दै नेपाल पत्रकार महासंघ युरोप शाखा र संचारिका समुह नेपाललले बिज्ञप्ति जारि गर्दै भर्त्सना गरेको छ।

यी माथिका घटनाले के देखाउँछ भने बेल्जियमस्थित नेपाली समाज दिनदिनै भाँडिदै गइरहेको छ। यहाँ उत्पन्न हुने समस्याहरुको समाधान गर्ने क्षमता यहाँ स्थित सामाजिक संघसस्थामा नरहेको पनि प्रस्ट पार्दछ। कानूनी रूपमा समस्याको समाधान गर्ने वा नेपाली समुदायबाट नै उचित कदम चाल्न नसकेको देखिन्छ। कुनै पनि समस्यागत मुद्दाहरुमा समाज दुई चिरामा पर्ने र त्यही द्वन्द्व हुने समस्या बिकराल देखिन्छ। यसको प्रमाण खोज्ने हो भने सामाजिक संजालहरुमा भेटिने गरेका छन्।

बेल्जियमको नेपाली समाजमा हरेक वर्षजसो आउने समस्यालाई कसरी टुङ्ग्याउन सकिन्छ भन्ने तर्फ कोही लागेको देखिदैन। तसर्थ यसतर्फ लाग्नुपर्ने बेल्जियमबासी नेपालीहरुको आवश्यकता रहेको छ। यसको लागि पक्ष विपक्ष नगरेर पीडकलाई कारबाहीको दायरामा ल्याउने गरौं। पहिलो नैतिक कारबाही गरौं त्यसले नि नपुगे मिलाउन नसक्ने जस्तो छ भने बेल्जियम प्रसासनको सहयोगबाट अगाडि बढौं। त्यसो गर्दा एउटा घटना समाधान गर्दा पछि आउने १ सय घटना आफैं टुंगो लाग्न थालेका हुन्छन्।

महिलामाथि हुने अत्याचार को महिलाले नै समाधान निकालौ। महिला महिला बिभाजन हुने काम नगरौ। महिला हकहितको लागि डटेर लागि पर्नुपर्दछ। गलत गर्ने पुरूषलाई सामुहिक रुपमा थर्काउने हिम्मत गर्नुपर्छ र त्यतिले नि पुगेन भने कानुनको सहयोग लिएर अगाडि बढ्नुपर्दछ। तब मात्र आगामी दिनमा आउने यस्ता समस्या र पीडित वर्गले सजिलै न्याय पाउनेछन्।  नत्र सधै सामाजिक सञ्जालमा हो हल्ला गरेर पीडित झन पीडित बन्दै गैरहेको हुन्छ भने पीडक सशक्त बन्ने मौका पाइरहेको हुन्छ।

पीडकले समाजमा मुख देखाउन लाज बनाउन सक्ने हो भने बेल्जियमस्थित नेपाली समाज सुध्रिन बेर लाग्ने छैन। यस तर्फ यहाँस्थित सबैको ध्यान जानु जरुरी छ।

प्रतिकृया दिनुहोस